बीपीको स्मृति कि कांग्रेसको आत्मपरीक्षण ?

मंगलबार, ५ साउन २०८३

साउन ६ फेरि आएको छ । जननायक विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४३औँ स्मृति दिवस देशभर श्रद्धापूर्वक मनाइँदै छ। उहाँका तस्वीरमा माल्यार्पण भइरहेको छ, लोकतन्त्र, राष्ट्रिय मेलमिलाप र समाजवादका आदर्शबारे भाषणहरू भइरहेका छन्। तर यस वर्षको स्मृति दिवसले श्रद्धाञ्जलीभन्दा ठूलो एउटा प्रश्न उठाएको छ—के नेपाली कांग्रेसले साँच्चै बीपीलाई सम्झिरहेको छ, कि उहाँको नामलाई आ–आफ्नो राजनीतिक वैधताको आधार बनाइरहेको छ ?

यो प्रश्न यसकारण पनि गम्भीर बनेको छ कि विशेष महाधिवेशनपछिको नेपाली कांग्रेस अहिले आफ्नो इतिहासकै सबैभन्दा संवेदनशील मोडमा उभिएको छ। गगनकुमार थापाको नेतृत्वमा रहेको संस्थापन पक्ष, शेरबहादुर देउवा नेतृत्वको समूह र डा. शेखर कोइरालाको इतर पक्ष—यी तीनवटै धार पन्ध्रौँ महाधिवेशनलाई लिएर आमनेसामने छन्। तर यो विवाद केवल नेतृत्व चयनको प्रतिस्पर्धा होइनः महाधिवेशनको विधि, प्रक्रिया, समयसीमा, वैधानिकता र संगठनात्मक अधिकारको विषयमै उत्पन्न भएको गम्भीर असहमति हो। यही असहमतिले पार्टीलाई गुट र उपगुटमा विभाजित गर्दै संस्थागत संकटतर्फ धकेलिरहेको छ।

यसको सबैभन्दा प्रतीकात्मक अभिव्यक्ति यसपटक बीपीको ४३औँ स्मृति दिवस नै तीन ठाउँमा, तीन फरक समूहद्वारा, तीन फरक राजनीतिक सन्देशसहित मनाइनु बन्यो। जुन दिन एउटै संस्थापकको स्मृतिमा सम्पूर्ण कांग्रेस एउटै मञ्चमा उभिनुपर्ने थियो, त्यही दिन तीन फरक मञ्च, तीन फरक भाषण र तीन फरक शक्ति प्रदर्शन देखियो। यो केवल कार्यक्रमको भिन्नता होइनः यो कांग्रेसभित्र बढ्दो अविश्वास, ध्रुवीकरण र संस्थागत विचलनको सार्वजनिक अभिव्यक्ति हो ।
त्यसैले यस वर्षको बीपी स्मृति दिवस श्रद्धाको कार्यक्रमभन्दा बढी कांग्रेसको वर्तमान अवस्थाको ऐना बनेको छ।

पन्ध्रौँ महाधिवेशनको विवाद : नेतृत्वको प्रतिस्पर्धा कि संस्थागत संकट ?

लोकतान्त्रिक दलमा नेतृत्व परिवर्तन स्वाभाविक प्रक्रिया हो। फरक मत, फरक दृष्टिकोण र प्रतिस्पर्धा लोकतन्त्रका कमजोरी होइनन्ः ती लोकतन्त्रका प्राण हुन्। तर जब प्रतिस्पर्धा विधि र प्रक्रियाभन्दा माथि उठ्छ, जब विधानको आ–आफ्नै व्याख्या गरिन्छ, जब संगठनात्मक निर्णयहरू साझा सहमतिभन्दा शक्ति सन्तुलनका आधारमा हुन थाल्छन्, तब समस्या नेतृत्वको मात्र रहँदैनः संस्थाकै संकट बन्छ। आज नेपाली कांग्रेस यही मोडमा उभिएको छ।

पन्ध्रौँ महाधिवेशन कहिले, कसरी र कुन प्रक्रियाबाट हुने भन्ने विषय नै विवादको केन्द्र बनेको छ। परिणामस्वरूप पार्टीभित्र समानान्तर गतिविधि, छुट्टाछुट्टै रणनीति, अलग–अलग राजनीतिक सन्देश र समानान्तर शक्ति केन्द्रहरूको विकास भइरहेको देखिन्छ। बीपीको स्मृति दिवस पनि यही विभाजनको प्रतीक बन्यो।

यो यथार्थले एउटा गम्भीर प्रश्न जन्माएको छ—यदि संस्थापककै स्मृतिमा कांग्रेस एक ठाउँमा उभिन सक्दैन भने, भविष्यको राजनीतिक यात्रामा कसरी एक हुनेछ ?

