मृत्युबाट जीवनको बकसपत्र पाएका योद्धा सुजिन्द्र
मृत्युबाट जीवनको बकसपत्र प्राप्त गरेका एक योद्धा हुन् सुजिन्द्र महर्जन । कुनै क्रान्तिकारी चलचित्रको कथा भन्दा कम छैन उनको जीवन संघर्ष । उनको शरीरमा हेर्ने हो भने अझै पनि राज्यले कोरेको घाउ छ, जुन घाउ अहिले पनि पुष÷माघको जाडोमा कटक्क चस्किएर दुख्छ । कतिले उनलाई कीर्तिपुर नगरपालिकाको अधिकृतका रुपमा चिन्लान, कतिले समाजसेवी, कतिले अधिवक्ता । यही अनेकन व्यक्तित्वभित्रको एक व्यक्तित्व, जो अहिले पनि शसस्त्र जनयुद्धको घाउ बोकर बाँचिरहेका छन् ।
‘मसानबाट बौरिएको एक जीवन, कालो बादललाई चिरेर निस्किएको घामको झुल्को र बवन्डर हुरीमा पनि नचुँडिएको हाँगाको फूल’ भनेर सम्बोधन गरे पनि उनको जीवनभोगाइलाई यी रुपकहरु शोभनीय नै होला । सुजिन्द्र महर्जनको जन्म आज भन्दा पचास वर्षअघि पिता हीराभाइ महर्जन र आमा दिलमाया महर्जनको जेष्ठ सुपुत्रको रुपमा कीर्तिपुर वडा नं ६ को चोभारमा भएको थियो । घरमा भाइहरु पञ्चलाल र सुजित महर्जन, दिदीहरु हीरादेवी, चन्द्रमाया र सूर्यमायासहितको एक बडेमान परिवार थियो । गाउँमा बुबा श्रमलाई सत्कार गर्ने एक कृषक थिए । बुबा पेशागत रुपमा सिकर्मी भए पनि कृषि उपजका काम पनि गर्नुहुन्थ्यो । सानैदेखि विद्यालयमा पहिलो स्थान ओगटने अब्बल छात्र सुजिन्द्र महर्जनले बि.स. २०४८ सालमा टौदह राष्ट्रिय माध्यमिक विद्यालयबाट एसएलसी छिचोले । त्यसपछि त्रिचन्द्र कलेजमा भर्ना भएर आइएसी पढे । आइएसी भर्ना भएको एक वर्षपछि ‘आइएल’ प्राइभेटबाट दिएर पास गरे । औपचारिक शिक्षालाई अगाडि बढाउने क्रममा, स्नात्तक यात्रामा भने विज्ञान विषयलाई छोडेर रत्नराज्यमा बिए पढेर मानविकी रोज्न पुगे । बिएसँगसँगै बिएल पनि सुरु गरे । स्नात्तकको समाप्ति पछि औपचारिक पढाइलाई केही बर्ष बिसाए । त्यो विश्रामलाई पनि चिरेर उनले एक दशकअघि फेरि एकपटक त्रिभूवन विश्व विद्यालयबाट राजनीतिक शास्त्रमा स्नात्तकोतर गरेका छन् ।
सानैदेखि टोलका सामाजिक गतिविधिहरुमा उनी संलग्न रहन्थे । बाइस बर्षको उमेरमै आफै संयोजक भएर बि.स २०५६ साल चैत्र १ गते चोभारमा रहेका हिमाल सिमेन्ट कारखानाको विरुद्धमा आन्दोलनको बिगुल फुके । त्यही आन्दोलनले, हिमाल सिमेन्ट कारखाना चोभारबाट सदाका लागि विस्थावित हुन पुगेको थियो । दिउँसै प्रदुषणको कालो धुँवामा रुमलिने चोभारमा, यो आन्दोलनको प्रभावले ठूलो सकरात्मक परिवर्तन आए पनि, अवसर, स्वार्थ र रोजगारीबाट बञ्चित भएका कतिपय स्थानीयलाई यो आन्दोलन मन पनि परेको थिएन । यसरी मित्रताभित्र हुर्किरहेको सत्रुता उनले माओवादी द्धन्द्धकालको गिरफतारीमा मात्र चाल पाएका थिए । नेपाली सेनाले बन्दी जीवनमा उनलाई ‘तैँ होइनस् हिमाल सिमेन्ट आन्दोलनको नेता, आज तेरो घर यो पाक्या छ, त्यो पाक्या छ, तेरो बाउ बाजे यो गर्थे, त्यो गर्थे रे’ भनेर अनेक ब्यंग्य गर्थे । आफूले सास फेरेको, समाजका प्रतिनिधि पात्रको कानेखुसी बिना, यी कुराहरु चोभारबाट छाउनीको ब्यारेकसम्म पुग्न सम्भव थिएन भनी उनले थाहा पाएका थिए ।
