पञ्चलाल महर्जनको जीवन फर्केर हेर्दा

शुक्रबार, २५ पौस २०८२

नेपालको इतिहासलाई नियाल्ने हो भने समय समयमा ठूल्ठूला क्रान्तिहरु भएका छन्, जस्ले व्यवस्था परिवर्तन गरेको छ । यसमा एक आन्दोलन हो, माओवादीको दश बर्षे शसस्त्र जनयुद्ध । त्यो आन्दोलन पनि त्यो समयको, एकप्रकारको जेनजी आन्दोलन नै थियो । तत्कालीन समयमा, तातो रगत भएका युवाहरुले बन्दुक उठाएर अभिब्यक्ति स्वतन्त्रता नल्याएको भए, आजको सामाजिक सञ्जाल नेताहरुको लागि सबैभन्दा ठूलो खबरदारी हुने सक्ने थिएन ।

हरेक क्रान्ति इतिहासको एउटा दस्तावेज हो । समय समयमा, बितेका क्रान्तिहरु सन्दर्भअनुसार स्मरण गरिन्छ । हालै भएको जेनजी आन्दोलनको आलोकमा, माओवादी जनआन्दोलनलाई स्मरण गर्दा, त्यतिबेलाको एक जेनजी थिए–पञ्चलाल महर्जन । उनको कथा कुनै क्रान्तिकारी चलचित्र र उपन्यास भन्दा कम छैन ।पञ्चलाल महर्जनको जन्म आज भन्दा सतचालीस वर्षअघि कीर्तिपुरको चोभारमा भएको थियो ।

पिता हिराभाई महर्जन र आमा दिलमाया महर्जनकी उनी माइला छोरा थिए । घरमा दाजु सुजीन्द्र, भाइ सुजीत र दिदीहरु हिरादेवी, चन्द्रमाया र सुर्यमायासहितको एक बडेमान परिवार थियो । गाउँमा बुबा श्रमलाई सत्कार गर्ने एक कृषक थिए । बुबा सिकर्मीसँगै कृषि उपजका काम पनि गर्नुहुन्थ्यो । उनी आउँथे बुबासँगै दही र तरकारी बेच्न, चोभारबाट पाँगा, नगाउँ र कीर्तिपुर ।

त्यही तरकारी ठूलो परिमाणमा बेच्नु पर्यो भने कीर्तिपुर साँघुरो लाग्थ्यो र पुग्थे कालिमाटीको ठूलो चउरमा । सानैदेखि बुबासँगै व्यापार गरी हिँडेकाले, बाटामा बुबालाई थकाइ लाग्दा बुबाको खर्पन काँधमा बोक्न उनी कहिले हिचकिचाएनन् । यसरी सानैदेखि बुबाको पसिना सापटी लिएर चलेको श्रमको जीवन उनको युवावस्थासम्मै चलिरहयो । घरमा कृषक परिवार भएकोले कृषि र पढाइ समानान्तर प्राथमिकतामा थियो । खर्पन र किताबको झोला आलोपालो बोकेर पञ्चलालको स्कुले जीवन अगाडि बढदै थियो । उनी स्कुल पढ्दा ज्ञानी स्वभावका थिए । पढाइमा उनी अब्बल थिए । अन्य विषयमा औसत भए पनि गणितमा भने उनको सँधै उत्कृष्ट अंक आउँथ्यो । विद्यालयमा शिक्षकले सबैलाई परीक्षाको परिणाम बाँडिसक्दा पनि उनलाई पुछारमा मात्र बाँड्नु हुन्थ्यो ।

उनी कक्षामा टपर भएको पछि मात्र खुलासा हुन्थ्यो । योसँगै उत्पात मच्चाइरहेको उनको धड्कन शान्त हुन्थ्यो । यसरी विद्यालय जीवनमा मेधावी छात्र हुँदै उनले बि.स. २०५० सालमा टौदह माध्यमिक बिद्यालयबाट आफ्नो एसएलसी छिचोले । एसएलसीलगतै नेपाल कानून कलेजमा आई एलमा भर्ना भए । आई एल सकाएर अधिवक्ताको लाइसेन्स लिए । यसअघि नै लेखनदासको लाइसेन्स निकालेर व्यवसायिक अभ्यास गर्न थालिसकेका थिए ।

उनी विद्यार्थी जीवनदेखि नै राजनीतिक गतिविधिमा सलंग्न थिए । कम्युनिष्ट भएर, एमाले पार्टीको समर्थक भए पनि मालेको विभाजनपछि उनी माओवादीलाई समर्थन गर्न पुगे । त्यही बेला ‘नेवा खल’ स्थापना भएकोमा कीर्तिपुर नगर कमितिको उनी सचिव भएका थिए । उनी मुद्दा मामिलामा अन्यायमा परेकाहरुलाई वैचारिक सहयोग गर्दै आफ्ना राजनीतिक गतिविधि अगाडि बढाउँदै थिए । बि.स २०६० साल कार्तिक महिनाको २५ गते उनको लागि अविस्मरणीय दिन थियो । त्यो बेला जनआन्दोलन उत्कर्षमा थियो ।

