COE आयो भनेर मख्ख नपरौं, जापानमा भोटेकोसी बाढीजस्तै भयावह छ नेपालीको अवस्था
अप्रत्यासित रुपमा आएको भोटेकोसीको बाढीले हजारौं नेपालीलाई बेपत्ता बनाएको छ । अर्बौको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । खोला किनारका बजारहरु बगरमा परिणात भएका छन् । रसुवा र नुवाकोटका जिल्ला सदरमुकामहरु नै सध्ये छैनन् । सोच विचार नगरी जापान जाने नेपाली विद्यार्थीका लागि जापानको अध्ययन पनि ठ्याक्कै भोटेकोसीको बाढी जस्तै अप्रत्यासित हुनसक्छ ।
अक्टोबर इन्टेकका लागि एप्लाई गरेका विद्यार्थीहरूको Certificate of Eligibility (COE आउन थालेको छ । कतिपय कन्सल्टेन्सीले विद्यार्थीको फोटो खिचेर सामाजिक सञ्जालमा “Congratulations COE Received” भन्दै खुसी साटिरहेका छन् । COE आउनु पक्कै पनि विद्यार्थी र परिवारका लागि खुसीको क्षण हो । तर एउटा गम्भीर प्रश्न पनि उठ्छ, COE आएपछि परिवार, कन्सल्टेन्सी र विद्यार्थीको जिम्मेवारी सकियो ? जापान पुगेपछि पनि जिम्मेवार हुन्छ ? यसको उत्तर सजिलो छ, जिम्मेवारी सकिएको छैन वरु विद्यार्थीका लागि दुःखका दिन अब सुरु भएका छन् ।
अप्रिल इन्टेक २०२६ मा यस्तै खुशी भएर HIGASHI ASIA JAPANESE LANGUAGE SCHOOL (हिगासी जापानीज भाषा स्कुल, फुकुको) मा अध्ययनका लागि गएका विद्यार्थीहरु फर्किएका छन् । जापानीज भाषाको राम्रो ज्ञान नभएका कारण एउटै कन्सल्टेन्सीबाट जापान पुगेका तीन जना विद्यार्थी फर्किएका हुन् । उनीहरु फर्किनुको मुख्य कारण शैक्षिक कन्सल्टेन्सीको जालझेल, जापानीज भाषा परीक्षाका नाममा भइरहेको बदमास र ठगी हो ।
जापानीज भाषा परीक्षाको एन–५ पास गरेका विद्यार्थीले कक्षामा हिरागाना, काताकानासमेत पढ्न र लेख्न नजानेपछि स्कुलले फर्काइदिएको थियो । ती विद्यार्थीको शैक्षिक कन्सल्टेन्सी समझदार भएका कारण उनीहरुले आफ्नो लागत फिर्ता पाएका छन् । उस्तै कन्सल्टेन्सी परेको भए पैसा पनि जान्थ्यो, करिअर पनि धोस्त हुन्थ्यो । जापानबाट भाषा राम्रो नभएका कारण दैनिक जस्तो विद्यार्थीहरु फर्किरहेका छन् । नफर्किएकाहरु पनि जापानीज भाषाको राम्रो ज्ञान नहुँदा काममा गर्न नपाएर नरकको जीवन विताइरहेका छन् ।
जापान जानुअघि विद्यार्थीलाई भाषामा दक्ष बनाएर जापानको वर्तमान नियम, वास्तविक जीवनयापन खर्च, पढाइको शुल्क, पार्ट–टाइम कामको सीमा, दोस्रो वर्षको शुल्क र आर्थिक व्यवस्थापनबारे स्पष्ट जानकारी दिनुपर्छ । जापानमा Student Status मा रहेका विद्यार्थीले आवश्यक अनुमति लिएपछि सामान्य अवस्थामा हप्तामा अधिकतम २८ घण्टा पार्ट–टाइम काम गर्न पाउँछन् । लामो शैक्षिक बिदामा भने निश्चित सर्तअनुसार प्रतिदिन ८ घण्टासम्म काम गर्न सकिने व्यवस्था छ ।
तर जापान सरकारकै Study in Japan वेबसाइटले पार्ट–टाइम कामबाट मात्र विद्यालय तथा अध्ययनसम्बन्धी सम्पूर्ण खर्च धान्न सम्भव नहुने भन्दै विद्यार्थीलाई आर्थिक योजना बनाउन सुझाव दिएको छ । त्यसैले, “जापान गएपछि काम गरेर सबै खर्च चलाउँछु ।” “अर्को वर्षको फी पनि पार्ट–टाइमबाटै तिर्छु ।” भन्ने सोच मात्र बनाएर जापान जानु जोखिमपूर्ण हुन सक्छ ।
अभिभावक र विद्यार्थीले बुझ्नुपर्ने कुरा
यदि विद्यार्थीले २८ घण्टाको कानुनी सीमाभित्र काम गरेर आफ्नो जीवनयापन, घरभाडा, खाना, यातायात, बीमा, कर तथा अध्ययनसम्बन्धी खर्च व्यवस्थापन गर्नुपर्ने अवस्था छ भने दोस्रो वर्षको शुल्कका लागि थप आर्थिक स्रोत आवश्यक पर्न सक्छ । विद्यार्थीले नेपालमै छँदा अभिभावकसँग स्पष्ट छलफल गर्नुपर्छ, “दोस्रो वर्षको फी कसरी तिर्ने ?” “घरबाट फेरि पैसा माग्नुपर्ने अवस्था आउला?” “फी तिर्न नसके के गर्ने?” “पढाइमा ध्यान दिने कि बढी काम गर्ने ?” कामको चापका कारण पढाइमा असर पर्न सक्छ ।
