आज पाँचवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं – संघीय संसद् अन्तरगत आज पाँचवटा संसदीय समितिको बैठक बस्दै छ । बिहान १० बजे कानुन, न्याय तथा मानव अधिकार समितिको, बिहान ११ बजे महिला तथा सामाजिक मामिला समिति, लेखा समिति, दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने छ ।
बिहान १० बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैकठमा नेपालको बाल सुधारगृहमा रहेका बालबालिका र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानवअधिकारको अवस्थाका सम्बन्धमा स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा देशको समग्र विकासको मूलप्रवाहमा आउन नसकेका जाति, वर्ग तथा समुदायको ‘सूचनाको हक’ सम्बन्धमा राष्ट्रिय सूचना आयोगसँग छलफल हुनेछ भने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुने कार्यसूची रहेको छ ।
दिउँसो १ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ । दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्नेछ । बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल हुने संसद् सचिवालयले जनाएको छ ।