यी दुई भाईका कारण फेरी अड्कियो सरकार पुनर्गठन

सोमबार, १० भाद्र २०८१

काठमाडौँ –  केन्द्रमा सत्ता गठबन्धन परिवर्तन भएर कांग्रेस-एमाले सरकार बनेको साढे एक महिना बितिसक्दा पनि गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छैन। मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे)का कारण सरकारले पूर्णता नपाएको हो।

एमाले नयाँ गठबन्धनलाई मात्र समेट्न चाहने र  कांग्रेस सरकारमा रहेको दल तथा मन्त्रीलाई सँगै लिएर जाने पक्षमा  रहेका कारण गण्डकी प्रदेश सरकारले पूर्णता नपाएको हो ।

तर, नेपाली कांग्रेसको नेतृत्व रहेको गण्डकी प्रदेशमा भने हालसम्म नेकपा एमाले सरकारमा गएको छैन । दुई पार्टीबीच पटकपटक वार्ता र संवाद भएपनि दुवैले आ-आफ्नो अडान नछोड्दा एमाले सरकारमा जानेरनजाने अझै अनिश्चित छ ।

अहिले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका फणीन्द्र देवकोटा र राजीव गुरुङ (दीपक मनाङे) सरकारमा छन् । उनीहरूलाई हटाउन मुख्यमन्त्री अनिच्छुक छन् । तर, एमाले भने उनीहरुलाई हटाउने अथवा कांग्रेस कोटाबाट मन्त्री बनाउनुपर्ने अडानमा छ यही खिचातानीले गण्डकमा सरकार पुनर्गठन अड्किएको छ  ।

यस्तै मन्त्रालयको विषयमा पनि एमाले र कांग्रेसबीच सहमति जुट्न सकेको छैन । हाल गण्डकीमा ७ मन्त्रालय छन् । यसमा एमाले ९ पुर्‍याएर ४ आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । भने कांग्रेस १० पुर्‍याएपछि मात्रै एमालेलाई ४ दिने पक्षमा देखिन्छ । एमाले सरकारमा कहिले जाने भन्ने विषयमा मुख्यमन्त्रीमा भर पर्ने एमालेका एक सांसदले बताए ।