गौतमबुद्ध विमानस्थलबाट एयर एसियाले नियमित उडान भर्ने
रुपन्देही – रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयर एसियाले बैंकक–भैरहवा उडान गर्ने भएको छ । बिहीबार भएको सम्झौता अनुसार थाई एयरले हप्तामा ४ दिन उडान गर्ने भएको हो ।
बिहीबार नागरिक उड्डयन प्राधिकरणले बैंकक मुख्यालय भएको यो एयरलाइन्सलाई भैरहवाको उडानको अनुमति दिएपछि लामो समय सुस्ताएको यहाँको पर्यटन क्षेत्रमा उत्साह आउने व्यवसायीको अपेक्षा रहेको छ । थाई एयर एसियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएपछि यहाँका व्यवसायी र स्थानीयमा उत्साह छाएको हो ।
२०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विमानस्थल उद्घाटन गरेका थिए । त्यही बेलादेखि कुवेतको जजिरा एयरवेजले पहिलो वायुसेवाका रूपमा नियमित अन्तर्राष्ट्रिय उडान गरेपनि उडान नियमित हुन सकेन । लुम्बिनी भ्रमण गर्ने तेस्रो मुलुकका पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक थाइल्याण्डबाट नै आउने गरेकाले पनि यो विमानस्थलमा थाई एयरले आफ्नो विजनेश बढाउन सक्नेदेखिन्छ । लुम्बिनी विकास कोषको तथ्याङ्कअनुसार २०२४ को जनवरीदेखि जुलाईसम्म मात्रै लुम्बिनी आएका ५३ हजार ८ सय ९१ पर्यटकमध्य सबैभन्दा बढी थाइल्याण्डबाट १२ हजार ४ सय ४२ जना आएका छन् ।
नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार नेपालमा बढी पर्यटक आउने आठौँ मुलुकमा थाइल्यान्ड पर्छ । सन् २०२३ मा २५ हजार पर्यटक आएका थिए । ती पर्यटकमध्ये बढी बौद्ध धर्मावलम्बी रहेको पर्यटन बोर्डको तथ्याङ्क छ । थाई एयर एसियाको भैरहवामा हुने सिधा उडानले यस क्षेत्रको पर्यटकीय विकासमा सकारात्मक प्रभाव पार्नेछ ।