आगो ताप्नु फोक्सोका लागि चुरोट तान्नुजत्तिकै घातक
काठमाडौँ – आगो ताप्नु स्वास्थ्यका लागि हानिकारक रहेको खुलेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टर प्रतीक वाग्लेले आगो ताप्नु चुरोट खाए जतिकै हानिकारक हुने बताएका छन् ।
एक अनलाइन मिडियासँगको अन्तरवार्तामा उनले दाउरामा खाना पकाउनु, आगो ताप्नु फोक्सोका लागि हानिकारण हुने भएकाले त्यसबाट जोगिन सुझाव दिएका छन् डा. प्रतीक वाग्ले ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टरका रुपमा कार्यरत छन् ।
पल्मोनरी एण्ड क्रिटिकल केयर विज्ञका रुपमा सक्रिय उनी सन् २००७ देखि सोही अस्पतालमा विभिन्न जिम्मेवारी सम्हालिरहेका छन् ।
फोक्सो रोगीको चेकजाँच साथै सघन कक्षको जिम्मेवारीमा रहेका उनीसँग जाडोयाममा फोक्सोमा आइपर्ने समस्या, समाधान र निमोनियाबाट सुरक्षित रहने उपायलगायतका विविध विषयमा कुराकानी गरिएको छ ।
यतिबेला जाडो मौसम छ । फोक्सोमा कस्ता किसिमका समस्याहरु देखिन सक्छन् ?
फोक्सोमा कतिपय रोगहरु त दीर्घकालीन नै हुन्छन् । जस्तै, सिओपीडी क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज दीर्घकालीन रोग नै हुन् । साधारण भाषामा त्यसलाई दम भनिन्छ । अन्य एलर्जी दमहरु पनि हुन सक्छन् ।
यस्ता रोगहरु धेरैजसो बल्झिने खालका छन् । जाडोयाममा मानव शरीरहरुमा हावा जाने नलीहरु सुन्निने किसिमको भएकाले समस्या आउने हो । विशेषगरी चिसोमा हावा अलिकति ड्राइ नेचरको हुने र त्यसले नलीलाई अलिकति समस्या गराउने गर्छ ।
हावा जाने नलीहरु धेरै इन्जर्ड भएर समस्या बल्झिने गर्छ । इन्फेक्सनहरु पनि कमन्ली यो टाइममा देखिन्छ । स्वासप्रश्वास नलीको इन्फेक्सनहरु, ब्रोनक्राइटिस पनि कतिपय अवस्थामा एलर्जीकै कारण हुनेगर्छ । सम्बन्धित अर्गानिजममा किटानुले समस्या निम्त्याउन सक्छ । निमोनियाहरु पनि ब्याक्ट्रेरियल र भाइरल निमोनियाहरु देखिनसक्छ ।
त्यति मात्रै नभएर ढुसी, फगंल इन्फेक्सनहरु पनि यस्तैबेला देखिन्छ । हुन त अरुबेला पनि फगंल इन्फेक्सनहरु रोगसंग लड्ने क्षमता कम हुने समयमा बढी पोलिफ्रेड हुन्छन् । तर यिनीहरु जाडोकै समयमा देखिनसक्छ । समग्रमा भन्नुपर्दा यो चिसो समयमा सबै रोगहरु बल्जिने समस्या भइरहन्छ ।
चिसोको कारणले फोक्सोमा देखिने समस्यामा कुनै उमेर विशेष हुन्छ रु वा कुन उमेरका व्यक्तिहरुलाई बढी जोखिम हुन्छ ?