उनलाई गिरफ्तार गर्न ट्रक र भेनमा बिहानको १० बजे करिब बीस बाइस जनाको संख्यामा सुरक्षाकर्मी उनको घर घेराउ गर्न आएका थिए । उनी खाना खाएर घरको आँगन नाघेको मात्र थिए । सँयोग नै भनुँ, पञ्चलाल महर्जनको घर कहाँ हो ? भनेर सुरक्षाकर्मीले प्रश्न पनि उनलाई नै सोधेको थियो । आफ्नो घर आफैले देखाएर फटाफट हिँडेको पञ्चलालको भूमिगत यात्राको पहिलो पाइला नेपाली सेनाको ट्रक उछिनेर सुरु भयो । घरमा पञ्चलाल महर्जन नभेटिए पछि सुरु भयो उनको स्पेन्डर मोटरसाइकल, कप्प्युटर सेट, साउन्ड सिस्टम, नगद रकम र किटाबसमेत जफत ।

घरवरिपरिका सबै काउलीहरु सोतर पारिए । उनी यसरी बागमतीपारी सिकालीसम्म पुग्दा उनको मोबाइल तीनपटक अन अफ भएको थियो, त्यौ दौरानमा अनेकपटक उनलाई घर फर्कन फकाइयो, घुर्काइयो र धम्काइयो । उनलाई थाहा थियो, त्यो बेला आफूलाई सुरक्षाकर्मीको हातमा सुम्पनु भनेको मृत्युलाई निमन्त्रणा गर्नु हो । त्यही रातिको बाह्र बजे पञ्चलाल महर्जनको सबै आफन्तको घरमा सुरक्षाकर्मीले एकैसाथ छापा मारेका थिए । रातको बाह्रबजे उनको मामाघर, दिदीहरुको घर, ठूलीआमाको घर, फुपुको घर, नजिकका आफन्तको घरका भितेघडीका तिनटै सुइको स्थितिमा फरक नपर्ने गरी एकैसाथ खानतलासी गरेका थिए । आफन्तको घरमा उनलाई फेला पार्न सकेनन् ।

उनी बेपता भएपछि त्यही निहुँमा कार्तिक २७ गते उनको दाजु सुजीन्द्र र रामशरण महर्जनको दाजुृ देवबहादुर महर्जनलाई समातेर सुरक्षाकर्मीले अठार महिना बेपत्ता पारेका थिए । तिहारको मुखैमा, तीन दाजुभाइमा माइला बेपत्ता, जेठालाई समातेर लैजाँदा पञ्चलालको घरमा ढकमक्क फुलेका मखमली फूल ओइलाए । महर्जन परिवारमा त्यो साल कसैको पनि तिहार, तिहार जस्तो भएन । भाइ लिएर आऊ, दाजु लिएर जाऊ भन्नेखालको बार्गेनिङ्ग पञ्चलालका बुढो बाउ हिराभाइसँग कैयनपटक सुरक्षाकर्मीले गरे । दायाँ कलेजोको टुक्रो फालेर, बायाँ कलेजोको टुक्रा भर्न विचरा पसिना बेचेर खाने किसान बुबाले के सक्थे र रु नियतिको बाहुलाले गहको आँसु पुछेर बसे ।

तत्कालिन समाजको आँखामा क्रान्तिको दाग पनि फौजदारी अपराधको दाग जस्तो कालो हुन्थ्यो । कुरा काटने समाजको सामु निरक्षर बुबाआमाको मुण्टो खस्यो । एक छोरा बेपत्ता, अर्को छोरा कालकोठरीमा त्यो भन्दा ठूलो पीडा एउटा परिवारलाई के हुन्छ ? उता आर सि इन्टरनेसनलले जेलसम्म पहल नगरको भए बेपता पारिएका सुजिन्द्र जेलमै मारिने थिए ।

पूर्नजीवन प्राप्त गर्न सक्दासम्मको सुजीन्द्रको पनि आफ्नै एक लामो संघर्षपूर्ण कथा छ । यही भूमिगत जीवनको बेलामा पञ्चलालले भारतको हैदराबादमा एल एल एम गरे । भूमिगतकालमै उता मोहन बैद्य समातिँदा पञ्चलाल पनि बैद्यको वरिपरि नै थिए, तर उनी उम्किए । त्यो बेलाको पीडाको तौल, आदिनाथ मन्दिरमा बिहानै पहिलो घण्ट बजाएर, छोराहरुको जीवन माग्ने बाबुआमाले मात्र अनुभव गर्दा हुन् । माओवादी शान्तिवार्तामा आए पछि पञ्चलाल महर्जनलाई ६३ सालमा जनअदालतको प्रमुख बनाइयो ।

