विदेशीने विद्यार्थी रोक्न आईप्यानको माग

शुक्रबार, १८ साउन २०८१

काठमाडौं – अध्ययनका लागि विदेशीने विद्यार्थीलाई रोक्न अन्तर्राष्ट्रिय शिक्षा प्रदायक संघ, नेपाल (आईप्यान)ले माग गरेको छ । ‘विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने सम्बन्धी निर्देशिका, २०५९’ संशोधन विज्ञ समितिलाई पत्र लेख्दै आईप्यानले विदेशीने विद्यार्थीलाई रोक्न माग गरेको हो ।

२०८१ साल बैशाखमा समितिलाई पठाएको पत्रमा नेपालबाट विद्यार्थी विदेशीदा ठूलो आर्थिक भार परेको, नेपालका शैक्षिक संस्थाहरु विद्यार्थी विहिन भएको, विदेशीने विद्यार्थीहरुले गुणस्तरिय शिक्षा प्राप्त नगरेको लगायतका आरोप लगाइएको छ । आईप्यानका अध्यक्ष लक्ष्मण केसीले बुझाएको पत्रमा विदेशीने विद्यार्थीलाई रोकेर नेपालमा अध्ययन गर्ने विद्यार्थीलाई सहुलियत दिन माग गरेका छन् ।

केसीले विदेशीने विद्यार्थीलाई दिने शैक्षिक कर्जामा कडाई गर्न, शैक्षिक कर बृद्धि गर्न, सिमित विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई मात्र एनओसी दिन र भोकेशनल तथा भाषा अध्ययनका लागि एनओसी नदिन सुझाव दिएका छन् । उनले समितिलाई दिएको पत्रमा नेपालमा अध्ययन गर्ने विद्यार्थीलाई पनि शैक्षिक कर्जाको व्यवस्था गर्न तथा विदेशीने विद्यार्थीलाई दिइदै आएको कर्जालाई ५० प्रतिशतमा झार्न सल्लाह दिएका छन् ।

साथै, आईप्यानले विदेशीने विद्यार्थीलाई शैक्षिक कर्जा प्रवाह गर्दा ट्युसन फिसको ५० प्रतिशतमात्र प्रवाह गर्नुपर्ने, विदेशी मुद्रा सटहिका लागि सरकारले लिने ३ प्रतिशत करलाई बढाएर पाँच प्रतिशत बनाउनु पर्ने, १ हजार र्याङ्किङ भित्रका विश्वविद्यालयमा अध्ययनका लागि जाने विद्यार्थीलाई मात्र एनओसी दिनुपर्ने र भोकशनल कोर्ष तथा भाषा शिक्षणका लागि जाने विद्यार्थीको एनओसी रोक्न माग गरेको छ ।

८ पृष्ठ लामो पत्रमा आफ्नो समस्या कम, विदेशीने विद्यार्थीलाई रोक्न बढी जोड गरिएको छ । समितिले तयार पारेको प्रतिवेदनमा केसीको पत्रलाई महत्वका समावेश गरिएको छ । आईप्यान विदेशी विश्वविद्यालयको सम्बन्धनमा कलेज संचालकहरुको संस्था हो । नेपालमा विदेशी विश्वविद्यालयको सम्बन्धन लिएर संचालनमा रहेका ८७ वटा कलेजहरु रहेका छन् । नेपालमै विश्वस्तरको शिक्षा दिइरहेको उनीहरुको दावि छ ।