गभर्नर अधिकारी फेरि विवादमा, अन्तर्राष्ट्रिय बेइज्जत गरेको भन्दै प्रधानमन्त्री कार्यालयमा उजुरी

शनिबार, ८ मंसिर २०८१

काठमाडौँ – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी फेरि विवादमा तानिएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई कुच्चिएको सिक्का उपहार पठाएको विषय सार्वजनिक भएपछि उनी विवादमा तानिएका हुन् ।

गभर्नरले अन्तर्राष्ट्रिय स्तरमा नेपालको बेइज्जत गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उजुरी परेको छ । राष्ट्र बैंककै कार्यकारी निर्देशक विनोद राज आचार्यले प्रधानमन्त्रीलाई पत्र लेख्दै गभर्नर अधिकारीले देशकै बेइज्जत गरेको हुँदा आवश्यक निर्देशन दिन ध्यानाकर्षण गराएका छन् ।

गत असोज ८ गते राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको सम्मानमा काठमाडौँ आयोजित कार्यक्रममा सहभागी हुन आएका भारतीय रिजर्भ बैंकका गभर्नर शक्तिकान्त दासमार्फत अधिकारीले प्रधानमन्त्री मोदीलाई कुच्चिएको सिक्का उपहार पठाइएका थिए । उक्त कार्यक्रमपछि दुई देशका गभर्नरबीच सिक्का उपहार आदानप्रदान भएको र त्यसै क्रममा गभर्नर अधिकारीले निलो रंगको सानो सन्दुक खोली त्यसमा आफ्नो भिजिटिङ कार्डसमेत राखेर गभर्नर दासमार्फत प्रधानमन्त्री मोदीलाई गाई अंकित सिक्काहरु उपहार पठाएका थिए ।

तर, भारत पठाइएका सिक्का खोटा र स्वरुप बिग्रेका भन्ने जानकारी उतैबाट आएपछि तत्काल गभर्नर कार्यालयका उपनिर्देशक स्वेच्छा शाक्यलाई मुम्बई भ्रमण काजमा खटाई निजमार्फत उक्त खोटा र स्वरुप बिग्रेका सिक्काको बदलामा नयाँ सिक्काहरु पठाइएको बुझिएको छ । गभर्नर कार्यालयले टक्सारबाट उपहार शिर्षकअन्तर्गत खरिद गरेका ती सिक्का सग्लो नै रहे पनि सन्दुकको साइज सानो भएकोले जबरजस्ती सिक्का राख्दा कुच्चिएका थिए ।

‘उपरोक्त क्रियाकलाप माथि उल्लेखित मिति, समय, स्थान र उपस्थितिमा मेरै सामुन्ने भएको हो भनी जानकारीका लागि म सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूलाई किटानी उजुरी गर्दै निज गभर्नर अधिकारीलाई अब आइन्दा यस्तो कार्य नगर्न आवश्यक निर्देशन दिनुहुन विनम्र अनुरोध गर्दछु,’ आचार्यको पत्रमा भनिएको छ।

आचार्यले उक्त पत्र कार्तिक २३ गते लेखेका हुन्। उक्त पत्रबारे राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्लेनसहित ११ जनालई बोधार्थ गराएका छन्।