तनावमा बेलायत पुगेका विद्यार्थी : थुप्रैले गरे आत्महत्या, एक जना सम्पर्कविहीन

बिहिबार, १५ फाल्गुन २०८१

एआईको साहायतामा तयार पारिएको तस्वीर

लन्डन – अध्ययनका लागि बेलायत आएका एक नेपाली विद्यार्थी सम्पर्कविहीन भएका छन् । अढाइ वर्ष अघि अध्ययनका लागि लण्डन आएका कमल अधिकारी तीन सातादेखि सम्पर्क विहिन भएका हुन् ।

युनिभर्सिटी अफ क्रियटिभ आर्टसमा अध्ययनका लागि गत १७ सेप्टेम्बर २०२२ मा बेलायत आएका धनुषा, हंसपुर–६ का २३ वर्षीय अधिकारी २ फेब्रुअरीदेखि सम्पर्कविहीन भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार अधिकारीको खोजीका लागि पहल भइरहेको जनाएको छ ।

बेलायतमा केही विद्यार्थीले विभिन्न समस्याका कारण आत्महत्या गरेको खबर पनि आउन थालेको दूतावासले जनाएको छ । सरोकारवालाहरू बेलायतमा अध्ययन गर्न आउनुअघि यहाँको सम्पूर्ण वस्तुस्थितिबारे अध्ययन र आफन्त तथा साथीभाइसँग विस्तृत बुझेरमात्र आउन सुझाव दिन्छन् ।

बेलायतका लागि नवनियुक्त नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायतमा अध्ययनरत विद्यार्थीका समस्या उजागर गर्दै सचेतना फैलाउन सञ्चारकर्मीहरूलाई सुझाव दिएका छन् । लन्डनस्थित नेपाली दूतावासमा गएका नेपाल पत्रकार महासंघ बेलायतका पदाधिकारीसँग राजदूतले यस्तो सुझाव दिएका हुन् ।

पछिल्लो समय बेलायत अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरू निकै समस्यामा परेका छन् । विदेशी विद्यार्थीका लागि काम गर्ने अवधिको मापदण्ड, महँगी, कोठाभाडामा चर्को वृद्धिजस्ता कारणले कलेजको शुल्क बुझाउन नसक्दा कयौँ मानसिक रूपमा विक्षिप्त बनेको बताइएको छ ।