चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार लचक बन्दै
बैशाख १७ काठमाडौं- नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीप्रति सरकार लचक बन्दै गएको पाइएको राजधानी दैनिकले समाचार छापेको छ । प्रहरीले पक्राउ गरेर ल्याएका विप्लव नेतृत्वको पार्टीका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि सरकारले लचकता अपनाउन थालेको हो ।आपराधिक र विध्वंसात्मक गतिविधिमा संलग्न भएको भन्दै गत २८ फागुनमा राजनीतिक रूपमा कुनै पनि गतिविधि गर्न नपाउने गरी विप्लव नेतृत्वको नेकपामाथि सरकारले प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
स्रोतका अनुसार बिनाकारण पक्राउ परेका विप्लवका नेता कार्यकर्तालाई अदालतले धमाधम छाड्न आदेश दिन थालेपछि प्रहरीले समेत बिनाकारण विप्लव निकट नेता कार्यकर्तालाई पक्राउ गर्न छाडेको छ । प्रहरीले सरकारले लगाएको प्रतिबन्धपछि सो समूहका नाममा कुनै पनि गतिविधि सञ्चालन गरिएको पाइए पक्राउ गर्न भन्दै ७७ वटै जिल्लाका आफ्ना मातहतका निकायलाई निर्देशनसमेत दिएको थियो ।
प्रहरीले प्रतिबन्धयता सोमबारसम्म २ सय ९१ जना नेता कार्यकर्तालाई पक्राउ गरेको बताएको छ । यसबीचमा प्रहरीले कुनै पनि घटनामा संलग्नता नदेखिएको भन्दै १ सय ४९ जनालाई छाडेको जनाएको छ । गृहमन्त्रालयका प्रवक्ता रमकृष्ण सुवेदीले भने सरकारले जे निर्णय गरेको छ सोहीअनुसार हुने जनाए । ‘सरकारले पहिले जे निर्णय गरेको थियो, त्यही हो, अहिले अर्को दोस्रो निर्णय भएको छैन, निर्णयअनुसार नै हुन्छ,’ गृह मन्त्रालयका प्रवक्ता सुवेदीले राजधानीसँग भने । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले प्रहरीले विप्लव समूहका नेता कार्यकर्ता हुँदैमा बिनाकारण कसैलाई पक्राउ नगरिएको र नगर्ने बताए ।