जापानको आधिकारिक जानकारीअनुसार कम उपस्थितिका कारण विद्यार्थीको बसाइ अवधि नवीकरण हुन नसक्ने अवस्थासमेत देखिने गरेको छ । यो समस्या समाधानका लागि नेपालबाट जापान जानुपूर्व स्कुल/कलेजको वास्तविक शुल्क कति हो भनेर बुझ्ने, दोस्रो वर्षको शुल्क कति पर्छ, जापानमा मासिक जीवनयापन खर्च कति हुन सक्छ, पार्ट–टाइम काम गर्न आवश्यक अनुमति के हो, कानुनी २८ घण्टाभित्रको कामबाट वास्तविक रूपमा कति आम्दानी हुन सक्छ, उक्त आम्दानीबाट जीवनयापन र अध्ययन खर्च कति धान्न सकिन्छ, दोस्रो वर्षको शुल्कका लागि घरबाट थप आर्थिक सहयोग आवश्यक पर्न सक्छ कि पर्दैन, पढाइ र कामबीच सन्तुलन कसरी कायम गर्ने, जापान पुगेपछि समस्या आएमा विद्यार्थीले कसलाई सम्पर्क गर्ने, आफूले तिरेको प्रत्येक शुल्कको आधिकारिक बिल÷रसिद प्राप्त हुन्छ कि हुँदैन ? यी सबै कुरा बुझेर मात्रा जापानको यात्रा तया गर्नु सुरक्षित हुन्छ ।
माथिका प्रश्नहरुको सामना गर्ने आँट गरिएन, परिवारसँग राम्रो सल्लाह गरिएन र ऋण गरेर जापान जाने योजना बनाउनु भएको छ भने तपाईंका लागि जापान साँच्चकी नर्क बन्न सक्छ । अझ जापानीज भाषाको राम्रो ज्ञान छैन भने त कि तपाईं नेपाल फर्किनु पर्ने हुन्छ, कित तपाईंले रोज्ने आत्महत्या नै हो ।
कन्सल्टेन्सीको जिम्मेवारी
यता शैक्षिक कन्सल्टेन्सीले आफ्नो काम COE र भिसा निकालिदिने मात्रै हो भनेर पन्छिन मिल्दैन । कन्सल्टेन्सीले COE निकालिदिए बापत विद्यार्थीबाट १ लाख ५० हजार रुपैयाँ भन्दा बढी लिएका हुन्छन् । १ लाख ५० हजारभन्दा बढी रुपैयाँ लिएपछि विद्यार्थीलाई त्यही अनुसारको सर्भिस दिनुपर्छ । विद्यार्थी जापान पुगेपछि समस्या आयो, आर्थिक अवस्था बिग्रियो, दोस्रो वर्षको शुल्क तिर्न सकेन, कामको चापले पढाइमा असर पर्यो वा अन्ततः नेपाल फर्किनुपर्ने अवस्था आयो भने, “हामीले त COE र भिसा निकालेर पठाएका हौँ” भनेर जिम्मेवारीबाट पन्छिन मिल्दैन ।
विद्यार्थीलाई सुरुबाटै सही सूचना र उचित मार्गदर्शन दिएमात्र पछि आउने समस्या अहिले नै समाधान हुन्छ । सरकारले भर्खरै सार्वजनिक गरेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (संचालन तथा व्यवस्थापन) नियमावली २०८३’ ले पनि शैक्षिक कन्सल्टेन्सीलाई जिम्मेवार बनाएको छ । नियमावलीमा गलत सल्लाहका कारण विद्यार्थी समस्यामा परेको खण्डमा शैक्षिक कन्सल्टेन्सीले क्षतिपुर्ति व्यहोनुपर्ने व्यवस्था गरिएको छ ।
तर कन्सल्टेन्सीले १ लाख ५० हजार कमाउनका लागि विद्यार्थीलाई भाषा परीक्षाको नक्कली सर्टिफिकेट भिराउने, जापानका स्कुलहरुको अन्तरवार्तामा नक्कली विद्यार्थी राखेर पास गराउने र जसरी पनि विद्यार्थीलाई जापान पुर्याउने धन्दा चलाइरहेका छन् । उनीहरुको यही धन्दाले केही विद्यार्थी नेपाल फर्किएका छन् भने केहीले आत्महत्या गर्न बाध्य छन् । पछिल्लो तथ्याङ्क अनुसार जापानमा प्रत्यक्ष ६ महिनामा ५४ जना नेपालीले आत्महत्या गरिरहेका छन् ।
तपाईंमा पनि जापानीज भाषा कमजोर छ, ऋण गएर जापान जाने खोजिरहनु भएको छ, परिवारसँग अर्को वर्षको ट्युसन फि तिर्न सक्ने क्षमता छैन भने जापानको योजना रद्द गर्नुनै बुद्धिमानी हुन्छ । पैसा कमाउने ध्याउन्नमा शैक्षिक कन्सल्टेन्सीले गलत सल्लाह दिन सक्छन् । यदी माथिका कुराहरु ध्यान नदिई जापान जाँदै हुनुहुन्छ भने भोटेकोसीको बाढी जस्तै तपाईंको अवस्था पनि भयावह बन्न सक्छ ।