सफलतामा शंका नगर
काठमाडौं – एकपटक विश्वविजयी सम्राट् नेपोलियन बोनापार्टले आफ्ना सिपाहीलाई एउटा युद्ध लड्न आदेश दिए । तर, तत्कालीन परिस्थितिको विश्लेषण गर्दा नेपोलियनको सेनाले युद्ध जित्न लगभग असम्भवजस्तै थियो । किनकि, शत्रुपक्षसित उनीहरूको भन्दा तीनगुणा बढी सैनिक थिए ।
आफ्नो शक्ति कमजोर छ भन्ने थाहा हुँदाहुँदै नेपोलियनले युद्ध लड्न आदेश दिएपछि उनका सेनापति अलमलमा परे । उनलाई जित्न नसकिने युद्ध लडेर आफ्नो शक्ति कमजोर गराउनु ठीक लागेन । त्यसैले, उनले नेपोलियनसामु निहुरिएर भने– महामहिम, हजुरले दिएको आदेशअनुसार हामी लड्न तयार छौँ, तर…..।
उनको भनाइ बीचमै रोक्दै नेपोलियनले प्रतिप्रश्न गरे– तर ? तर के सेनापति ? तिमी के भन्न चाहन्छौ ? प्रस्ट भन । सेनापतिले थप झुक्दै भने— हामीसित भन्दा शत्रुपक्षसित तीनगुणा बढी सैनिक छन् । यस्तोमा हाम्रो हार अवश्यंभावी छ । हार निश्चित छ भन्ने जान्दाजान्दै युद्धमा सरिक हुनु बुद्धिमानी ठहर्दैन कि ?
सेनापतिको जवाफ सुनेपछि एकैछिन मौन रहेर नेपोलियनले भने– तिमीले युद्ध सुरु नगर्दै हारिसक्यौ सेनापति ! सफलतामा शंका गरेर तिमीले आफैँलाई कमजोर बनायौ । किनकि, सफलतामाथि शंका गर्नु आफूले आफैँलाई कमजोर तुल्याउनु हो । भैगो, छोडिदेऊ । तिमी युद्धमा सरिक नहोऊ । म नै युद्धमा जान्छु । सेनापतिलाई राजधानीमै छाडेर युद्धभूमिमा गएका नेपोलियन केही दिनमै विजयको झन्डा फहराउँदै फर्किए ।