पाठ्यक्रम विकास केन्द्रमा अख्तियारको दुरुपयोग, प्रशासन प्रमुखले बनाउँछन् नक्कली बिल

आइतबार, २ भाद्र २०८१

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगतको पाठ्यक्रम विकास केन्द्रमा चरम अनियमितता हुने गरेको पाइएको छ । केन्द्रका महानिर्देशकको आँखा छलेर विभागिय प्रमुखहरुले अख्तियारको दुरुपयोग गर्दै अनियमितता गरेको पाइएको हो ।

केन्द्रको नाममा रहेको बा २ ब ७५९० (इम्बोस्ट नम्बरः ३४४७) नम्बरको एभेन्जर बाइक (मोटरसाइकल) नेपाल सरकारका उपसचिव विमला रोका श्रेष्ठले दुरुपयोग गर्दै पेट्रोल तथा मर्मत सम्भारको फर्जी बिल पेस गरेपछि यस्तो तथ्य खुलेको हो । केन्द्रकी प्रशासन प्रमुखसमेत रहेकी उनले उक्त बाइक श्रीमान्लाई प्रयोग गर्न दिएर दुरुपयोग गरेकी हुन् ।

ड्राइभिङ लाइसेन्ससमेत नभएकी उनले लामो समयदेखि लगातार केन्द्रबाट इन्धन प्रयोग गर्दै आएको श्रोतको दावि छ । ‘हामीले बारम्बार उहाँलाई यसो नगर्नुहोस् भन्दा मान्नुभएन ।’, केन्द्र निकट गोप्य श्रोतले भन्यो, ‘पूर्वडिजी सापबाट उहाँले मोटरसाइकल बुझेकाले फिर्ता गर्न मान्नु् भएको छैन् । अब फिर्ता गरेर मात्र हुँदैन । फर्जी बिलको छानविनसमेत हुनुपर्छ ।’

उपसचिव श्रेष्ठले भने आफूले मोटरसाइकल प्रयोग गरिरहेको स्वीकारेकी छन् । ‘…तपाईंले दुरुपयोग गरेको भन्नुभयो । आउनु न अफिसमै बसेर कुरा गरौं । कसरी दुरुपयोग भएको रहेछ ।’, मोटिभेट न्यूजसँगको टेलिफोन सम्बादमा उनले भनिन् । केन्द्रले योसँगै कमिसनको चक्करमा अदालतको आदेश विपरितका पुस्तक प्रकाशन गर्ने, विज्ञ छनोटमा धाधली गर्ने, बजार भाउभन्दा महङ्गो मूल्यमा पुस्तक प्रकाशन गर्ने गरेको समेत बुझिएको छ । थप अध्ययनपछि यस सम्बन्धी सामाग्री प्रकाशन गर्नेछौं ।