समानान्तर अदालतको कार्य गर्ने जनअदालतको कार्यालय ललितपुरको कुपण्डोलमा रहेको थियो । जम्मा १७ दिन काम गरेका जनआन्दोलनमा १७ सयजति मुद्दा दर्ता भए । जस्मा ११–१२ सय सुनुवाइ भएको अनुभव पञ्चलाल महर्जन बताउँछन् । जनअदालतको बैधानिकताको सवालमा संसदमा प्रोपोगण्डा भयो । राजनैतिक जटिलता सृजना भएपछि, आफ्नै पार्टी अध्यक्षको निर्देशनमा जनअदालत विघटन गरियो । अदालतमा दसौ वर्ष लागेका मुद्दाहरु दश दिनमा सुनुवाइ गरेको गौरवशाली अनुभव उनीसँग छ ।

उनी सँधै अन्यायकै विरोधमा रहे । अन्यायको विरुद्धमा उनको आवाज सानैदेखि नै बुलन्द रहयो । फलस्वरुप कैयनपटक आफ्नै जीवन उनलाई उपहार जस्तो प्राप्त भयो भन्दा अत्युक्ति नहोला । सामुदायिक हितको लागि जस्तो बलिदान गर्न पनि तत्पर हुने पञ्चलालका जीवनमा संघर्षका असरल्ल किस्साहरु छन् । एक रोचक प्रसंग यहाँनिर उल्लेख गर्न सान्दर्भिक होला । बि।स २०५६ सालको कुरा हो । तत्कालीन समयमा चोभारस्थित हिमाल सिमेन्ट कारखनाको प्रशासनले मध्यान्हको ४ः१५ देखि ४ः३० मा मुख्यमार्ग नै अवरुद्ध गरेर, साइरन बजाएर ठूलो विस्फोट गराउँथ्यो । जस्को आवाजले समूदायमा भूकम्प गएतुल्य कम्प हुनेमात्र होइन, कुहिरो लागेर दिन पनि रात जस्तो कालो हुन्थ्यो ।

यस्तो दिनदिनको प्रदुषण सहन नसकेपछि वातावरण कानुन पढेको नाताले आफ्ना दाजृु सुजीन्द्र महर्जनको संयोजकत्वमा ‘वातावरण संरक्षण संघर्ष समिति’ गठन भयो । ज्ञापनपत्र, धर्ना, विरोध र फोटो प्रदर्शन जस्तो अनेक प्रदर्शन गरे । राज्यसँग स्थानीय केही युवाले गरेको त्यो आन्दोलन घरमा पाक्ने आफ्नै रोटीको विरुद्धमा पनि थियो । आन्दोलनलाई सतहीरुपमा हेर्दा, आँखाले हेर्दा, आफ्नो चुहलो आफैले फुकेर निभाएको जस्तो पनि देखिन्छ । तत्कालीन समयमा प्रदुषण विरुद्धमा चोभारका केही युवाले सुरु गरेको त्यो आन्दोलन निकै चुनौतिपूर्ण थियो । मिसन र भिजन भएको पञ्चलालको टिमले अन्ततः साहस बटुलेर छापामार शैलीमा उद्योगमा जाने पानीको पाइप नै काटेर उत्पादन अवरुद्ध गरेका थिए । त्यो आन्दोलनमा झन्डै ५६ जना जति स्थानीय युवालाई समातेर गिरफ्तार गरिएको थियो । अन्ततः ५ बुँदे सम्झौता भयो । बि।स २०५८ मा हिमाल सिमेन्ट उदयपुरमा स्थानान्तरण भयो र चोभारमा सँधैको लागि बन्द भयो ।

हिमाल सिमेन्ट उद्योग बन्द त भयो तर स्थानीय रोजगारको सवालमा प्रश्न आउन थाल्यो । उद्योग बन्दसँगै कैयन स्थानीय मानिसले रोजगारी गुमाएका थिए । त्यो बेला ‘तिमीहरुले हाम्रो रोजगारी खोस्यो’ भनेर कैयन आरोप पनि लगाएका थिए । आफ्ना बाबुबाजेले समेत गाली गरेको तीतो अनुभव उनीसित छ । चोभारमा प्रदुषित उद्योग बन्द भए पनि हरित पर्यटकीय हव बनाउन सकिन्छ भन्ने परिकल्पनासहित नै त्यो आन्दोलन अगाडि बढाइएको थियो । आखिर त्यो परिकल्पना कार्यन्वयन पनि भयो । आज त्यही ठाउँमा मञ्जुश्रीको ३६ (करिब ११ मिटर) फिट अग्लो मूर्ति प्रतिस्थापित भएका छन् भने त्यही ठाउँमा मञ्जुश्री पार्क र चिल्डेन पार्कलगायत चालीस बयालीस वटा पिकनिक स्पट नै निर्माण भएका छन् । केही दर्जन स्थानीयले रोजगारी गुमाएको चोभारमा आज सयौंले प्रत्यक्ष रोजगारी पाएका छन् भनेर कैयन व्यवसायीहरुले व्यवसाय गरेर आफ्नो जिविका चलाइरहेका छन् ।

