शिक्षालाई माध्यम बनाएर जीविकोपार्जनका लागि नेपालीहरु विदेशीन्छन् : सभामुख घिमिरे
काठमाडौं – सभामुख देवराज घिमिरेले नेपाली युवाहरु शिक्षालाई माध्यम बनाएर जीविकोपार्जनका लागि विदेशीने गरेको बताएका छन् । शनिबार नेपाल शैक्षिक परामर्श संघ (इक्यान)को १९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।
उनले शिक्षालाई व्यवहारिक र जीवन उपयोगी बनाउन जरुरी रहेको बताउँदै नेपाललाई शिक्षाको हब बनाउने गरी अघि बढ्नुपर्ने धारण राखे । उनले राष्ट्रलाई समृद्ध बनाउन शिक्षा महत्वपूर्ण रहेको बताएका छन् । शिक्षाले राजनीतिलाई पनि ठीक दिशामा लैजाने उनको भनाइ थियो ।
‘समाज जस्तो बन्छ, वा समाजलाई सञ्चालन गर्ने राजनीति जस्तो हुन्छ, मुलतः शिक्षा त्यसबाट निर्देशित हुन्छ । तर शिक्षाको विकास, शिक्षाको गुण, शिक्षाका लक्ष्य जस्ता हुन्छन्, समाज त्यस दिशामा जानसक्छ, लैजाने कामहरु गरिन्छ ।’, उनले भने, ‘त्यो सन्दर्भमा राजनीतिलाई शिक्षाले ठिक दिशामा लैजाने महत्वपूर्ण भूमिका खेल्छ ।’
समाजलाई अगाडि लैजान, राष्ट्रलाई समृद्ध बनाउन, राष्ट्रिय एकतालाई खँदिलो बनाउन, राष्ट्रको संस्कार, संस्कृतिलाई विकास गर्न र मानव जातिलाई उन्नत ठाउँमा लैजान पनि शिक्षा महत्वपूर्ण रहेको उल्लेख गरे ।
शेषराज भट्टराईको अध्यक्षतामा सुरु भएको साधारणसभाको इक्यानका महासचिव दीपकराज भुसालले संचालन गरेका थिए । साधारणसभामा संस्कृति, पर्याटन तथा नागरिक उड्यन मन्त्री बद्री प्रसाद पाण्डे, विदेशस्थिति शैक्षिक संस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।


