रवि लामिछानेविरुद्धको पक्राउ पुर्जीबारे बल्ल बोल्यो अदालत
काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्न लागिएको हल्ला व्यापक रुपमा चलेपनि कास्की जिल्ला अदालतले भने अहिलेसम्म पक्राउ पुर्जी जारी भइनसकेको जनाएको छ ।
कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले आजमात्रै अदालत खुलेको र हालसम्म पक्राउ पुर्जीबारे कुनै जानकारी नभएको बताए । ‘अहिलेसम्म यसबारेमा कुनै जानकारी छैन । पछि हुने कुरा पछि नै होला’, उनले भने ।
सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा आएपछि खर्च गर्ने भूमिकामा जिम्मेवार रहेको सहकारी ठगी छानबिन समितिले निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा गोरखा मिडिया नेटवर्कका उनका तत्कालीन साझेदार छविलाल जोशी पक्राउ परिसकेका छन् ।
लामिछानेविरुद्ध प्रहरीले सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले छुट्टै अनुसन्धान समेत गरिरहेको छ । सूर्यदर्शनको रकम अपलचन गरेको आरोपमा असोज ६ मै पूर्व डीआईजी समेत रहेका जोशी पक्राउ परेका थिए । प्रहरीले जोशीको बयान लिएको छ ।