पञ्चलाल महर्जनले स्थानीय समुदायको हितको लागि धेरै ठाउँमा आवाज उठाएका छन् । त्रिविविरुद्धको आन्दोलनलाई अझै पनि स्मरण गरिन्छ भने हालै चोभारको गल्छी काटने विषयमा उनले उठाएको आवाज सबैको कानमा आलै छ । यति मात्र होइन, चोभारमा सुख्खा बन्दरगाह बनाउनु हुँदैन भनेर तत्कालीन एमाले प्रधानमन्त्रीको विपक्षमा आवाज बुलन्द गरेका थिए । आफ्नै प्रधानमन्त्रीको विरोधमा आफू उभिएको नजिर पेश गर्दै स्थानीय नेताहरुलाई उभिन उनले त्यो बेला झकझकाएका थिए । हो, केशव स्थापितले सुकुम्बासीलाई चोभारमा स्थानान्तरण गर्ने सवालमा उनी कसैको पनि दबाबमा नपरिकन दह्रो उभिएका थिए ।

गुठी संस्थानको अध्यक्ष र प्रशासकका रुपमा कार्यरत हुँदा बेथितिविरुद्ध १९ दिनको संघर्षपछि प्रधान कार्यालय नै नभएको संस्थानलाई अर्बौको जग्गा एवम् भवन फिर्ता गराई सञ्चालनमा ल्याएका थिए । जनकपुर, काठमाडौं, ललितपुर, भक्तपुर र नवलपरासी र खोटाङलगायत काठमाडौं उपत्यकाको जिल्लामा अतिक्रमित अबौंका गुठी जग्गा फिर्ता गराउन उनी सफल भएका थिए ।

आज चोभारमा सञ्चालित ‘मञ्जुश्री पार्क’ र ‘चिल्डेन पिकनिक पार्क’को सञ्चालनमा सल्लाहकारको भूमिका रहेको थियो भने ‘नाइट पार्क’ सञ्चालन गरेर लाखौ चाइनिज पर्यटक भित्रयाउने विराट लक्ष्य लिएर प्रशासनिक स्वीकृतिमा छन् । त्यसै गरी समुदायको सांस्कृतिक, सामुदायिक र शैक्षिक सम्पदा संरक्षणमा पनि उनको भूमिका अतुलनीय रहँदै आएको छ ।

‘राजनीति व्यापार होइन, सेवा हो’ भन्दै राजनीति गरिरहेका पञ्चलाल महर्जनकी श्रीमति सुनिता शाक्य आज कीर्तिपुर नगरपालिकाको उपप्रमुख छिन् । दम्पतिको सन्तानको रुपमा छोरा स्वर्णिम महर्जन र छोरी सुम्निमा महर्जन छन् । रोचक कुरा, अन्य नेताका छोराछोरी जस्तो उनकी छोरी कहाँ पढछिन् भनेर खोजी गरे ‘युलेन्स’मा भेटिन्दै्रन । सानी छोरी कीर्तिपुरकै एक सरकारी बिद्यालयमा पढदै छिन् । कीर्तिपुरको डेरामा बस्ने केटाकेटीसँग बेन्च सेयर गरिरहेकी पञ्चलालकी छोरी देखे उनको इमान्दारितामा विश्वास गर्न सकिन्छ ।

त्यसैगरी छोराले पनि कीर्तिपुरकै लेबोरेटरी विद्यालयबाट एसईई छिचोलेको थियो । यस्तै–यस्तै उदाहरणीय कामले गर्दा, उनी हाल प्रतिनिधि सभाको चुनावका लागि नेकपाबाट एकल सिफारिसमा परेका छन् । तीनपटक विजयी भएर राजन केसीले राजनैतिक बिश्राम लिएको यो बेला, राजन केसीकै भूगोलबाट प्रतिनिधित्व गर्न गएका युवा उम्मेदवार पञ्चलाललाई, यो पटकको चुनावमा काठमाडौं क्षेत्र नं १० को दाबेदारको रुपमा हेरिएको छ ।