प्रेरक प्रसंग : ध्यानको शक्ति
काठमाडौं – खलिफा उमर एक निकै अद्भूत व्यक्ति थिए । एकपटक उनी युद्धमैदानमा थिए । उनलाई एउटा तीर हानियो । तीर उनको शरीरमा घुस्यो । शरीरको भित्रैसम्म घुसेकाले त्यसलाई निकाल्न निकै गाह्रो हुन्थ्यो । निकाल्नका लागि खलिफा उमरले अत्यधिक पीडा झेल्नुपर्ने हुन्थ्यो ।
चिकित्सकहरु अब के गर्ने भनेर आत्तिइरहेका थिए । खलिफाका सम्बन्धिहरुले चिकित्सकलाई सल्लाह दिए– ‘बिहान जब उमर नमाजमा बस्छन् त्यस बेला तीरलाई तानेर निकाल्न सकिन्छ । उनले थाहै पाउँदैनन् ।’ खलिफा उमर बिहान नमाज पढ्न बसेका थिए । त्यहीबेला उनको तीर निकालियो । उनलाई थाहा भएन । त्यसबेला उनको ध्यान अन्तै थियो ।
वस्तुतः जहाँ हाम्रो ध्यान हुन्छ केवल त्यही सत्ताको हामीलाई बोध हुन्छ । त्यसबेला अन्य सत्ताको हामीलाई बोध भएन । हाम्रो ध्यान भित्रतर्फ छैन । हाम्रो ध्यान बाहिरतिर छ । त्यसैले बाहिरी संसारको त हामीलाई ज्ञान हुन्छ, भित्रको हुँदैन । हाम्रो ध्यान शरीरतर्फ हुन्छ त्यसैले हामीलाई शरीरका बारेमा थाहा हुन्छ । आत्माका बारेमा थाहा हुँदैन । यस्तो अवस्थामा मानिसहरुले आत्मा छ भनेर सोच्ने गर्छन् । उनीहरुलाई यतिमात्रै भन्न सकिन्छ– आत्मा त अवश्य छ तर त्यसतर्फ ध्यान छैन ।
यस कुरातर्फ ध्यान दिनुहोस् । जसतर्फ तपाइँको ध्यान हुन्छ केवल त्यही सत्ताको बोध हुन्छ । अन्य कुनै बोध तपाइँलाई उपलब्ध हुन सक्दैन । हाम्रो ध्यान भित्रतर्फ छैन । हाम्रो पुरै ध्यान बाहिरतिर बाँडिएको अवस्थामा छ । एक चीज हाम्रो ध्यानबाट हट्छ त्यही बेला अर्को आउँछ । दोस्रो हट्छ तेस्रो आउँछ । हामीलाई भित्रतर्फ ध्यान पु¥याउने कुनै बिराम प्राप्त हुँदैन त्यसैले बाहिरको असन्तोषले हाम्रो ध्यानलाई भित्र आउन दिँदैन ।
जीवनप्रति असन्तोष हुनु आवश्यक छ । त्यसबेला ध्यानको भारा भित्रतर्फ आउन सुरु हुन्छ ।