महाकुम्भमा माला बेच्दाबेच्दै भाइरल मोनालिसालाई पर्यो अप्रत्याशित चिठ्ठा
काठमाडौँ – भाइरल युवती मोनालिसालाई चिठ्ठा परेको छ । महाकुम्भ मेलामा माला बेच्ने क्रममा भाइरल भएकी मोनालिसालाई चलचित्र खेल्ने अफर आएको छ । बलिउड चलचित्र निर्देशक सनोज मिश्राले आफ्नो नयाँ चलचित्र ‘डायरी अफ मणिपुर’का लागि मोनालिसालाई अनुबन्धित गरेका छन् । यो चलचित्र खेलेबापत उनले २१ लाख रुपैयाँ पारिश्रमिकमा पाउने बताइएको छ ।
महाकुम्भमा आफ्नो सुन्दर आँखा र प्यारो मुस्कानका कारण भाइरल भएकी मोनालिसा एक साता यताबाट मध्य प्रदेशको महेश्वर स्थित आफ्नै घरमा छिन् । कुम्भ मेलाको सम्पूर्ण अवधि प्रयागराजमा बस्ने निधो सहित ३ लाख रुपैयाँको लागतमा रुद्राक्ष तथा अन्य माला किनेर उनी बेच्नको लागि आफन्तसँग सो मेला पुगेकी थिइन् । तर केही दिनमै उनी सामाजिक सञ्जालमा भाइरल भइन् । यसरी भाइरल भएपछि १५ दिन भित्रै उनले कुम्भ मेला छोड्नु परेको थियो ।
निर्देशक सनोज मिश्राले शुक्रवार मोनालिसाको गाउँ पुगेर उनलाई आफ्नो चलचित्र डायरी अफ मणिपुरको लागि सम्झौता गरेका हुन् । मोनालिसलाई अनुबन्धित गरेपछि सनोज चलचित्रको थप तयारीका लागि शनिबार मुम्बई फर्केका छन् ।
सनोजका अनुसार यस चलचित्रमा मोनालिसा मुख्य भूमिकामा देखिने छिन् । यो चलचित्रमा अभिनेता राजकुमार रावको जोडी बनेर मोनालिसालाई अभिनय गराउने योजना सनोजले सुनाएका छन् ।