नेपाल प्रहरीका यी डिएसपी सिंगापुर पुलिसको सर्वाधिक खोजीमा

शनिबार, २२ भाद्र २०८१

काठमाडौँ – नेपाल प्रहरीका डिएसपी हेमबहादुर शाहीसहित तीन नेपाली सिंगापुर प्रहरीको खोजीमा परेका छन्। आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंकामा सिंगापुर प्रहरीले डिएसपी शाही, कैलालीका दीपेन्द्रबहादुर शाह र कालीकोटका महेन्द्रजंग शाहलाई इन्टरपोलमार्फत सोधखोज गरेको हो।

सिंगापुर प्रहरीले नेपाल प्रहरीसँग उनीहरुको पृष्ठभूमि र अन्य विवरण मागेको छ। यसबारे नेपाल प्रहरीले पनि आन्तरिक अनुसन्धान गरिरहेको छ।

एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत रहेका जंगबहादुर लामो समयदेखि मलेसियामा बस्दै आएका छन्। दीपेन्द्रबहादुर शाह माओवादीका स्थानीय नेता हुन् । महेन्द्र उनका काकाका छोरा हुन्। दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार थिए।

डिएसपी शाही हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन्। इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्ज हुँदा हेम र दीपेन्द्रको परिचय भएको थियो। त्यसपछि हेम दिपेन्द्रको निम्तोमा मलेसिया घुम्न पुगेका थिए।

महेन्द्र लामो समयदेखि नेपालमा अवैध मानिएको क्रिप्टो कारोबारमा समेत देखिएका थिए। उनीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले समेत निगरानी गरेको थियो।