डा. शशांक कोइरालाज्यू, यो निर्णय विवेकको हो कि ‘खेतालो’ राजनीतिको ?
डा. शशांक कोइरालाज्यू, तपाईं कांग्रेसका वरिष्ठ, बौद्धिक र संयमित नेताका रूपमा चिनिनुहुन्छ। त्यसैले कांग्रेस आफ्नो इतिहासकै संवेदनशील मोडमा पुगेका बेला तपाईंले लिनुभएको निर्णयमाथि प्रश्न उठ्नु स्वाभाविक छ। यो निर्णय तपाईंको स्वतन्त्र राजनीतिक विवेक, कांग्रेसको एकता र दीर्घकालीन हितबाट आएको हो कि कुनै समूहको राजनीतिक रणनीतिमा तपाईंलाई ‘खेतालो’ बनाइएको हो ? यो व्यक्तिगत आरोप होइन ः तपाईंको राजनीतिक भूमिकामाथि उठेको स्वाभाविक सार्वजनिक प्रश्न हो।
सबैभन्दा पहिले अहिलेको कानुनी अवस्थालाई सरल रूपमा बुझ्नुपर्छ। सर्वोच्च अदालतको अघिल्लो फैसलाअनुसार गगन थापा नेतृत्वको कार्यसमितिको वैधानिकता हालसम्म कायम छ। देउवा पक्षले त्यस फैसलाविरुद्ध पुनरावलोकन मागेको हो र सर्वोच्चले त्यसमा निस्सा दिएको छ। तर निस्सा दिनु भनेको अघिल्लो फैसला बदर गर्नु होइन। यसको अर्थ अदालतले पुनः सुनुवाइ गर्न आवश्यक देखेको मात्र हो। त्यसैले अन्तिम पुनरावलोकन फैसला नआएसम्म गगन पक्षको अघिल्लो वैधानिक अवस्था स्वतः समाप्त भएको मान्न मिल्दैन।
यही कुरा भदौ ११ गतेको सर्वोच्चको आदेशमा पनि लागू हुन्छ। देउवा र पूर्णबहादुर खड्काले १५औँ महाधिवेशन रोक्न माग गरेको निवेदनमा अदालतले अन्तरिम आदेश दिएन। तर अन्तरिम आदेश नदिनु भनेको गगन पक्षको वैधानिकता खारेज हुनु वा देउवा पक्षलाई नयाँ वैधानिकता प्राप्त हुनु होइन। यो केवल तत्काल महाधिवेशन रोक्ने अन्तरिम राहत अस्वीकार गरिएको निर्णय हो। मूल आधिकारिकताको विवाद भने पुनरावलोकनकै प्रक्रियामा छ।
यसलाई अझ सरल भाषामा भन्नुपर्दा—निस्सा हुनु भनेको फैसला उल्टिनु होइन, र अन्तरिम आदेश नहुनु भनेको अर्को पक्ष वैधानिक हुनु होइन। यही आधारभूत कानुनी तथ्यलाई राजनीतिक रूपमा पनि इमानदारीपूर्वक बुझ्न आवश्यक छ। तर यही अवस्थामा तपाईंको भदौ १३ गतेको विज्ञप्तिले गम्भीर राजनीतिक प्रश्न उठाएको छ। तपाईंले आधिकारिकताको विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको स्वीकार गर्दै पनि “१४औँ महाधिवेशनबाट निर्वाचित हाम्रो वैधानिक केन्द्रीय कार्यसमिति” भन्दै महाधिवेशन प्रक्रिया अघि बढाउने धारणा सार्वजनिक गर्नुभएको छ। यदि मूल विवाद अझै सर्वोच्चमा विचाराधीन छ र गगन पक्षको अघिल्लो वैधानिक फैसला हालसम्म कायम छ भने, भदौ ११ को अन्तरिम आदेश नआएको अवस्थालाई आधार बनाएर समानान्तर राजनीतिक संरचना अघि बढाउनुको औचित्य के हो भन्ने प्रश्न उठ्नु स्वाभाविक छ।
यो प्रश्न अझ गम्भीर हुन्छ, किनकि केही दिनअघि मात्र तपाईंले फरक धारणा व्यक्त गर्नुभएको थियो। भदौ ३ गते महाधिवेशन रोक्न सर्वोच्च जाने निर्णय तपाईंको निवासमा बसेको शीर्ष नेताहरूको बैठकबाट भएको थियो। भदौ ५ गते तपाईंले नै महाधिवेशन प्रक्रिया नरोके पार्टी विभाजन हुन सक्ने चेतावनी दिनुभएको थियो। अझ यसअघि तपाईंले सर्वोच्च अदालतकै विवादले कांग्रेसलाई विभाजनतर्फ धकेलेको चिन्ता व्यक्त गर्नुभएको थियो। तर अहिले त्यही विवाद समाधान नभइसकेको अवस्थामा समानान्तर महाधिवेशनको बाटोमा तपाईं उभिनुभएको देखिन्छ। हिजो विभाजन रोक्नुपर्ने बताउने र आज विभाजनको जोखिम बढाउन सक्ने प्रक्रियामा उभिने यो परिवर्तनको राजनीतिक कारण के हो ?
