खराब मौसमका कारण काठमाडौँमा धमाधम बिरामी हुन थाले बालबालिका
काठमाडौँ – खराब मौसमका कारण काठमाडौँमा बालबालिका धमाधम बिरामी पर्न थालेका छन् । चिकित्सकहरूका अनुसार बालबालिकामा उच्च ज्वरो आउने, बान्ता हुने, रिंगटा लाग्नेलगायतका विभिन्न शारीरिक समस्या देखिन थालेको छ । बालबालिकामा यस्तो स्वास्थ्य समस्या देखिए घरमै बसेर आराम गर्न, विद्यालय नपठाउन, खान पिनमा ध्यान दिन र समयमै अस्पताल जान चिकित्सक सुझाए दिएका छन् ।
बालबालिकामा यस्तो समस्या देखिएसँगै पठनपाठन र शैक्षिक गतिविधि समेत केही प्रभावित भएको सम्बन्धित विद्यालयहरूले बताएका छन् । बालबालिकामा धमाधम स्वास्थ्य समस्या देखिएसँगै राजधानीका केही विद्यालयले अभिभावकलाई सूचना पठाएर आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् भने चिकित्सकहरूले पनि मौसमी फ्लू, कोभिड–१९, वायु प्रदूषणलगायतका कारणले बालबालिका बढी प्रभावित भएको बताएका छन् ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका भाइरोलोजिस्ट डा. शेरबहादुर पुनले अहिले विभिन्न कारणले बालबालिकाहरू बिरामी भइरहेको बताएका छन् ।
पुनले अहिले फ्लूसँग सम्बन्धित बिरामी नै बढी देखिएको बताए । ‘फ्लुका बिरामी फैलिरहेका बाहेक रुघाखोकीलगायत चीनमा केही अघि देखिएको नयाँ भाइरस पनि होला, कोभिड पनि हुनसक्छ । जे होस्, मल्टिपल इन्फेक्सनको सम्भावना यथावतै रहेको उनको भनाई छ।
साथसाथै अहिले बढिरहेको प्रदूषणका कारण पनि बिरामी बढ्ने अर्को कारक हुनसक्ने उनको भनाइ छ । पुनले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ठुला उमेर समूहका बिरामीहरूको चाप बढेको बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का अध्यक्ष डीके ढुंगानाले पनि पछिल्लो समय विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा स्वास्थ्य समस्या केही बढेको आफूलाई जानकारी आएको बताए ।
यस्तो बिरामी बढिरहँदा आफूहरूले घरमै बसेर आराम गर्न या समयमै अस्पताल जान सुझाएको ढुंगानाको भनाइ छ । विद्यार्थी बिरामी हुँदा केही विद्यालयका आन्तरिक कार्यक्रम तलमाथि गरिएको जानकारी आए पनि औपचारिक रूपमा प्याब्सनले यसबारे केही निर्णय नगरेको उनले बताए ।
कान्ति बाल अस्पतालका प्रवक्ता डा सुमित अग्रवालले पनि बालबालिकाहरू बिरामी भएर आउने दर ह्वात्तै बढेको बताएका छन् ।