बीपीको विचार : सम्झनाको विषय होइन, आत्मपरीक्षणको ऐना

बीपी कोइरालाको राजनीतिक जीवन सहज यात्राको कथा थिएन। जेल, निर्वासन, संघर्ष, जनआन्दोलन र अन्ततः राष्ट्रिय मेलमिलापको नीति—यी सबै निर्णय तत्कालीन समयमा विवादरहित थिएनन्। आफ्नै धेरै समर्थकले समेत उहाँको राष्ट्रिय मेलमिलापको नीतिको विरोध गरेका थिए।

तर बीपीले एउटा कुरा कहिल्यै त्याग्नुभएन—असहमतिलाई विभाजनको आधार होइन, लोकतन्त्रको शक्ति मान्ने संस्कार। उहाँका लागि नेतृत्वको वैधता गुट, भीड वा पदबाट प्राप्त हुने विषय थिएन। नेतृत्वको वैधता सिद्धान्त, त्याग, नैतिकता र जनविश्वासबाट आउँथ्यो।

बीपीले राजनीतिलाई सत्ता प्राप्तिको माध्यम होइन, राष्ट्र निर्माणको नैतिक अभियानका रूपमा परिभाषित गर्नुभयो। उहाँले लोकतन्त्रलाई निर्वाचनको प्रक्रियामा सीमित नगरी संवाद, सहिष्णुता, सहअस्तित्व र आत्मसंयमको संस्कृतिसँग जोड्नुभयो।

आजको कांग्रेसलाई यही ऐनामा हेर्दा एउटा असहज प्रश्न उठ्छ— के अहिलेको संघर्ष विचार र नीतिको हो, कि केवल नेतृत्व, संगठन र शक्ति नियन्त्रणको ?

यदि यो वैचारिक संघर्ष हो भने जनताले तीनै पक्षबाट स्पष्ट राजनीतिक दृष्टि र वैकल्पिक कार्यक्रम सुन्न पाउनुपर्छ। तर यदि विवाद केवल नेतृत्वको नियन्त्रण र शक्ति समीकरणको हो भने बीपीको नाममा मनाइने स्मृति दिवस आफैं एउटा विरोधाभास बन्छ।

तीनवटा स्मृति दिवस : श्रद्धाञ्जलीभन्दा ठूलो विडम्बना

लोकतन्त्रमा फरक मत हुनु कमजोरी होइन। तर जब मतभेद अविश्वासमा बदलिन्छ, अविश्वास ध्रुवीकरणमा रूपान्तरण हुन्छ र ध्रुवीकरण समानान्तर राजनीतिक संरचनामा विकसित हुन थाल्छ, तब संस्था कमजोर बन्छ।

यस वर्षको तीन–टुक्रे बीपी स्मृति दिवसले यही यथार्थलाई सतहमा ल्याएको छ। विडम्बना के छ भने राष्ट्रिय मेलमिलापका प्रणेता बीपीको स्मृतिमा आयोजित कार्यक्रमहरू स्वयं मेलमिलापको अभावका प्रतीक बने।

बीपीको नाम सबैले लिएका छन्, तर बीपीको राजनीतिक संस्कारलाई व्यवहारमा उतार्ने साहस कति जनाले गरेका छन् भन्ने प्रश्न अझ गम्भीर बनेको छ।

बीपी स्मृति दिवसले कांग्रेसलाई दिन सक्ने पाँच सन्देश

१) विभाजन शक्ति होइन, कमजोरी हो।

तीन ठाउँमा स्मृति दिवस मनाइनु कुनै उपलब्धि होइन, यो संस्थागत विघटनको सार्वजनिक स्वीकारोक्ति हो। एउटै संस्थापकको स्मृतिमा एउटै पार्टी विभाजित देखिनु कांग्रेसका लागि आत्ममन्थनको विषय हुनुपर्छ।

