सुदूरपश्चिममा भीषण वर्षा र पहिरोको बितण्डा

शुक्रबार, २८ भाद्र २०८१

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा भइरहेको भीषण वर्षाले विभिन्न मुख्य तथा सहायक सडकहरू अवरुद्ध भएका छन् ।धवार बेलुकादेखि परेको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित विभिन्न मुख्य राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

तराईका जिल्लाबाट सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा डोटी जोड्ने के आईसिंह राजमार्ग अवरुद्ध भएका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार भीमदत्त राजमार्गको साहुखर्क क्षेत्रमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित साहुखर्कमा पहिरो खसेपछि के आईसिंह राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

यस्तै डोटीको बुडरदेखि जोगबुढा जोड्ने सडक पनि पूर्ण रूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो गएपछि सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न पनि आग्रह गरेको छ। अहिले पहिरो हटाउने र सडक सुचारु गर्ने क्रम जारी छ ।