यही विरोधाभासले ‘खेतालो’ शब्दलाई राजनीतिक बहसमा ल्याएको हो। यसको उद्देश्य व्यक्तिगत अपमान होइन। यसको अर्थ केवल यति हो—के डा। शशांक कोइरालाले आफ्नो स्वतन्त्र राजनीतिक विवेक प्रयोग गरेर यो निर्णय गर्नुभएको हो, वा कुनै समूहको राजनीतिक रणनीति कार्यान्वयन गर्ने भूमिकामा उभिनुभएको होरु यदि यो तपाईंको स्वतन्त्र निर्णय हो भने त्यसको राजनीतिक औचित्य स्पष्ट पार्ने जिम्मेवारी पनि तपाईंकै हो।
कांग्रेसको अहिलेको अवस्था हेर्दा समस्या केवल अदालतमा रहेको कानुनी विवाद होइन। समस्या राजनीतिक विश्वासको पनि हो। एउटा पक्ष आफूलाई वैधानिक भन्दै महाधिवेशन अघि बढाउन खोजिरहेको छ, अर्को पक्ष पनि आफ्नो वैधानिकताको दाबी गरिरहेको छ। यसरी एउटै कांग्रेसभित्र समानान्तर संरचना र समानान्तर महाधिवेशनको वातावरण बन्नु कुनै पनि लोकतान्त्रिक पार्टीका लागि शुभ संकेत होइन।
अदालतले अन्ततः कसको पक्षमा फैसला गर्छ भन्ने कुरा भविष्यको विषय हो। तर त्यसअघि नै कांग्रेसलाई दुई धारमा विभाजित हुनबाट जोगाउने जिम्मेवारी राजनीतिक नेतृत्वकै हो। अदालतले कानुनी विवाद समाधान गर्न सक्छः कांग्रेसको एकता भने नेताहरूको राजनीतिक विवेक, संयम र संवादले मात्र जोगाउन सक्छ।
यही कारणले अहिले कांग्रेसलाई गुटगत विजयभन्दा माथि उठेको नेतृत्व चाहिएको छ। देउवा कि गगन भन्ने प्रश्नभन्दा ठूलो प्रश्न कांग्रेसको संस्थागत अस्तित्व हो। विशेष कि नियमित महाधिवेशन भन्ने विवादभन्दा ठूलो विषय कांग्रेसको एकता हो। र अदालतको आदेशलाई आफ्नो पक्षको राजनीतिक विजयका रूपमा व्याख्या गर्नुभन्दा महत्वपूर्ण कुरा न्यायिक प्रक्रियाको अन्तिम निष्कर्षलाई सम्मान गर्नु हो।
डा। कोइरालाज्यू, तपाईंका लागि यो एउटा सामान्य राजनीतिक निर्णयको समय होइन। तपाईं चाहनुहुन्छ भने विभाजनको यो घडीमा कांग्रेसलाई जोड्ने सेतु बन्न सक्नुहुन्छ। तपाईंले चाहेमा संवाद, सहमति र न्यायिक प्रक्रियाको सम्मानलाई प्राथमिकता दिएर इतिहासमा फरक भूमिका स्थापित गर्न सक्नुहुन्छ। तर यदि तपाईं समानान्तर कांग्रेस निर्माण गर्ने प्रक्रियाको एउटा पक्षको नेतृत्वमै सीमित हुनुभयो भने इतिहासले स्वाभाविक रूपमा तपाईंको राजनीतिक विवेकमाथि प्रश्न उठाउनेछ।
त्यसैले आज कांग्रेसका कार्यकर्ताले तपाईंलाई आरोप होइन, स्पष्ट राजनीतिक जवाफ मागिरहेका छन्। यो निर्णय तपाईंको आफ्नै विवेकको हो कि ‘खेतालो’ राजनीतिको ? किनकि आजको तपाईंको निर्णयले केवल एउटा महाधिवेशनको दिशा निर्धारण गर्ने छैनः यसले कांग्रेस एकताको पक्षमा उभिने कि विभाजनको एउटा धारको नेतृत्व गर्ने भन्ने तपाईंको राजनीतिक पहिचानसमेत निर्धारण गर्नेछ।
अन्ततः इतिहासले पनि यही प्रश्न सोध्नेछ—कांग्रेस संकटमा परेको बेला डा. शशांक कोइराला एउटा समूहको नेता बन्नुभयो कि सिंगो कांग्रेसको विवेकको आवाज ?