इक्यान फेयरमा ‘वान अप’का ५ बदमासी
काठमाडौं – नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले आयोजना गरेको १५औँ संस्करणको इक्यान फेयर भव्यतापूर्वक सम्पन्न भएको छ । बुधबार सम्पन्न फेयरमा ५ हजार बढी विद्यार्थीको सहभागिता रहेको थियो । फेयरमा अपेक्षा गरे जस्तो विद्यार्थीको उपस्थिति नभएपनि यसले शैक्षिक परामर्श क्षेत्रलाई चलायमान बनाएको छ ।
यो फेयरले व्यवसायीलाई कार्यालय बाहिर फेयर गर्नका लागि बाटो खोलेको छ भने विदेशी विश्वविद्यालयलाई स्पन्सर गरेर खर्च गर्न प्रेरित पनि गरेको छ । फेयरको आयोजना इक्यानले गरेको भएपनि यसलाई व्यवस्थापनको जिम्मेवारी ‘वान अप’ प्रा.लि.ले लिएको थियो । सम्झौता अनुसार वान अफले इक्यानलाई १३ लाख नाफा बुझाएको छ भने करिव १५ लाखभन्दा धेरै खुद आम्दानी गरेको छ ।
यो फेयरमा ५० लाखभन्दा माथिको कारोबार भएको छ । १ दिनको शैक्षिक मेलामा यति ठूलो रकम कारोबार गर्दा व्यवस्थापकको जिम्मेवारी पाएको ‘वान अप’ले पाँच बदमासी गरेको छ । यसले गरेका बदमासी विरोधको रुपमा भन्दा पनि आलोचनाका रुपमा प्रस्तुत गरिएको छ ताकी आगामी दिनमा वानअपले गर्ने इभेन्टमा सुधार होस् ।
१) व्यानरमै झ्याली
इक्यानले फेयर आयोजना गर्नेबारेको जानकारी दिन असोज ७ गते पत्रकार सम्मेलन गरेको थियो । सो पत्रकार सम्मेलनमा वानअपले व्यानर बनाउँदादेखि बदमासी सुरुवात गरेको थियो । हेर्दा सानो देखिएको यो बदमासी प्रतिशतका हिसावले गणना गर्दा धेरै ठूलो हो । इक्यानले ६/४ साइजको व्यानर बनाउन भनेर वानअपलाई निर्देशन दिएको थियो । तर वानअपले ४/४ को व्यानर बनायो । व्यानर बनाउन लाग्ने खर्चको ३० प्रतिशत बचत गरेको थियो ।
२) स्पन्सरलाई धोका
वान अपले टाइटल स्पन्सर र इन एसोसिएस उइथलाई प्रचार गर्ने सम्पूर्ण सामाग्रीमा एउटै लोगो बनाएर प्रचार गर्ने सर्त राखेको थियो । इक्यानले स्वीकृत गरेको उत्त प्रस्तावलाई लत्याउँदै वान अपले प्रचार सामाग्रीबाट टाइटल स्पन्सर र इनएसोसिएसन उइथको लोगो हटाएर प्रचार गरेको थियो । फेयर आउन केही दिन अघि स्टलसहितको छुट्टा छुट्टै प्रचार सामाग्रीमा मुख्य लोगो मात्र प्रयोग गरिएको थियो । स्पन्सरसहितको लोगो सार्वजनिक हुँदा पनि वानअपले इक्यानको पेजबाट सार्वजनिक गरेकाे डिजाइनमा झ्याली गरिएको थियो । स्टल राख्ने संस्थाले सार्वजनिक गरेकाे भए अन्यथा मान्न सकिने थिएन ।

३) स्टलमा झ्याली
फेयरमा स्टल राखेका सबैलाई फेयरमा उपस्थित विद्यार्थीले आफ्नो स्टलमा पनि पुगेर जाउन भन्ने चाहना हुन्छ । त्यसका लागि आयोजक र व्यवस्थापनको जिम्मा पाएको संस्थाले त्यही अनुसारको स्टल डिजाइन गर्नुपर्ने हो । तर इक्यानको १५औं फेयरमा त्यस्तो पाइएन । फेयर गरेर खारिएको वान अपलाई यसको ज्ञान नभएर होइन तर केही रकम जोगाउन यस्तो गरिएको व्यवसायीको आरोप छ ।
