शेरादरबारमा कुमारी बैंक पनि डुब्यो
काठमाडौँ – शेरादरबार जग्गा अनियमितता काण्डले खैलाबैला मच्चिएको छ । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसमेतको नाम जोडिएपछि यसको तरङ्ग देशभर छ ।
नुवाकोट जिल्लाको बिदुर नगरपालिका–३ मा रहेको शेरादरबारको जग्गा प्रचण्डका तत्कालीन स्वकीय सचिव विकेश श्रेष्ठको कब्जामा छ । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि जनयुद्धका सुप्रिम कमाण्डर प्रचण्ड प्रधानमन्त्री भएका बेलामा विकेश स्वकीय सचिव भएर काम गरेका थिए । विकेश पूर्वप्रधानमन्त्रीका स्वकीय सचिव भएकै कारण शेरादरवारको विषय चर्चाको केन्द्रमा छ ।
पृथ्वीनारायण शाहको सम्पत्तिका रुपमा रहेको यो जग्गा हक हस्तान्तरण हुँदै तत्कालीन राजा त्रिभुवनकी छोरी हेलेन शाह र नातिनी जयन्ती शाहको नाममा आएको थियो । स्थानीयबाट समेत खरिद गरेर तत्कालीन अधिराजकुमारी हेलेन र विजयाको नाममा १८४ रोपनी ४ आना १ पैसा जग्गा कायम भएको देखिएको थियो । भूमिसुधार ऐन आएपछि हदबन्दीभन्दा बढी जग्गा राख्नलाई शाहद्वयले गौरीशंकर फार्मिङ प्रा.लि. खोलेका थिए । पछि २०४४ सालमा गौरीशंकर फार्मिङको नाम परिवर्तन गरेर अन्नपूर्ण बनाइएको थियो ।
पछि २०५२ सालमा शाहद्वयको नाममा रहेको कम्पनीको सम्पूर्ण शेयर नरेन्द्रलाल प्रधान, केदारनाथ श्रेष्ठ, सजनी प्रधान र सोहिनी श्रेष्ठको नाममा हस्तान्तरण गरेको प्रमाणहरु भेटिएका छन् । २०६६ सालमा शेयर बिक्री लिखतबाट ध्रुवलाल श्रेष्ठ र रजनी श्रेष्ठलाई शेयर धनीका रुपमा थप गरेको देखिएको छ । पछि २०६६ सालमा यसमा भुवनलाल राजभण्डारीसमेत शेयर धनीका रुपमा भित्रिएका थिए ।
२०६६ पछि शेरादरबारमा पूर्वमाओवादी नेता विकेश श्रेष्ठको प्रवेश भयो । विवरण अनुसार ५ चैत २०७२ मा कम्पनीको साधारणसभाको निर्णय र शेयर खरिद बिक्री भएर नयाँ शेयरधनीका रुपमा विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र ध्रुवलाल श्रेष्ठले प्रवेश गरेका थिए । त्यसबेला जग्गाको मूल्यांकनसमेत जोडेर प्रति शेयर १ लाख १८ हजार ७३३ रुपैयाँ ५१ पैसा तोकिएको थियो । २०७२ सालमै सुमन पारिकसमेत नयाँ शेयर धनीका रुपमा भित्रिएको देखिन्छ ।
तर, १० मंसिर २०८० सम्म आइपुग्दा अरु सबै शेयरधनीलाई किक हान्दै विकेश श्रेष्ठ, अजयकुमार सूर्यवंशी र श्रेष्ठका छोरा मनोबलमात्र शेयरधनी भएका थिए । प्लेटेड गहनाको कारोबारी अजय सूर्यवंशी विकेशका भान्जा हुन् । त्यही जग्गा धितो राखेर मनोबल श्रेष्ठले व्यापार गर्नका लागि कुमारी बैंकबाट कराडौँ ऋण लिएको खुलेको छ । उनीहरुले सुरु गरेको व्यवसायमा राम्रो आम्दानी दिन नसकेपछि उक्त ऋणको साँवा र व्याज तिर्न सकेका छैनन् ।
बैंकबाट कति ऋण लिइएको छ भनेर खुलाइएको छैन । तर बैंकले ऋण तिर्न नसकेपछि जग्गा लिलाम गर्नसक्ने चेतावनीपूर्वक पत्र पठाएको छ । बैंकले जग्गा लिलाम गर्ने पत्र पठाइरहदा उक्त जग्गा निजी कम्पनीबाट जफत गरेर सरकारको नाममा ल्याउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले सिफारिस गरेको छ ।
सीआईबीले चार महिना लामो अनुसन्धानपछि श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदनसमेत बुझाएको छ । उक्त जग्गा सरकारको नाममा आएपछि कुमारी बैंकको ऋण अवस्था के हो ? बैंकले भने यस विषयमा केही पनि प्रतिक्रिया दिएको छैन् ।