प्रेरक प्रसंगः मान्छेले आफ्नो शक्ति चिन्न नसक्दा
काठमाडौं–एउटा घना जंगलमा एक सिंहको जोडी बस्थ्यो । केही समयपछि सिंहनीले बच्चा जम्माई । त्यो एकदमै सानो थियो । सिंहका जोडी बच्चालाई त्यही छाडेर टाढा शिकारमा गएका थिए । उनीहरु आउन धेरै ढिला भयो । बच्चा भोक खप्न नसकेर एक्लै बाहिर निस्कियो । बच्चाले खाना त पायो ।
त्यहाँ एक जोडी भेडा थियो । त्यो भेडीले भर्खरै पाठी पाएकी थिई तर त्यो अचानक मरेको थियो । भेडीलाई त्यस बच्चाको दया लाग्यो आफ्नो दूध खुवाउन थाली । सिंहको बच्चा भोकले आलसतालस परेकाले दूधको स्वाद केही फरक भए पनि चुपचाप खायो ।
त्यस भेडीलाई नै आमा सम्झेर उनीहरुसँगै रहन थाल्यो । भेडाको जात नै डरपोक हुने भएकाले त्यो सिंहको बच्चा पनि एकदमै डरपोक भयो । साथै त्यो भेडाको संगतले गर्दा सोझो पनि भयो । त्यसलाई म सिंहको बच्चा हुँ । मसँग शक्ति छ भन्ने ज्ञान नै भएन । केही समयपछि त्ये सिंहको बच्चा ठुलो भयो ।
भेडाकै बथानमा बसिरहेको बेलामा त्यसले जंगलमा ठुलो गर्जनका साथ सिंह गर्जेको आवाज सुन्यो । त्यसको सिको गर्दै ऊ पनि बिस्तारै गर्जन थाल्यो । त्यसको गर्जनको आवाज सुनेर भेडाहरु अचानक भाग्न थाले । सिंहको बच्चा गर्जदैं सिंहको बथानमा गयो । त्यसलाई म सिंह हुँ भन्ने कुराको ज्ञान भयो र सिंहकै बथानमा बस्न थाल्यो ।
हामीमध्ये धेरै मानिस आफ्नो जीवनमा सिंह जस्तै समान छौं । वास्ताविक शक्तिको पहिचान गर्न नसकेको कारण भेडाको हुलमा बस्न विवश छौं । सिंहको जस्तो शक्ति भएर पनि भेडा भएर बाँचेका छौं । हामीले आफ्नो वास्ताविक शक्तिलाई चिन्न सकेका छैनौं । प्रत्येक मानिसमा सिंहसमान शक्ति र सामथ्र्य छ तर उसले चिन्न सकेको छैन । यसकारण आफ्नो शक्तिको पहिचान नहुँदा हामी निरीह भएका छौं ।