त्रिशूली-३ ‘ए’को सुरुङको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन
काठमाडौँ- रसुवास्थित त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका मानिसको उद्धारका लागि सुरुङको मुख खोल्ने कार्य तीव्र पारिएको छ। दुई दिनदेखि सुरुङको मुख खोल्ने प्रयास भइरहेको छ। यही क्रममा शनिबार बिहानैदेखि सुरुङको मुख खोल्ने कार्यलाई थप गति दिइएको जनाएको छ।
टनेलभित्र मानिसहरू फसेको गुनासो आएपछि उद्धार टोली परिचालन गरी लेदो तथा भग्नावशेष पन्छाउँदै सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई अघि बढाएको जनाएको छ।
सुरुङको मुख खोतल्न र खोजी कार्यलाई द्रुत गति दिन आइतबार रातिदेखि नै नेपाली सेनाका ६२, सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीका २० गरी ८२ जनाको संयुक्त टोली खटिएको छ। यो क्षेत्रमा प्रतिकूल मौसम कायम रहेकाले उद्धार प्रयास भने निकै चुनौतीपूर्ण बनेको छ।
यसैबीच, उद्धार सहायताका लागि आएको भारतीय टोली हाल त्रिशूली पुगेको छ। भारतीय टोलीले हेलिकप्टरमार्फत चिलिमे र लाङटाङ क्षेत्रको प्रारम्भिक अनुगमन ९रेकी० गरी आवश्यकता अनुसार थप उद्धार कार्य अघि बढाउने योजना बनाएको छ।