प्रचण्ड र हसिनालाई सत्ताबाट सडकमा पुर्याउने एउटै ‘समुद्रपारिको शक्ति’ रहेको गम्भीर खुलाशा

आइतबार, २७ साउन २०८१

काठमाडौँ – नेपालका कतिपय नेताहरु आफ्नो उत्थान र अधोगतिमा बाह्य चलखेल कारक हो भन्ने कुरा जुन हदसम्म विश्वास गर्छन्, त्यति विश्वास त स्वयं आफ्नै क्षमता र अक्षमतामाथि पनि गर्दैनन् । अघिल्लो महिना प्रधानमन्त्री गुमाएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार यस्तै दाबी गरे ।

माओवादी पार्टी  पदाधिकारीका अनुसार प्रचण्डले बैठकमा  ‘तपाईंहरुले भर्खरै बंगलादेशमा शेख हसिना वाजेदलाई भाग्न विवश बनाइएको घटना देख्नुभयो होला । झट्ट हेर्दा त्यहाँ आन्दोलन भएपछि उनी भागेकोजस्तो देखिन्छ, त्यो सत्य होइन । यसमा समुद्रपारिको शक्ति लागेको छ । र, तपाईंहरु यो पनि बुझ्नुहोला, समुद्रपारिकै शक्तिले मलाई पनि अस्ति प्रधानमन्त्रीबाट हटाउन भूमिका खेल्यो । त्यसैले लडाईं सामान्य छैन । हामीले त्यसको तयार गर्नुपर्छ । त्यो भनेको चुनावसम्म पुग्दा बलियो शक्ति बन्ने र यी सबलाई जवाफ दिने हो ।’ भनेका छन्।

प्रचण्डले तीनपल्ट समुद्रपारिको शक्ति भनेर नाम लिए पनि ‘संयुक्त राज्य अमेरिका’ भनेर किटेनन्, जबकि अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा आफूले हस्ताक्षर गर्न नमानेकाले प्रतिकुलता सिर्जना भएको प्रष्ट भनिदिए ।नेपालका तीन छिमेकीमध्ये संकेतमा भारतलाई ‘दक्षिण’, चीनलाई ‘उत्तर’ अनि अमेरिकालाई ‘समुद्रपारि’ भनेर बुझ्ने गरिन्छ ।