सहकारीले ठग्यो १ करोड ३६ लाख, उपचार गर्ने ५ लाख नहुँदा मृत्यु

आइतबार, २७ साउन २०८१

काठमाडौं – बचत रकम फिर्ता नपाएका कारण एक सहकारी पीडितको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३१ शंखमुलका स्थायीवासिन्दा ७१ वर्षीय राजेन्द्र स्थापितको उपचार क्रममा रकम अभाव हुँदा मृत्यु भएको हो ।

उनको मृत्युपछि सहकारी पीडितहरूले नक्कली शव बोकेर विरोध प्रदर्शन गरेका छन् । मृतक स्थापितको उपचार क्रममा रकम अभाव हुँदा निधन भएपछि सहकारी पीडितले नक्कली शव बनाएर शान्तिवाटिका हुँदै सहिदगेटबाट परिक्रमा गराएर सांकेतिक विरोध गरेका हुन् । पारिवारिक स्रोतका अनुसार न्युरोडस्थित युवा विकास बहुउद्देश्यीय सहकारीमा १ करोड ३६ लाख रुपैयाँ बचत गरेका उनको रकम अभावमा उपचार हुन नसकेकाले ज्यान गएको हो ।

मस्तिष्कघात भएपछि उपचारका लागि वीर अस्पताल पुर्‍याइएका स्थापितको अस्पतालमा राख्नुपर्ने धरौटी रकम राख्न नसक्दा उपचारमा ढिलाइ भएर निधन भएको हो । स्थापित पछिल्लो एक वर्षभन्दा लामो समयदेखि सहकारीको बचत रकम फिर्ता गर्न माग गर्दै आन्दोलनमा थिए । माइतीघरमा लामो समय धर्नामा बसेका स्थापितको रकम अभावका कारण अस्पतालले समयमा उपचार नगर्दा निधन भएको सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान महासंघ प्रवक्ता पुरुषोत्तम कार्कीले बताए ।

आइतबार महासंघका संयोजक कुशलव केसीको नेतृत्वमा भएको उक्त प्रदर्शनमा राष्ट्रिय मुक्ति क्रान्तिका अभियन्ता केशव झा, मुक्ति क्रान्ति नेवाः राष्ट्रिय परिषद् संयोजक सुमन सायमी, उपत्यका विशेष ब्युरो संयोजक रविन्द्रकुमार श्रेष्ठसहित सयौंको उपस्थिति थियो । हातमा प्लेकार्ड लिएका प्रदर्शनकारीले कफन बाँधेर नक्कली लाशको बाकस बोकेका थिए । स्थापितको घटनाबारे सकारी पीडितले प्रहरी वृत्त जनसेवामा जाहेरी दिएका छन् ।