ब्रिज इन्टरनेशनलले भन्यो, ‘जानुका ढुंगाना हाम्रो कर्मचारी होइनन्’
काठमाडौँ – ब्रिज इन्टरनेशनल कन्सल्टेन्सी एण्ड माइग्रेसनले जानुका ढुंगाना आफ्नो कर्मचारी नभएको जनाएको छ । पछिल्लो समय ढुङ्गानाले विद्यार्थी ठगेको विषय सार्वजनिक भएपछि ब्रिज इन्टरनेशनलले उनी आफ्नो कर्मचारी नभएको स्पष्ट पारेको हो ।
आइतबार ब्रिजले मोटिभेट न्यूजलाई पठाएको पत्रमा ढुंगाना र ब्रिज इन्टरनेशनलबीच कुनै सम्बन्ध नरहेको जनाएको छ । मोटिभेट न्यूजले पौस १० गते ‘विद्यार्थी ठगेको आरोपमा बेस्ट ब्रेन्सका सञ्चालक पक्राउ’ शीर्षकमा प्रकाशित समाचारमा ‘जानुका यसअघि ब्रिज इन्टरनेशनल नामको कन्सल्टेन्सीमा कार्यरत रहेको पाइएको छ’ भन्ने विषय उल्लेख गरिएको थियो ।
तर जानुकाले आफ्नो सामाजिक संजालमा अहिले पनि ब्रिज इन्टरनेशनलमा कार्यरत रहेको उल्लेख गरेकी छन् । उनले बेलायतमा रहेको ब्रिज इन्टरनेशनलमा एक्जुकेटिभ अफिसरको रुपमा कार्यरत रहेको सामाजिक संजाल फेसबुकको प्रोफाइलमा उल्लेख गरेकी छन् ।
जानुका काठमाडौँको पुतलीसडक (स्टारमहल पछाडि) रहेको बेस्ट ब्रेन्स एजुकेशन एण्ड भिसा सर्भिसेसकी संचालक हुन् । उनी नेपाली युवतीहरुलाई डिपेण्डेन्ट र वर्किङ भिसामा बेलायत पठाइदिने भन्दै लाखौं रकम उठाएर बेलायत पुगेकी छन् । उनले १५ देखि २० जनाबाट प्रतिव्यक्ति ४० देखि ६१ लाखसम्म रकम उठाएको पाइएको छ ।

बेलायतका विश्वविद्यालयसँग सिधै एजेन्सी सम्भौता नभएपछि उनले विभिन्न कन्सल्टेन्सीलाई विद्यार्थीको डकुमेन्ट पठाएर कमिसनमा काम गर्ने गरेकी थिइन् । त्यही शीलशीलामा ब्रिजसँग पनि विद्यार्थी सिफारिस गर्ने सम्झौता भएको ब्रिजका अध्यक्ष भुवन गीरीले बताएका छन् ।
यता जानुकाले भने आफ्नो व्यक्तिगत विषयमा जान्ने अधिकार कसैलाई नभएको बताएकी छन् । सामाजिक सञ्जाल ह्वाट्सएपमार्फत सम्पर्कमा आएकी उनले आफ्नो व्यक्तिगत विषयमा जान्ने अधिकारी कसैलाई नभएको बताइन् ।