होटल एभरेष्टको ठूलो हलको इन्टान्सबाट हल छिर्दासम्म सबै ठिकै देखिन्छ । विद्यार्थी पनि मजाले परामर्श लिइरहेका देखिन्थे, विद्यार्थीले भरिभराउ थिए स्टल । तर हल प्रवेश गरेपछि अलमल सुरु हुन्थ्यो । विद्यार्थी अलमल त पर्थे नै पछाडि रहेका स्टलवाला समेत टोलाइरहेका थिए । ‘गेटबाट विद्यार्थी तानौं अर्को व्यवसायीले विरोध गर्ला भन्ने चिन्ता, कुरेर बसौं विद्यार्थी सबै बाहिरिन थाले ।’, एक व्यवसायीले भने, ‘रवि (वान अपका प्रमुख रवि झा)ले यो पटक लोभ गर्यो । सबै स्टलमा विद्यार्थी पुग्ने अवस्था बनेन ।’
वान अपले हल प्रवेशपछि खुल्ला छोडिदिदा गेटको पूर्वपट्टिका ८ स्टल अन्यायमा परेका थिए । कंगारु, ओसीस्, राइटपाथ, नोबेल, एनएसए, एम्बेस्डर कलेज र एसएमएसमा विद्यार्थीको भिजिट नहुँदा रिसले चुर भएका थिए । ८ मध्ये राइटपाथको स्टलमा विद्यार्थी भरिएको भएपनि अरु स्टल पुरै खाली थिए । ‘स्टल बनाउँदा इन्टान्सदेखि एक्जिटसम्म सबै स्टल पुग्ने गरी बनाएको भए हामीलाई केही हुन्थेन । विद्यार्थीले रोजेको स्टलमा परामर्श लिएर जान्थे ।’, एक अर्का व्यवसायीले भने, ‘तर यो पटक विद्यार्थीलाई स्टल छ÷छैन भन्ने समेत थाहा भएन ।’ विद्यार्थी हल प्रवेश गर्ने वित्तिकै पश्चिम लागेर बाहिरिने गरेका थिए ।
४) सरकारको आँखा छली
यो फेयरको अनुमति दिदा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कन्सल्टेन्सीका लागि प्रतिस्टल ५ हजार र विदेशी कलेजका लागि १ लाख रुपैयाँ शुल्क लाग्ने सर्त राखेको थियो । तर फेयरमा तीन वटा विश्वविद्यालय तथा कलेजले डाइरेक्ट स्टल राखेका थिए । भारतका किर्पानिधि ग्रुप अफ इन्स्टिच्युट, श्री रामकृष्ण कलेज अफ आर्ट एण्ड साइन्स र डा. एम्बेस्डर इन्स्टिच्युट अफ टेक्नोलोजीले डाइरेक्ट स्टल राखेका भएपनि उनीहरुले राजस्व तिरेका थिएनन् । उनीहरुको स्टलमा नेपाल एड्मिसन अफिस भनेर सानो अक्षरमा कन्सल्टेन्सीको नाम लेखाएर वान अपले राजस्व छली गरेको देखिन्छ । यसमा पनि विदेशी शैक्षिक संस्थालाई महङ्गोमा स्टल बेचेर सरकारको आँखा छल्दै बदमासी गरेको पाइन्छ । सरकारलाई एक लाख राजस्व तिर्न पर्छ भनेर वानअपले आफ्नो सम्बन्ध भएका भारतीय शैक्षिक संस्थालाई नेपालका शैक्षिक कन्सल्टेन्सीको नाम राख्न लगाएका थिए । जुन कन्सल्टेन्सीकाे नाममा स्टल दर्ता भएकाे छ उसले एउटा मात्र विदेशी शैक्षिक संस्थाकाे नाम राखेपछि शंका उत्पन्न भएकाे छ ।

५) अपरिपक्क विद्यार्थी
यो फेयरमा ८० प्रतिशत कक्षा ११ र १२ अध्ययन गर्दै गरेका विद्यार्थीको सहभागिता थियो । केही विद्यार्थी सरकारी कलेजमा पढ्दै गरेका पनि भेटिए । उनीहरुसँग बातचित गर्दा चलचित्रको टिकट पाइने आशमा मेलामा आएको बताएका थिए । वान अपले प्लस टु अध्ययन गर्दै गरेका विद्यार्थीलाई कलेजबाट उठाएर सिधै ल्याएको हुनसक्ने व्यवसायीको अनुमान थियो । उनीहरुले वानअपले पहिला पहिला पनि यस्तै गर्ने गरेको बताएका थिए ।