अझै किन भेटिएनन् त्रिशुलीमा हराएका बस ? यस्ता छन् तीन कारण
काठमाडौं – चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालबाट २८ असारको बिहान साढे ३ बजे लेदोसहितको पहिरोले दुई वटा बसलाई बगाएको थियो । वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र काठमाडौंबाट रौतहटको गौरका लागि छुटेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बसलाई लेदोसहितको पहिरोले बगाएको खसालेको थियो । दुबै बस ६ दिनसम्म पनि भेटिएका छैनन् ।
सशस्त्र प्रहरी बलको खोजी तथा उद्दार विषयमा जानकार डीएसपी लक्ष्मण बस्नेत बस नभेटिनुका प्रमुख तीन कारण रहेको बताउँछन् । पहिलो, पानीले पल्टाउँदा बसको आकार परिवर्तन भएर चिन्न नसक्ने हुँदा सोनारले दिएको संकेत अपरेटरले बुझ्न नसक्नु । दोस्रो, बस बगाएर हाल खोजी गरिएको क्षेत्र भन्दा अन्यत्र पुर्याउनु । तेस्रो, कुनै ठूलो चट्टान वा विशाल ढुंगा तथा खोँचमा बस च्यापिएकाले त्यहाँसम्म सोनार प्रविधिको पहुँच नपुग्नु ।
उनका अनुसार यस्तो किसिमको खोजीमा विशेषगरी क्यानिङ सर्भिलेन्स सोनार सिस्टम प्रयोग गरिन्छ । यो सिस्टमका डिभाइसहरुले धमिलो पानीमा पनि काम गर्न सक्छन् । तर अहिले त्रिशुलीको पानी एकदमै धमिलो र उच्च बहाब भएकाले सोनारको रेजुलेसनले काम गर्न नसकेको उनको बुझाइ छ ।
अहिले त्रिशुलीमा प्रयोग भएको क्यामेराले ३०० मिटर गहिराइसम्म काम गर्ने भनिए पनि त्रिशुलीको अहिलेको पानीका कारण २÷३ फिट गहिराइसम्म पनि काम गर्न सकेको छैन । पानीमुनि प्रकाश पनि पुग्दैन । त्यही कारण अन्डर वाटर ड्रोन र क्यामेराहरु प्रभावकारी नभएको नभएको उद्दारकर्ताहरुको भनाइ छ ।
विपद व्यवस्थापन तथा उद्दार मामिलाका जानकार नेपाल प्रहरीका पूर्वएआईजी ठूले राई पनि त्रिशुलीमा पानीको उच्च बहाबका कारण उद्दारकहरु भित्रसम्म जान नसक्नु र गए पनि स्थिर भएर काम गर्न नसक्दा बस फेला पार्न कठिन भएको हुन सक्ने बताउँछन् । ‘हुकिङ गरेर पानीमुनिको वस्तु तान्ने तथा पहिचान गर्ने पनि हुन्छ । तर त्यो पनि हाइ करेन्ट र धमिलो पानीका कारण समस्या भएको देखिन्छ’, राईको भनाई छ ।
धेरै देशमा यस्ता नदीहरुमा गरिने खोज तथा उद्दारको शैली नेपालको जस्तै हो । यो अवस्थामा उद्दारका लागि प्रयोग गरिने प्रविधिलाई राडर सिस्टम भनिन्छ । त्यही राडर सिस्टमभित्र, वाटर ड्रोनदेखि हुकिङ, सोनार क्यामेरा, चुम्बक विधि पर्छन् । राडार डिभाइसहरु पानीभित्र छाडेर त्यसले पानीभित्रको वस्तु क्याप्चर गर्ने र बाहिर डिस्प्ले गर्ने गर्छ । तर उच्च बहाब र पानी धमिलो भएका कारण सोचेजसरी काम हुन सकेको छैन ।
अहिले त्रिशुलीमा ठूलो बाढी आएको र बाढीमा ढुंगा, माटो काठ, रुखजस्ता बस्तुहरु पनि बगाएर ल्याएकाले खोज्न गाह्रो भएको उद्धारमा संलग्नहरुको भनाइ छ । अर्कोतर्फ सोनार तथा वाटर ड्रोन प्रविधिका अपरेटरहरुलाई यस्तो खोज तथा उद्दारको धेरै अनुभव छैन । यहाँका नदीमा यही प्रविधिको प्रयोगबाट उद्दार कार्यहरु गरिरहने अपरेटर भएको अवस्थामा डिभाइसले गरेका संकेतको अर्थ बुझ्न सहज हुने थियो ।