बालेनसंग उपमेयर सुनिता डंगोल रुष्ट
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’का पछिल्ला अभिव्यक्तिलाई लिएर उपप्रमुख सुनीता डंगोल रुष्ट भएकी छिन् ।
पछिल्लोपल्ट प्रमुख प्रशासकीय अधिकृतको विषयलाई लिएर बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरी फेसबुकमा लेखेको स्टाटसलाई लिएर मेयर बालेनसंग रुष्ट भएकी हुन् । बालेनले प्रधानमन्त्री ओली आफूलाई हराउन लागेको आरोप उक्त स्टाटसमा लगाएका थिए।
उपप्रमुख डंगोलले भने आफ्नो कर्तव्य पूरा नगर्ने अनि अरूलाई आरोप लगाउने कुरा उचित नभएको भनी बालेनतर्फ नै प्रश्न उठाएकी छिन्।
‘छानबिन समितिले के गर्ने भन्ने टुंगो नलगाउन्जेल केन्द्र सरकारले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई दोष लगाउने, कारबाही गर्ने वा उहाँको सट्टामा नयाँ प्रशासकीय अधिकृत किन नपठाएको भन्दै निरन्तर आरोप लगाउने कुरा ठिक होइन,’ उनले भनिन्, ‘आफ्नो कर्तव्य पूरा नगर्ने, अनि अरूलाई आरोप लगाउने कुरा उचित होइन भन्ने लाग्छ।’
उनले छानबिन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक नगरेको भन्दै केही आशंकाहरू उब्जिएको पनि उल्लेख गरिन्। ‘सबैभन्दा पहिला छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्छ। छानबिन समितिको प्रतिवेदनमा उहाँको कमजोरी देखियो भने तुरुन्तै कारबाही प्रक्रिया अघि बढाउनुपर्छ भन्नेमा दुईमत भएन,’ उपप्रमुख डंगोलको भनाइ छ, ‘तर, प्रतिवेदन पनि सार्वजनिक नगर्ने अनि केन्द्रले प्रमुख प्रशासकीय अधिकृत पठाएन भनेर विरोध गर्ने कुरा हुँदैन।’
उपप्रमुख डंगोलले छानबिन प्रतिवेदनमा प्रमुख प्रशासकीय अधिकृत मात्रै होइन, अरूले षड्यन्त्र गरेको रहेछ भने त्यसको पनि छानबिन हुनुपर्ने र त्यसमा क–कसको सहभागिता छ त्यसको पनि निष्पक्षरूपमा छानबिन हुनुपर्छ भन्नेमा आफू अडिग रहेको पनि जानकारी दिइन्।
‘त्यो समग्र प्रक्रियामा एक जना व्यक्तिको मात्रै सहभागिता हो कि अरूको पनि छ भन्ने पत्ता लगाएर उनीहरूलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भनिन्, ‘यो संगठित भ्रष्टाचार हो कि भन्ने पनि आशंकाहरू देखिए भने त्यसउपर पनि छानबिन गरी कारबाही हुनुपर्छ भनेर पहिला पनि भनेकी थिएँ। अहिले पनि मेरो भनाइ यही छ।’
प्रमुख प्रशासकीय अधिकृत गुरागाईंमाथि गरिएको छानबिन प्रतिवेदन लुकाएको आरोप पनि उनले लगाइन्।
‘त्यस विषयमा क–कसको के–के मा संलग्नता रही भ्रष्टाचार गरिएको हो, त्यसउपर पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गर्नुपर्छ,’ उनले भनिन्, ‘दिएको समयमा छानबिन समितिले प्रतिवेदन बुझाएको छैन। प्रतिवेदनचाहिँ लुकाएर राख्ने, अनि दोष अन्तैतिर लगाएर उम्किने भन्ने कुरा त्यति उचित हो जस्तो लाग्दैन ।’
‘होइन भने आफ्नो कर्तव्य पूरा नगर्ने अनि केन्द्र सरकारलाई मात्रै दोष लगाउने कुरा आफू उत्तरदायित्वबाट पन्छिएको जस्तो हो,’ उनले भनिन्।