कम्पनी दर्ता गर्न यातायात व्यवसायीलाई ५ दिनकाे म्याद
काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले ५ दिनभित्र आफ्ना समितिलाई कम्पनीमा दर्ता गरिसक्न आग्रह गरेको छ। महासङ्घ र सरकारबीच भएको सहमतिअनुसार ‘संस्था दर्ता ऐन २०३४’ अन्तर्गत दर्ता भई यातायात सेवा सञ्चालन गर्दै आएका महासङ्घ आवद्ध व्यवसायी तथा विभिन्न समितिहरुलाई ५ दिनभित्र कम्पनी दर्ता गरिसक्न महासङ्घले आग्रह गरेको हो।
महासङ्घले आज सूचना प्रकाशित गरी ‘कम्पनी दर्ता ऐन २०६३’ को दफा ९ को उपदफा १ थप गरिएको १(क) अनुसार कम्पनी दर्ता गर्न महासङ्घमा आवद्ध यातायात व्यवसायीलाई सेयर सदस्य बनाई यातायात व्यवस्था कार्यालयमा पेस गरी सिफारिस लिई कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता गर्नुपर्ने बताएको छ।
महासङ्घका महासचिव सरोज सिटौलाले सरकार र महासङ्घबीच भएको सहमतिअनुसार सबै यातायात समितिलाई कम्पनीमा दर्ता हुनुपर्ने बताए। ‘५ दिनभित्र कम्पनीमा दर्ता नहुने यातायात समितिको जिम्मा महासङ्घले लिँदैन,’ उनले भने।
देशभर चल्ने सार्वजनिक सवारीसाधन यातायात समिति र केही सवारीसाधन कम्पनीमा दर्ता भएर सञ्चालित छन्। रासस