मोटिभेट समाचार प्रभाव : ११ शैक्षिक कन्सल्टेन्सी सीआईबीको उच्च निगरानीमा
काठमाडौं – हुण्डिमार्फत ट्युसन फि पठाई कोरियाका विश्वविद्यालयमा विद्यार्थी भर्ना गर्ने शैक्षिक कन्सल्टेन्सीविरुद्ध अनुसन्धान सुरु भएको छ । शिक्षा तथा खेलकुद मन्त्रालय र नेपालस्थित कोरियन दूतावासले तयार पारेको शैक्षिक कन्सल्टेन्सीहरुको सूची अनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले अनुसन्धान थालेको हो ।
श्रोतका अनुसार ११ शैक्षिक कन्सल्टेन्सी सीईबीको उच्च निगरानीमा छन् । अनुसन्धानको घेरमा परेका शैक्षिक कन्सल्टेन्सीमध्ये अधिकांश शिक्षा तथा खेलकुद मन्त्रालयबाट व्यवसाय संचालन स्वीकृति नलिएकाहरु रहेका छन् । सीआईबीले विशेषगरी मन्त्रालयको वैदेशिक अध्ययन अनुमति (एनओसी) शाखा मा सूचीकृत नभएको Hyupsung University मा विद्यार्थी गर्ने गर्ने शैक्षिक कन्सल्टेन्सीमाथि अनुसन्धान सुरु गरेको हो ।
गत जेठ १४ गते मोटिभेट न्यूज डटकमले ‘हुण्डिमार्फत कोरियाको एउटै विश्वविद्यालयमा गयो १२ करोड बढी रकम’ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । सोही समाचारलाई आधार मानेर शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगतको शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाले छानविन गरेको थियो । छानविनका क्रममा शाखाले नेपालस्थित कोरियाली दूतावास र कोरियास्थित नेपाली दूतावाससँग विवरण माग गरेको थियो ।
दुईवटै दूतावासबाट प्राप्त विवरण अध्ययनगरी मन्त्रालयले गृहमन्त्रालयलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि पत्राचार गरेको छ । गृहमन्त्रालयले सोही पत्रलाई सीआईबीमा पठाएको छ । सीआईबीले थप अनुसन्धान गरी कारवाहीको प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले शैक्षिक कन्सल्टेन्सीहरुको नाम भने गोप्य राखेको छ ।
सीआईबीबाट अनुसन्धान सुरु भएको पुष्टी गर्दै शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख शेमन्त कोइरालाले दूतावासहरुबाट अतिगोप्य भनेर लेखि आएकाले कन्सल्टेन्सीहरुको विवरण खुलाउन नमिल्ने बताए । यता सीआईबीले अनुसन्धान सुरु भएको बताउँदै सबै विवरण खुलाउन नमिल्ने जनाएको छ ।
दक्षिण कोरियाको hyupsung university मा १ सय ५९ जना नेपाली विद्यार्थी अध्ययनरत छन् । उनीहरु मध्ये ९० जना विद्यार्थी मार्च इन्टेक २०२६ मा हुण्डिमार्फत ट्युसन फि पठाई अर्को विश्वविद्यालयको एनओसी बनाई कोरिया पुगेका थिए । योसँगै एनओसीमा सूचीकृत नभएका कोरियाका INDUk UNIVERSITY, ACTS UNIVERSITY, Woongji Accounting & Tax College (WATC), Sangji University मा पनि नेपाली विद्यार्थी अध्ययनरत छन् ।
(तस्वीर : एआईबाट निर्माण गरिएको हो ।–सम्पादक)