यस विषयमा कुरा गर्दा विषेशगरी भन्ने हो भने रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतामै भर पर्ने कुरा हो । एक्सट्रिम अफ एज भनिन्छ नि साना उमेरका र उमेर बढी भएकाहरुको रोगसँग लड्ने क्षमता कम हुन्छ । त्यही भएर समस्या देखिने गर्छ । कम उमेर समूह भएका मानिसहरुको प्रतिरोधात्मक क्षमता बढी हुन्छ । त्यसैले उनीहरुमा फोक्सो सम्बन्धी समस्या कम देखिन्छ ।
मानिसहरुले रोगसँग लड्ने क्षमता कम गराउने औषधिहरु खाइरहेकाहरु हुन्छन् । डाइबेटिज जस्ता समस्याले रोगसँग लड्ने क्षमता कम हुन्छ र यस्ता मान्छेहरुमा दीर्घकालीन रोगहरु तथा किड्नीको समस्या देखिनसक्छ । कतिपयले बाथ रोगका कारण औषधि खाइरहेकाहरु हुन्छन् । जसका कारण रोगसँग लड्ने क्षमताहरु घटाइदिन्छ । त्यस्तोमा फोक्सो सम्बन्धी इनफेक्सनहरु बढी देखिने चान्स हुन्छ ।
यसवर्षको हिउँदमा लामो समयदेखि वर्षा भएको छैन, वायू प्रदूषण बढेको छ । यसले मानव स्वास्थ्यमा कस्तो असर पारिरहेको छ रु
पोलुसनले शरीरका कुनै पनि अंगलाई राम्रो गर्दैन । अब स्वासप्रस्वासको कुरा कस्तो हो भने हाम्रो नाक–मुखबाट जाने हावा नै प्रमुख कुरा हो । बाहिरी वातावरणसँग टच हुने कुरा हो । त्यसकारण मानव स्वास्थ्यमा यसको प्रभाव बढी हुनसक्छ । यसबारे सुरुमा पनि मैले भनेँ अलिकति चिसो समयमा ड्राइ एयरका कारण असर देखिने हो । ड्राइ एयरमाथि पनि पोलुसनयुक्त जुन वातावरण छ त्यो घातक हुन्छ । त्यस्तो बेला कणहरु हावा जाने नलीहरुमा छिरेर त्यसले झन बढी असर गर्नुका साथै अझ अरु रोगहरु पनि निम्त्याउन सक्छ ।
त्यसोभए चिसो र प्रदूषणबाट फोक्सोलाई कसरी स्वस्थ्य राख्ने ?
सबैभन्दा प्रभावकारी भनेको त मास्क नै हो । पहिलादेखि नै प्रयोग भए पनि कोभिड महामारीपछि मास्कको प्रयोग अलि बढेको छ । मास्कको पनि विभिन्न प्रकारहरु छन् । क्लोथवाला मास्क छन्, सर्जिकल मास्क प्रयोग भइरहेको हुन्छ । अन्य प्रकारका पनि छन् । फोक्सो जोगाउनका लागि स्वस्थ्य जीवनशैली नै अपनाउने हो । धूमपान र मद्यपान नगर्ने, त्यसैगरी व्यायाम पनि गर्नुपर्ने हुन्छ । त्यसले मानव स्वास्थ्यमा राम्रै सहयोग पुगाउँछ ।
अर्को कुरा, जाडोबाट जोगिनको लागि धेरै लेयरका लुगा लगाउने चलन छ । एउटै लगाउने पनि गरिन्छ । तर लुगा बाक्लो लगाउने भन्दा पनि न्यानो लगाउनु राम्रो हुन्छ । धेरै लेयरको लुगा लगाउँदा त्यसले इन्सुलेटको कामहरु पनि गरिराखेको हुन्छ । एउटाबाट छिरेको चिसो अर्कोले छेक्छ । अर्को भनेको चिसो धेरै भयो भनेर एयर कन्डिसनर राख्ने गरिन्छ । एयर कन्डिसनर कै प्रभाव पनि कति छ त भन्ने पनि अध्ययन भइरहेको पाइन्छ । बाहिर एकदमै १० डिग्री सेन्टिग्रेटको चिसो छ र घरमा २४ डिग्रीमा तताइराखेको छ भने त्यसले पनि असर गर्छ । अरु रोकथामको लगि भनेको त भ्यासिनहरु लगाउन सकिन्छ ।
जाडो याममा बिहानीपख बाहिर व्यायाम गर्नु वा मर्निङ वाक जानु कति उचित छ ?
व्यायाम गर्न, मर्निङवाक गर्न उचित नहुने भन्ने छैन । व्यायामको कुनै पनि नकारात्मक असर छैन । खासगरी चिसोबाट बच्नुपर्छ । तापक्रम व्यवस्थापन गरेर व्यायाम गगरियो भने पनि झनै राम्रो हुन्छ । बिहानको समयमा नै गर्ने हो भने पनि ठिकै छ । बेलुकीको समयमा गर्ने हो भने पनि ठिकै छ । व्यायामका कारण शरीरलाई कुनै हानि छैन । फोक्सोको समस्या हुनेहरुले पनि मजाले व्यायाम गर्न मिल्छ । तर सकिनसकि गर्नुपर्छ भन्ने छैन । बाहिर गएर दौडिनै पर्छ भन्ने छैन । शरीरका औँलाहरु चलाउने गर्नुपर्छ, हिँडाइको स्पिड मात्रै बढाउने हो भने पनि त्यसले राम्रो हुन्छ ।
विशेषगरी दमका रोगीहरु चिसो मौसममा कसरी जोगिन सक्छन् । खानपानमा केही ध्यान दिनुपर्छ कि ?
