वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने पाँच जना पक्राउ
काठमाडौं —वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बस्ने झापा घर भएकी २९ वर्षीया सुष्मा भण्डारी, काठमाडौं कागेश्वरी मनोहरा नगरइपालिका-९ बस्ने सिन्धुली घर भएकी २८ वर्षीया करिना देवकोटा, काठमाडौं महानगरपालिका-३ बस्ने झापा घर भएका २७ वर्षीय साजन खनाल, भक्तपुर सूर्यविनायक नगरपालिका-१ बस्ने दोलखा घर भएका ३४ वर्षीय पेमा लामा र काठमाडौं महानगरपालिका-१५ बस्ने ओखलढुंगा घर भएकी २७ वर्षीया तोम कुमारी थापा रहेका छन् ।
पक्राउ मध्ये सुष्माले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ३५ हजार रूपैयाँ, करिनाले लिथुआनिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ, साजनले फिनल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १२ लाख रूपैयाँ, पेमाले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ र तोमकुमारीले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ३५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुष्मालाई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० बाट शुक्रबार, करिना र साजनलाई काठमाडौं महानगरपालिका-३ बाट आइतबार तथा पेमालाई काठमाडौं महानगरपालिका-१२ बाट र तोमकुमारीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।