हिमालयन बैंकको साढे पाँच अर्ब जोखिममा

मंगलबार, २९ माघ २०८१

काठमाडौँ – हिमालयन बैंकसहित तीन वटा बैंकको साढे पाँच अर्ब ऋण जोखिममा परेको छ । बैंकको अगुवाईमा बुद्ध एअरलाई प्रचलित कानुन मिचेर दिएको साढे पाँच अर्बको ऋण जोखिममा परेको हो । बुद्ध एयरका दुई भाईको विवादका कारण जहाज किन्नका लागि दिइएको ऋण जोसिममा परेपछि नेपाल राष्ट्र बैंकमा समेत उजुरी परेको छ ।

हिमालयन बैंकको अगुवाइमा तीन वटा बैंकले बुद्ध एअरलाई प्रचलित कानुन मिचेर दिएको साढे पाँच अर्बको ऋणजस्तै अन्य कम्पनीमा पनि त्यो प्रवृत्ति नभएको ठोकुवा गर्ने विश्वासिलो आधार नदेखिएपछि अनेकौँ आशंका गर्न थालिएको छ ।

बुद्ध एअरका अंशियार तत्कालीन अध्यक्ष सुरेन्द्र बस्नेतका दुर्ई भाइ छोरा छन् । जेठो वीरेन्द्रका आफू, श्रीमती र दुर्ई छोरीसँगै कान्छो शिवेन्द्रका श्रीमती, दुर्ई छोरी र छोरा उक्त कम्पनीको मालिक हुन् । वीरेन्द्रको परिवारलाई ६० र शिवेन्द्रको परिवार ४० प्रतिशत अंशियार रहेको कम्पनीले अर्बौैं ऋण लिँदा कानुनी प्रक्रिया मिचिएकोबारे राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अन साइट तथा अफ साइट इन्स्पेक्सनमा आँखा चिम्लिएको पुष्टि भएको छ । विभागले तोकिएको जिम्मेवारी निर्वाह नगरेको भन्दै लिखित उजुरी गभर्नरको कार्यालयअन्तर्गत वित्तीय साक्षरता तथा ग्राहक संरक्षण महाशाखामा पुगेको छ ।

बुद्धका लगानी कर्तामध्ये आदर्श बस्नेत, अर्चना बस्नेत र शिवानी बस्नेतले हिमालयन बैंकले कम्पनी ऐन २०६३ को दफा १०५ मा भएको व्यवस्था उल्लंघन गर्दा वित्तीय क्षेत्रमा उच्च जोखिम बढेको दाबी गरेका छन् । उक्त दफाबमोजिम बुद्ध एअरलाई विमान खरिदको निम्ति हिमालयन बैंकको नेतृत्वमा अन्य तीन बैंकले साढे पाँच अर्ब रूपैयाँ प्रदान गर्नुअघि कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित गर्नुपर्नेमा सो गरेको नदेखिएको पाइएको छ ।