चिसो समयमा बढी प्रदूषणको लेबलहरु पनि बढ्दै जान्छ । आगो ताप्ने चलन छ त्यसबाट कार्बन डाइयाक्साइड बनिरहेको हुन्छ । त्यसले पनि समस्या गराउनसक्छ । नत्र त चिसो र गर्मी दुवै जोखिमयुक्त नै हुन्छन् । चिसोको समयमा बढी समस्या हुनसक्छ । किनभने प्रदुषणको लेबल पनि बढ्छ । बच्नको लागि त न्यानो भएर बस्ने हो, स्वास्थ्य जीवनशैली अपनाउने हो र व्यायाम गरिरहने हो । व्यालेन्स डाइटहरु खाने गर्नुपर्छ ।
जाडोमा दमका बिरामीहरुमा कार्बनडाइअक्साइड बढ्नसक्छ । कार्बोहाइड्रेट अहिलकति कम भएको खानपान गर्ने कन्सेप्टहरु पनि थियो । तर आजभोलि त्यो कन्सेप्ट हट्दै गएको छ र प्रोटिनयुक्त खानेकुराहरु जुन हाम्रो मसलहरुलाई चाहिने हुन्छन्, त्यस्तो खानपान र स्वस्थ जीवनका लागि साग सब्जीहरु बढी खाँदा राम्रो हुन्छ । विशेषजगरी खानाहरु सादा र प्रोटियुक्त खानु नै राम्रो हुन्छ । फोक्सोको हिसाबले डाइटमा यो खाने त्यो नखाने भन्दा पनि आफूलाई एलर्जी गराउने कुराहरु बार्नुपर्छ । खान हुने नहुने भन्ने त्यस्तो खास छैन ।
जाडोमा विशेषगरी निमोनिया धेरै हुने गरेको पाइन्छ । यसको मुख्य कारण के हो र यसका लक्ष्यणहरु के के हुन्छन् ?
फोक्सो सुन्निने अवस्थालाई निमोनिया भनिने हो । यसमा धेरैजसो कारण इन्फेक्सन नै हो । निमोनिया भाइरस, ब्याक्टेरिया, फक्गलले गर्दा हुन्छ । निमोनिया टिपिकल र अटिपिकल निमोनिया भन्ने हुन्छन् ।
टिपिकल निमोनियामा ज्वरो, खोकी, खकार आउने, सास फेर्न गाह्रो हुने, कसैलाई छाती दुख्ने, वाक वाक लाग्ने, जिउ दुख्ने समस्याहरु हुन्छ । एक्सरे गर्दा पनि टिपिकल फिचरहरु हुन्छन् । यसबाट दागहरु देखिने, इन्फेक्सन हुने वा पिपहरु जमेको हुन्छ । वास्तवमा फोक्सो भनेको बेलुन जस्तो हो । फोक्सोमा पिप जमेपछि सबै बेलुन भरिएको जस्तो देखिन्छ । कन्सोलिडेशन भन्ने फिचरहरु देखिन थाल्छ ।
जाडो महिनामा किन यस्ता समस्याहरु बढी देखिन्छन् ?
तापक्रमहरुले गर्दा इन्फेक्सन बढ्ने पनि हुन्छ । अर्को कुरा भनेको एकजना इन्फेक्सन भएको मान्छे आयो, बन्द कोठामा बसेको छ भने त्यो मान्छेले बोल्दा, हाच्छिउँ गर्दा, खोक्दा पनि भाइरसहरु आउने हुन्छ । चिसोमा बढी मात्रामा बन्द कोठामा बस्ने गरिन्छ यसकारण पनि अरुमा इन्फेक्सन सर्ने डर हुन्छ ।
बच्चाहरुमा निमोनियाको समस्या बढी देखिन्छ भनिन्छ । यसलाई कसरी हेर्नु हुन्छ ?अलिकति ज्वरो र खोकी लाग्नेबित्तिकै सबैलाई निमोनिया भयो भन्ने चलन छ । तर कतिपय अवस्थामा यो वास्तविक रुपमा निमोनिया नहुनसक्छ । कतिपय सानो बच्चाहरुमा एलर्जीको दम सानैदेखि देखिन्छ । पहिला चरणको एलर्जीलाई पनि निमोनिया भनेको पाउछौँ । तर सानो उमेरमा रोगसँग लड्ने क्षमता कम नै हुने हुँदा निमोनियाको खतरा रहन्छ नै ।
तपाईँसँग चेकअप गराउन आउने बिरामीहरुमध्ये कस्तो खालको बिरामी बढी मात्रामा आइरहनुभएको छ ?
