बाढी प्रभावित समुदायको राहतका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोड रुपैयाँ उपलब्ध गराउने

शनिबार, १३ भाद्र २०८३

काठमाडौँ – भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायको राहत, पुनर्स्थापना र पुनर्निर्माणका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले करिब १५ करोड रुपैयाँ उपलब्ध गराउने भएका छन्। दुवै संस्थाले संयुक्त रूपमा बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम अघि बढाउने घोषणा गरेका हुन्। कार्यक्रमअन्तर्गत बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै उनीहरूलाई सुरक्षित आवास, पुनर्स्थापना हुँदै दीर्घकालीन सामुदायिक उत्थानशीलतातर्फ लैजाने लक्ष्य राखिएको छ।

पहिलो चरणमा प्रभावित परिवारलाई खाद्यान्न, आवश्यक खोप तथा स्वास्थ्य सामग्री उपलब्ध गराउने काम भइरहेको छ। यसलाई निरन्तरता दिँदै राहत प्याकेजमार्फत तयार खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल, व्यक्तिगत सरसफाइका सामग्रीलगायत अत्यावश्यक वस्तु उपलब्ध गराइनेछ।भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा राहत पुर्‍याउन थालिएको थियो। त्यसका लागि चौधरी फाउन्डेसन र नबिल बैंकका कर्मचारी स्थानीयस्तरमै परिचालन भएका छन्।
स्थानीय प्रशासनसँग समन्वय गरेर नुवाकोट र रसुवामा दुईवटा व्यवस्थित राहत शिविर स्थापना गरिएको छ। शिविरमार्फत प्रभावित समुदायलाई दैनिक भोजन उपलब्ध गराइएको छ। त्यस्तै, धुलिखेल अस्पतालसँग सहकार्य गरी प्रभावित क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा र रोग रोकथामका लागि स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ।

राहत शिविरमा बालबालिकाका लागि सुरक्षित स्थान, स्वच्छ खानेपानी र सरसफाइका आवश्यक सुविधासमेत उपलब्ध गराइएको छ। बाढीबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका वा बस्नै नमिल्ने अवस्थामा पुगेका परिवारलाई लक्षित गरी ५ सय अस्थायी आवास एकाइ निर्माण गरिने भएको छ। यसका लागि सरकार र स्थानीय सरकारसँग सहकार्य गरिनेछ। स्थायी पुनर्निर्माण पूरा नभएसम्म प्रभावित परिवारलाई सुरक्षित, व्यवस्थित र सम्मानजनक आवास उपलब्ध गराउने योजना छ।दीर्घकालीन कार्यक्रमअन्तर्गत संक्रामक रोग रोकथाम तथा नियन्त्रण केन्द्र स्थापना गर्न धुलिखेल अस्पतालसँग सहकार्य गर्ने पनि घोषणा गरिएको छ।

चौधरी फाउन्डेसन तथा नबिल बैंकका अध्यक्ष निर्वाण चौधरीले अहिलेको प्राथमिकता प्रभावितको जीवन रक्षा गर्नु र उनीहरूलाई खाना, आवास, स्वास्थ्य सेवा तथा सम्मानको सुनिश्चितता गर्नु रहेको बताएका छन्।
उनका अनुसार संस्थाको भूमिका आपत्कालीन राहत वितरणमा मात्रै सीमित रहने छैन। उद्धार र राहतदेखि अस्थायी आवास, स्थायी पुनर्स्थापना तथा जनस्वास्थ्यको तयारीसम्मको प्रक्रियामा साझेदारीमार्फत निरन्तर काम गरिनेछ।
अभियान सञ्चालनका क्रममा नेपाल सरकार, स्थानीय प्रशासन, सम्बन्धित निकाय, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, सामुदायिक संस्था तथा स्वयंसेवकसँग नजिक रहेर समन्वय गरिने दुवै संस्थाले बताएका छन्।
सबैभन्दा बढी प्रभावित र जोखिममा रहेका परिवारसम्म सहायता पारदर्शी, प्रभावकारी तथा व्यवस्थित रूपमा पुर्‍याउने उद्देश्य अभियानले राखेको छ।

राष्ट्रिय संकटका बेला नेपाली नागरिकको साथमा उभिने र प्रभावित समुदायलाई सुरक्षित, स्वस्थ तथा विपद्–प्रतिरोधी भविष्य निर्माणमा सहयोग गर्ने आफ्नो प्रतिबद्धताअनुसार कार्यक्रम अघि बढाइएको दुवै संस्थाले बताएका छन्।
त्यस्तै, प्रभावितको उद्धार र तत्काल राहतका लागि नेपाल सरकारले गरेको शीघ्र तथा सक्रिय पहलप्रति चौधरी फाउन्डेसन र नबिल बैंकले सरकारलाई आभार व्यक्त गरेका छन्।