कलिलो उमेरमै हिमाल सिमेन्ट कारखनाको विरुद्धको आन्दोलनमा लागेका सुुजिन्द्रको राजनीतिक यात्रा लामो छ । एसएलसी दिनुअगावै पार्टीगत रुपमा एमाले पार्टीमा आबद्ध भएका थिए । त्यो बेलामा संगठित रुपमा कांग्रेस बलियो देखिए पनि बामपन्थीहरुको संगठन त्यति सुदृढ थिएन । त्यही समयमा, गाउँ कमिटीलाई सहयोग गदै सुजिन्द्र कमिटीमै पदाधिकारी हुनपुगे । आइएसीको परिणाम प्राप्त नहुँदै, टौदह माबिमा विज्ञान विषय पढाउने अवसर प्राप्त भयो र घरनजिकैको गाउँको विद्यालयमा अध्यापन यात्रा सुरु गर्न थाले । यसरी घरनजिकै विद्यालयको कर्मपेशाले उनको राजनीतिक यात्रालाई टेवा पुग्यो । चियाको चुस्की चुस्कीमा राजनीतिक बहस घुल्ने त्यो बेलाको विद्यालय परिस्थितिमा उनी पनि अछुत्तो रहिनन् । यसरी एक हातले चक–डस्टर समाते, अर्को हातले भने पुर्नस्थापित कलिलो प्रजातन्त्रलाई हुर्काउन–बढाउन सहयोग गरिरहे ।
यता आफू जोडिएको पार्टी भने सैद्धान्तिक विचारअनुसार अगाडि बढन सकिरहेको थिएन । पार्टीमा अग्रगमनको छिद्रता उनलाई खट्कियो । सानैदेखि राजतन्त्रविरोधी सुजिन्द्र, पार्टीका उच्चस्तरका नेताहरु कीर्तिपुर आउँदा उनी राजतन्त्रको सवालमा पार्टीको मिसन, भिजन र कार्यक्रमको बारेमा प्रश्न उठाउने गर्थे । राजतन्त्रको विकल्पमा कुनै तयारी, विचार र कार्यक्रम देखिएन । पार्टीमा दिशाविहीनताले मन चोइटिएको बेलामा नै बि.स. २०५२ को फागुनमा माओवादी पार्टीले शसस्त्र जनयुद्धको विगुल फुक्यो । स्पष्टरुपमा नै राजतन्त्र फालेर गणतन्त्र ल्याउने उद्देश्यले बन्दुक उठाएको माओवादी पार्टीमा उनको रुझान जोडिन गयो । नगरपालिकाको कर्मचारी भएको नाताले पार्टीमा प्रत्यक्षरुपमा नजोडिए पनि वैचारिक र आर्थिक सहयोग गर्न थाले । नगरपालिका पनि एक हिसाबले राजनीतिक केन्द्र नै भएकोले उनी नखुले पनि भित्रभित्र अनेकखाले सहयोग गर्न थाले । पछि, भाइ बुहारीहरु पनि माओवादी पार्टीमा नै जोडिन थाले ।

बि.स. २०५८ सालमा राज्यले रणनीतिक फर्मुला प्रयोग गरेर सृखंलाबद्ध रुपमा माओवादी कार्यकर्ताहरुलाई पक्राउ गरेको थियो । भनिन्छ, त्यो अपरेसन पछि काठमाडौं उपत्यकाभित्रको माओवादी पार्टीको सबै तह नै समाप्त भएको थियो । १ समात्ने, १ को सुराकीले २ समात्ने, २ बाट ३ हुँदै ९ तहसम्म धरपकड गरेको त्यो अपरेसनको क्रममा सुजिन्द्रका भाइ हाल नेकपामा केन्द्रिय सदस्य पञ्चलाल महर्जनलाई समात्न सिभिलमा केही सुरक्षाकर्मी आएका थिए । संयोगले पञ्चलालको घर कुन हो भनेर पञ्चलाल नै सोध्न पुगेको बेला पञ्चलाल आफ्नो घर आफैले देखाउँदै भाग्न सफल भएका थिए । दिउँसो सुजिन्द्रलाई कार्यालयमा बुबा र भाइको फोन आयो । पञ्चलालको कोठामा पुगेर सामान लैजान लागेको थाहा पाएर सहकर्मी जनक थापासँग सुजिन्द्र घरमा आए । सिभिलमा भए पनि कुराकानीको शैलीले सुरक्षाकर्मी हुन् भनेर थाहा पाइहाले । सुरुमा, सुुजिन्द्रलाई सुरक्षाकर्मीले भाइलाई बोलाऊ भन्यो । ‘भाइले एकछिन घर जाऊ भनेकैले मैले उपस्थिति जनाएको हुँ’ भनी आँटिलो जवाफ दिन हिचकिचाएन ।