२) वैधताको स्रोत गुट होइन, सिद्धान्त हो।

आज प्रत्येक पक्ष आफूलाई नै ‘साँचो कांग्रेस’ को प्रतिनिधि प्रमाणित गर्न खोजिरहेको देखिन्छ। तर बीपीको राजनीतिक दर्शन स्पष्ट थियो—नेतृत्वको वैधता समर्थकको सङ्ख्याबाट होइन, विचार, नैतिकता र जनविश्वासबाट स्थापित हुन्छ।

३) मेलमिलापको साहस आफ्नै पक्षभित्रबाट सुरु हुन्छ

बीपीले आफ्नै समर्थकको असन्तुष्टि सहेर राष्ट्रिय मेलमिलापको नीति अघि सारेका थिए। आजका नेताहरूले पनि आफ्ना गुटगत स्वार्थभन्दा माथि उठेर पार्टीलाई पहिलो प्राथमिकता दिन सके मात्र उहाँको राजनीतिक संस्कारको सम्मान हुनेछ।

४) विधि र प्रक्रिया नै लोकतन्त्रको मेरुदण्ड हुन्

महाधिवेशन कुनै गुटको विजय सुनिश्चित गर्ने माध्यम होइनः त्यो पार्टीको लोकतान्त्रिक संस्कारको परीक्षा हो। यदि विधि र प्रक्रियामै सहमति बन्न सकेन भने महाधिवेशनले नेतृत्व त चयन गर्ला, तर पार्टीलाई थप कमजोर बनाउनेछ।

५) पुस्तान्तरण शक्ति प्रदर्शनबाट होइन, संस्थागत प्रक्रियाबाट हुनुपर्छ।

लोकतान्त्रिक दलको भविष्य व्यक्तिको लोकप्रियताले होइन, संस्थाको विश्वसनीयताले निर्धारण गर्छ। महाधिवेशन प्रतिस्पर्धाको वैध मञ्च हो तर त्यो प्रतिस्पर्धा विभाजनमा परिणत हुनु लोकतान्त्रिक संस्कारको पराजय हो।

यदि कांग्रेसले यही संकटलाई अवसरमा बदल्न सक्यो भने…

यद्यपि वर्तमान अवस्था निराशाजनक देखिन्छ, इतिहासले संकटलाई अवसरमा बदल्ने उदाहरणहरू पनि दिएको छ। यदि अहिले देखिएको विधि, प्रक्रिया र वैधानिकताको विवादलाई संवाद, सहमति र विधानसम्मत राजनीतिक संस्कृतिबाट समाधान गर्न सकियो, यदि गगन थापाको नेतृत्वमा रहेको संस्थापन पक्ष, शेरबहादुर देउवा समूह र डा. शेखर कोइरालाको इतर पक्षले गुटीय स्वार्थभन्दा माथि उठेर साझा संस्थागत सहमति निर्माण गर्न सके, त्यसपछि सम्पन्न हुने पन्ध्रौँ महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया रहने छैनस त्यो नेपाली कांग्रेसको वैचारिक पुनर्जागरणको ऐतिहासिक मोड हुनेछ।

त्यस्तो महाधिवेशनले कार्यकर्तामा नयाँ विश्वास जगाउनेछ। जनतामा कांग्रेसप्रतिको भरोसा पुनः स्थापित हुनेछ। पार्टीभित्र लोकतान्त्रिक नेतृत्व हस्तान्तरणको संस्कार बलियो हुनेछ। नयाँ पुस्ताले कांग्रेसलाई पुनः आशाको केन्द्रका रूपमा हेर्न थाल्नेछ। त्यस अवस्थामा कसले सभापति जित्यो भन्नेभन्दा ठूलो कुरा कांग्रेस आफैँ जित्यो भन्ने हुनेछ।

बीपीको वास्तविक सम्मान पनि त्यही हुनेछ—जहाँ प्रतिस्पर्धा हुन्छ, तर विभाजन हुँदैन–मतभेद हुन्छ, तर मनभेद हुँदैन–नेतृत्व बदलिन्छ, तर संस्था कमजोर हुँदैन।

निष्कर्ष : बीपीको नाम कि बीपीको बाटो ?

