जीबी र रविले स्वर्णलक्ष्मीको १ करोड ८२ लाख तिर्न बाँकी

मंगलबार, २७ कार्तिक २०८१

काठमाडौँ – काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाबाट गोरखा मिडिया नेटवर्कमा १ करोड ८२ लाख अवैध तरिकाले लगेर नतिरेको भेटिएको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष जीबी राई र पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लिएको ऋण मध्ये १ करोड ८२ लाख नतिरेको भेटिएको हो ।

६४५ जना बचतकर्ताले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दा जीबी र रविले एकल र संयुक्त रुपमा ऋण लिएको भेटिएको छ । अनुसन्धानमा संलग्न एकजना अधिकृतले भने, ‘दुईजनाको नाममा प्रवाह भएको ऋण बापतको ६१ लाख फिर्ता गर्न बाँकी रहेको भेटिएको छ ।’ उनीहरुले ‘फोर ह्विलर लोन’ र ‘ईको सेभेन सिटर भ्यान’ खरिद गर्ने नाममा सो ऋण लिएका हुन् ।

राई र लामिछानेले लगेको रकमसहित सहकारीबाट गोरखा मिडियामा गएको १ करोड ८२ लाख फिर्ता नगरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । लेखापरिक्षण प्रतिवेदनबाट पनि सो कुरा पुष्टि भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । पूर्व डीआईजी छविलाल जोशीको घरबाट बरामद गरिएको स्वर्णलक्ष्मीको सफ्टवेयरको डीएफएल रिपोर्ट पनि काठमाडौँ प्रहरीले मगाएको छ । जिल्ला प्रहरी कार्यालय पोखराबाट सो रिपोर्ट मगाएर त्यसबारे अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीलाई बताए ।

जीबी राईसहित २२ जनालाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । सो सहकारीको रकम अपचलनमा संलग्न दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तत्कालीन ऋण उपसमिति सदस्य कमल लामा र लेखा समितिकी सदस्य सुनिता नेवा छन् । पक्राउ अनुमति आएका २२ जना फरार छन् ।

स्वार्णलक्ष्मीबाट १ अर्ब ११ करोड निक्षेप अपचलन भएको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । २७ हजार निक्षेपकर्ताले सो सहकारीमा २ अर्ब ६५ करोड ९५ लाख जम्मा गरेको सहकारीको रेकर्डमा भेटिएको छ ।