त्यसपछि पञ्चलालको बाइक, कप्प्युटर र कोठाको सामान सबै सुरक्षाकर्मीले उठाए । त्यसको एकदुई दिन पछि रातिको बाह्र बजे ढोका ढकढक भयो । यसरी रातिको समयमा सुरक्षाकर्मी दोस्रो पटक आएर सुजिन्द्रलाई पनि लिएर गए । सुरक्षाकर्मीले सुजिन्द्रलाई पनि पार्टीको एक हिस्सेदार ठानेको र भाइलाई भगाएको आरोपी जस्तो व्यवहार गर्यो । त्यो राति, उनलाई सुरक्षाकर्मीले चोकसम्म लग्छु भनेर लग्यो । ‘गाडीमा बसेर तिमी हामीसँग एक राउन्ड घुम्नुपर्छ’ भनेर गाडीमा हाले पछि उनको अनुहारमा कपडाको कालो टालो ओढायो । त्यसपछि यात्रामा अँध्यारोसिवाय केही देखिएन । गाडीको उकालो, ओरालो गन्दै उनले मनमनै यात्रा बल्खु, बल्खु हुँदै कालिमाटी र टेकुसम्म पुगेको पहिल्याए । त्यसपछि मोडेको एक घुम्तिमा उनको यात्रा हरायो । उनलाई थाहा भएन, उनी कहाँ हराए । उनलाई त्यस्तो ठाउँमा लगेर राख्यो, जहाँ बस्दा, खाँदा, सुत्दा पनि कालो टालोमा छोपिएर बस्नुपथ्र्यो । पछि उनले थाहा पाए कि उनी जगदल गण छाउनीमा लगिएको रहेछ । सुरुमा जाँदा विभिन्न आरोपमा आरोपित भएका २६ जना कैदीहरु खुम्चिएर बसेका थिए । उनलाई अरु कैदीहरुको वीचमा सुताइयो । हवाइ प्रतिरक्षासम्बन्धी गण भएकोले, हतियार ओछ्याउने सिमेन्टी भुइँमा सेनाहरुले प्रयोग गरिसकेको कार्टुन र ब्लान्केट ओछयाएको चिसो भुइँमा शरीर ओछयाउनु पथ्र्यो । त्यो चिसो भुइँबाट कति जना घर फर्कन सफल भए, कोही कोही त मारिए पनि ।
कहिलेकाँही पहरेदारहरु बाहिर जाँदा बन्दीहरुको आपसमा खासखुस कुराकानी हुन्थ्यो । त्यही मौकामा, कालो टालो हटाउँदै एकआपसमा नजर साट्थे । धेरैको आँखामा जीवनको हारसिवाय केही देखिएन । कैद जीवनको चार पाँच महिना उनले निकै यातना पाए । शरीरभरि भएका घाउहरु घाम तापेर मात्र निको गराएको उनलाई स्मरण छ । सूर्य एक प्राकृतिक चिकित्सक हुन् र उनको घाम एक शक्तिशाली औषधी हो भन्ने भनाइ चरितार्थ भएको उनलाई त्यो बेला महसुस भएको थियो । कुनै औषधि बिना यातनाले असक्त भएका उनी घाम ताप्दै ताप्दै मात्र हिँडडुल गर्न सक्ने भएका थिए ।
बन्दी जीवनमा विभिन्न सेनाहरु डयुटीमा रहन्थे । कोही चरम यातना दिने, कोही अलिअलि सहानुभूति राख्ने अनेकखालका सेनाहरु डयुटीमा पर्न आउँथे । सेन्ट्रिमा परेका सेनाहरुले डयुटीको पहिलो दिनमा, बन्दीहरुको अनुहार छोपिएको कालो टालो उठाएर अनुहार हेर्थे । त्यो अनुहार पढ्नुको कारण, आफ्ना अनुहारहरुको खोजी नै थियो । टर्चलाइटको प्रकाशमा आफ्ना अनुहारहरु भेटिएन भने, सुरु हुन्थ्यो यातनाका चरम सृंखलाहरु ।