बीपी कोइरालाको ४३औँ स्मृति दिवसले यस वर्ष नेपाली कांग्रेसलाई एउटा कठोर तर आवश्यक प्रश्न सोधेको छ— के कांग्रेसले बीपीको स्मृति मनाइरहेको छ, कि उहाँको राजनीतिक दर्शनलाई व्यवहारमा उतारिरहेको छ ?

आज कांग्रेसको सबैभन्दा ठूलो चुनौती नेतृत्व चयन होइन, पन्ध्रौँ महाधिवेशनको विधि, प्रक्रिया र वैधानिकतामाथि उत्पन्न भएको अविश्वास हो। यही विवादले पार्टीलाई विभिन्न गुट–उपगुटमा विभाजित गर्दै संस्थागत संकटतर्फ धकेलिरहेको छ।

यस अवस्थामा बीपी स्मृति दिवसले कांग्रेसलाई स्पष्ट सन्देश दिन्छ—महाधिवेशन कुनै गुटको विजयको माध्यम होइन, त्यो लोकतान्त्रिक संस्कार, संस्थागत एकता र राजनीतिक परिपक्वताको परीक्षा हो।

यदि विधि र प्रक्रियाको विवाद समाधान नगरी महाधिवेशन अघि बढाइयो भने त्यसले नेतृत्व चयन त गर्ला, तर विभाजनलाई अझ गहिरो बनाउन सक्छ। तर यदि सबै पक्षले विधान, संवाद, सहमति र लोकतान्त्रिक मर्यादालाई केन्द्रमा राखेर साझा विश्वास निर्माण गर्न सके र त्यसको आधारमा पन्ध्रौँ महाधिवेशन सम्पन्न भयो भने, त्यो केवल सफल महाधिवेशन हुनेछैन ः त्यो बीपीको राष्ट्रिय मेलमिलापको दर्शनलाई व्यवहारमा पुनर्जीवित गर्ने ऐतिहासिक उपलब्धि हुनेछ ।

बीपीको जीवनले एउटा गहिरो सत्य सिकाउँछ— ‘राजनीतिमा सबैभन्दा ठूलो विजय प्रतिद्वन्द्वीमाथिको होइन, आफ्नै अहंकारमाथिको हुन्छ।’ आज गगनकुमार थापा, शेरबहादुर देउवा, डा. शेखर कोइरालासहित सम्पूर्ण कांग्रेस नेतृत्वले बुझ्नुपर्ने मूल सन्देश यही हो—नेतृत्वको विजयभन्दा पार्टीको एकता ठूलो हो, र पार्टीको एकताभन्दा लोकतन्त्रको भविष्य अझ ठूलो हो।

इतिहासले बीपीलाई सदैव सम्झिरहनेछ, किनकि उहाँले आफ्नो जीवन विचार, त्याग र मेलमिलापका लागि समर्पित गर्नुभयो। अब इतिहासले आजको कांग्रेसलाई कसरी सम्झिन्छ—बीपीको विरासतलाई नयाँ उचाइमा पुर्‍याउने पुस्ताका रूपमा, कि उहाँकै नाममा विभाजनलाई संस्थागत गर्ने पुस्ताका रूपमा—त्यो निर्णय पन्ध्रौँ महाधिवेशनभन्दा पहिले नै, महाधिवेशनको विधि, प्रक्रिया र लोकतान्त्रिक संस्कारप्रतिको व्यवहारले गर्नेछ।

४३औँ बीपी स्मृति दिवसको सबैभन्दा गहिरो सन्देश यही हो—विभाजन कसैको स्थायी शक्ति बन्न सक्दैन। विधि, प्रक्रिया, संवाद र सहमतिमाथि उभिएको कांग्रेस मात्र बी।पी।को सच्चा उत्तराधिकारी बन्न सक्छ। बी।पी।प्रतिको वास्तविक श्रद्धाञ्जली उहाँको तस्वीरमा फूल चढाउनु होइनस उहाँले स्थापित गरेको लोकतान्त्रिक संस्कारलाई व्यवहारमा उतार्नु हो।

त्यसैले, आज कांग्रेसले रोज्नुपर्ने बाटो एउटै छ—बीपीको नाम होइन, बीपीको बाटो।