क्रीन्चे खोला सफाई तथा स्थानीयसँग वातावरणीय सचेतना अभियान सम्पन्न
सुन्दरबजार – लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–सत्रसयस्थित क्रीन्चे खोलामा Nepal Change Makers (NCM) को आयोजनामा सरसफाइ तथा वातावरणीय सचेतना अभियान सम्पन्न भएको छ। हरेक सनिवार हप्ताको दुई घण्टा राष्ट्रका लागि सदुपयोग गर्दै आएका ल्ऋः टिमले खोला तथा खोलाको किनारमा जथाभावी फालिएका फोहोर संकलन गरी सफाइ गर्नुका साथै स्थानीयवासीमा वातावरण संरक्षण र फोहोर व्यवस्थापनसम्बन्धी सचेतना फैलाउने उद्देश्यले अभियान सञ्चालन गरिएको सोहि संस्थाका अध्यक्ष आयुश ओलियाले जानकारी दिनु भएको हो।
उक्त अभियानअघि वडा अध्यक्षको नेतृत्वमा स्थानीयवासी तथा अभियानमा सहभागीहरूबीच खोला संरक्षण, फोहोर व्यवस्थापन र स्वच्छ वातावरण निर्माणका विषयमा आवश्यक छलफल तथा सचेतनामूलक कार्यक्रम गरिएको थियो। त्यसपछि (NCM) का सदस्य तथा स्वयंसेवकहरूको टोलीले क्रीन्चे खोलाको किनारमा पुगेर प्रत्यक्ष रूपमा सरसफाइ गरेका थिए।
खोला प्राकृतिक सम्पदाको महत्वपूर्ण हिस्सा भएकाले यसको संरक्षण गर्नु सबैको साझा जिम्मेवारी रहेको र विशेषगरी खोलामा प्लास्टिक तथा अन्य फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै स्थानीयस्तरमै स्वच्छता र वातावरण संरक्षणको संस्कार विकास गर्न अभियानले सकारात्मक सन्देश दिएको (NCM) का संस्थापक सदस्य शेर बहादुर बिश्वकर्माले बताएका छन्।
‘फोहोर फाल्ने होइन, सफा राख्ने संस्कार बसालौँ’ भन्ने सन्देशसहित सञ्चालन गरिएको अभियानले स्थानीय समुदायलाई आफ्नो वरपरको वातावरणप्रति थप जिम्मेवार बन्न प्रेरित गरेको समेत बताउनु भएको छ।
(NCM) ले अभियानमा प्रत्यक्ष रूपमा सहभागी भई समय, श्रम र साथ प्रदान गर्ने सम्पूर्ण सदस्य तथा स्थानीयवासीप्रति आभार व्यक्त गरेको छ। संस्थाले आगामी दिनमा पनि वातावरण संरक्षण, सरसफाइ तथा सामाजिक सचेतनाका यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ। क्रीन्चे खोला बचाऔँ, प्राकृतिक स्रोत जोगाऔँ—आजको सानो प्रयासले भोलिको स्वच्छ भविष्य निर्माण गरौँ।