यही क्रममा भर्खरको जोसिलो प्रदिप नाम गरेको सेनाको ब्यारेकमा प्रवेश भएको रहेछ । अरु डयुटीमा पर्ने सेनाले जस्तो उनले पनि पहिलो दिन नै कपडाको टालो हटाएर अनुहार पढे । एकदिन उनले सुजिन्द्रको कपडाको टालो हटाउँदै, “कपी कलम मै ल्याइदिन्छु, ककस्लाई चिठी लेख्नुपर्छ लेख” भनेर भन्यो । एक अनजान सेनाको अप्रत्याशित कुरा सुनेर सुजिन्द्र महर्जनलगायत कैदमा भएका सबै बन्दीहरु सन्त्रस्त भए । सुरुवातमा, यी को हुन्, सुराकी पो हैन कि जस्ता अनेकन प्रश्नहरुको उदय हुनु स्वभाविक हो । मृत्युको संघारमा झुल्किएको अवसरको घामलाई अविश्वासको बादलले छेकिदिनु पनि घाटक नै हो भनेर बुझेका सुजिन्द्रले आँट बटुले । अनि सुरु गरे सुजिन्द्रले प्रदिप नाम गरेको सेनाले दिएको कपीमा, कलम घोत्लिन । जुन पानाको सम्बोधनमा परे, नेपाल बार एसोसिएनको अध्यक्ष शम्भु थापा, मानव अधिकारका अध्यक्ष, आइसीआरसीका पदाधिकारीहरु । कीर्तिपुरका गण्यमान्य ब्यक्तित्वहरु नन्दकुमारी महर्जन, पूर्वमेयर हीराकाजी महर्जनलाई पनि उनले सम्बोधन गरेर चिठी त्यही बेलामा लेखेका थिए ।
त्यो बेलामा जनजनमा अहिले जस्तो मोबाइलको पहुँच थिएन । घरपरिवारलगायत अन्त पनि सूचनाको सहजीकरणको लागि गाउँकै एक दाइ जोसँग मोबाइलको पहुँच थियो, देवबहादुर महर्जनको मोबाइल नम्बर उनले प्रदिपलाई दिए । त्यसपछि पुगे, घरमा पनि ‘जिउँदै छु’को खबर । त्यसपछि फेरे, बाउले चैनको सास, आमाले बालिन्, आदिनाथ मन्दिरमा छोराको नाममा लामो आयुको बत्ती । दिदीबहिनीले भाइटीकामा सुजिन्द्रको नाममा ढुक्कसाथ मण्डप कोरेर, त्यस्मा मखमली फूलको माला ओछयाए । श्रीमतीले ऐना हेर्दै लगाए, बेपत्तापछि पहिलोपटक चैनले लामो धर्कोको सिन्दुर । प्रदिपले चिठी मात्र पुर्याएन, जेलभित्र नै लुगासुगा, खानेकुरा र पानी पनि ल्याउन सृुरु गरे । सेन्ट्रिमा राखेको एक सैनिक जवानको त्यो साहस अदम्य थियो । यो सहयोगको बारेमा थाहा पाएको भए उनको लागि पनि त्यो खतरा थियो । भर्खरको जवान प्रदिप थोरै पनि डराएका थिएन । सुरुमा अविश्वासबाट सुरु भएको त्यो सम्बन्ध, पछि विश्वासमा रुपान्तरित भएसँगै सुजिन्द्रले त्यहाँ भएका सबै बेपत्ताहरुको नाम चिठीमा कोर्न थाले । तिनै चिठीमध्य एक चिठीमा कोरिएको एक नाम थियो—हरिशरण महर्जन, जो अहिलेसम्म बेपताको सूचिमै छ । इँटाभट्टाबाट हाफ टिसर्ट र गन्जीमा समातिएका उनी गन्जीमा लागेको इँटाको टाटो पुछ्न नपाउँदै हराए ।
मानव अधिकार र आइसीआरसी ब्यारेकमा निरीक्षणमा आउँदा ब्यारेकमा सार्वजनिकरुपमा पक्राउ परेकालाई मात्र देखाउथ्यो । उनीहरुलाई भने निरीक्षण आउने दिन ट्रकमा राखेर घुमाउन लैजाने अथवा चौरमा टेन्टमा बेरेर, मुख कोच्याएर बोल्न नसक्ने गरी राख्थ्यो । यसरी सृखंलाबद्धरुपमा लेख्दै आएका चिठीको ब्यहोरामा यी कुराहरु लेखिन थाले, ‘तपाईहरु निरीक्षणमा आउँदा हामीलाई चौरमा टेन्टमा बेरेर राखिएका थिए अथवा ट्रकमा राखेर हामी अन्तै लगिएका थियौँ । बिना सूचना निरीक्षण आए मात्र हामी भेटिन्छौँ, होइन भने हामीलाई यसरी नै लुकाइनेछ ।’ ब्यहोरासँगसँगै उनले ब्यारेकको नक्सा नै लेखेर पठाएका थिए ।
यसरी चिठीको माध्यमले सबै कुरा थाहा पाइसकेको र बन्दी प्रत्यक्षीकरणको रिट पनि परेकोले बाध्य भएर बन्दी जीवनको एघारौ महिनामा उनी सुन्दरीजल बन्दी गृहबाट मुक्त भएका थिए । उनी मुक्त हुनुमा नेपाल बार एसोसिएसनको पनि ठूलो सहयोग रहेको थियो । बारको त्यतिबेलाको अध्यक्ष शम्भु थापा थिए । यसरी नेपाल बार एसोसिएनमा मानवअधिकारबादीको नाताले नन्दकुमारी मिस र अधिवक्ता सुरेन्द्र मानान्धरको सुजिन्द्रलाई मुक्त गराउन डेलिगेसनमा धेरै मेहनत गरेका थिए । मुक्त भएको दिन, पूर्वमेयर हिराकाजी महर्जन, सुरेन्द्र मानान्धर, नेपाल बार एसोसिएसनका प्रतिनिधि र आफ्नी एक जना दिनी नन्दकुमारी महर्जनलगायत मानव अधिकारवादीको एक टोली उनलाई लिन सुन्दरीजल आएका थिए । मुक्त भएकै दिन बाटामा उनलाई फेरि थुन्ने कोसिस भयो । त्यहाँ संघर्ष गरेर घर फिर्ता हुन सफल भए ।
मुक्त भएर समाजमा पूर्नस्थापित त भए तर समाजका प्रतिनिधि सदस्य र कार्यालयका आफ्नै सहकर्मी साथीहरुमा आतंक बाँकी नै थियो, मानौ उनी ठूलै फौजदारी अपराधको कसूर भोगेर आएका अपराधी थिए । उता कार्यालयमा पनि बिना जानकारी उपस्थित नभएको भन्दै कारवाहीको तयारी अवस्थामा थियो । त्यो बेला जागिरमा पुर्नस्थापित हुन वडामा सरजमिनको सिफारिस लिन चारजना साक्षी नभएको दुखेसो सुजिन्द्रसँग छ । जागिरमा पुर्नबहाली भैसके पछि पनि उनलाई समात्न सिभिल डे«समा दुईचार पटक कोसिस भएको थियो । कहिले सहकर्मीहरुको साथले त कहिले आफैले पूर्वसूचना पाएर उनी उम्किएका थिए । त्यो बेलामा, ‘कोही समाजमा नबस् भन्ने, कोही विदेश जाऊ भन्ने त कोही माओवादी पार्टीमै गएर बन्दुक समात’ भन्नेखालका अनेकन सुझाव उनले पाएका थिए । यी अलमलका बीच उनले एउटा निर्णय गरे — जस्तोसुकै कठिन परिस्थितिमा पनि विचलित नहुने । अन्तत देशमा बइसठ्ठी त्रिसठ्ठीको ठूलो जनआन्दोलन भयो । उनको त्यसमा प्रत्यक्ष संलग्लनता रहयो । देशमा ठूलै परिवर्तन भएर माओवादी शक्तिमा आएसँगै राज्यले चुलाएको दुखका पहाड ढल्यो ।
गृहस्थ जीवनको हरेक दुखसुखमा साथ दिइरहेकी श्रीमती शान्ति र छोरा सुजनसँग आज उनी सुखी जीवन बिताइरहेका छन् । सुुजिन्द्र जीवनमा धेरैको लागि उत्प्रेरणा भए । हामी मारिन्छौँ भनेर हातै नधोएर खाना खाने बन्दीहरुको फोहोर हातमा ‘यत्रो मान्छेहरुलाई मार्न सम्भव छैन भन्दै’ पानी खन्याइदिए । हाँस्न छोडिसकेका बन्दीहरु उनको हौसलाले थोरै थोरै हाँसेका थिए । यसरी यो भन्न सकिन्छ, ‘जीवनमा सुख मात्र होइन, दुःख पनि आउँछ र दुःखको उपस्थितिमा पनि सम्हालेर हिँडनुपर्छ, गन्तब्य चुम्न सकिन्छ’को परिभाषित जीवन नै अधिवक्ता सुजिन्द्र महर्जन हुन् ।