सबैभन्दा धेरै त धूमपानबाट हुने सिओपीडीका बिरामी छन् । सिओपीडी तहकै उपचार गराउने आउने गर्नुहुन्छ । त्यसको पनि क्राइट एरिया हुन्छ । सबै सिओपीडीका हुन्छन् भन्ने पनि हुँदैन । अरु कारणले फोक्सोमा दागहरु हुनसक्छ जस्तो पोस्ट कोभिड, पोस्ट टिभीले गर्दा पनि फोक्सोमा दागहरु बन्छ । त्यसका कारणले पनि फोक्सो धेरै तन्किन पाउँदैन । फोक्सो भनेको त इलास्टिक जस्तै हो तन्किने, खुम्चिने हुन्छ । दागहरु गर्दा फोक्सो धेरै तन्किन नपाएपछि स्वाँ–स्वाँ हुने धेरै सम्भावना हुन्छ । यस्तो खालको बिरामीलाई पनि सिओपीडी नै भनिन्छ । कतिपय त फोक्सो बाहेक मुटुहरुको कारणले गर्दाले पनि स्वाँ–स्वाँ हुनसक्छ । यसले हृदयघात पनि हुनसक्छ । यस्तो प्रकारको रोगलाई पनि दम नै भनिन्छ ।
त्यही भएर बिरामीको अवस्थामा विभिन्न परिवर्तनहरु आइरहन्छ । समग्रमा भन्नु पर्दा सिओपीडीको समस्या धेरै चुरोटको धुँवा र दाउरामा खाना पकाउने कारणले हुन्छ । हावा जाने नलीहरु सुन्निएर बिग्रिँदै गइरहेको हुन्छ । जसलाई सिओपीडी भनिन्छ र यही बिरामीहरु नै बढी देखिन्छन् । जाडो महिनामा बढी आगो ताप्ने गरिन्छ । साथै हिटर र गिजरको पनि बढी प्रयोग हुन्छ ।
यसले फोक्सोमा कस्तो खालको असर गर्छ र सुरक्षित रुपमा यसको प्रयोग कसरी गर्न सकिन्छ ?
यसमा पहिलो दाउरा बाल्ने कुरालाई कम गर्नैपर्छ । पकाउनको लागि आगो बाल्ने कुरा त हराउनैपर्ने कुरा हो तर अझै पनि प्रयोगमा छ । आगो बालेको जुन ग्यास र फ्युजहरु हुन्छ त्यसले टक्सिक म्याटेरियल बोकेकै हुन्छन् । त्यसले गर्दा असर गरेकै हुन्छ । कणहरु सानो–सानो हुन्छ र कणहरुको साइज अनुसार क्लासिफाई गरिएको हुन्छ ।
अल्ट्राफाइन पार्टिकल भनिन्छ नि त्यसमा ०. १ माइक्रोजभन्दा कम हुन्छ । तिनीहरु गएर हावा जाने नलीभित्रै कतै गएर अड्किन्छन् । सानो हुने भएकाले जहाँसम्म पुग्नुपर्ने त्यहाँसम्म नपुगेर बाहिरै फर्कन सक्छ । छिरेर सिधै रगतकै नलीसम्म क्यापिलरिसम्म नै गएमा त्यसले असर गर्छ । हावा जाने नलीमा समस्या हुन्छ र त्यसले स्वास्थ्यमा असर देखिन्छ । त्यस्तो असर दोहोरिएपछि दागहरु बन्दै जान्छ । जुन थाक्न पाउँदैन र दीर्घकालीन असर देखिन थाल्छ ।
यस्तै ग्यास गिजर र अरु खालका गिजरहरु जुन छन् जसले स्मोक प्रड्युस गर्दैन । तिनीहरुले पनि टेम्परेचरलाई ड्राइ बनाइदिन्छ । ड्राइ एयर कन्डिसनरले पनि समस्या निम्त्याउन सक्छ । एयर कन्डिसनरले पनि ड्राइ एयरहरु निकालिरहेकै हुन्छ । तिनीहरुले पनि हावा जाने नलीलाई विस्तारै असर पुगाउनसक्छ ।
नेपालमा फोक्सो सम्बन्धी सबै उपचार सम्भव छ ?
विदेशतिर फोक्सो प्रत्यारोपण हुने गरेको पाइन्छ । तर नेपालमा बल्ल त किड्नीको प्रत्यारोपण सुरु भएको छ । कतिपय रोगको उपचार प्रत्यारोपणबाट मात्रै हुन्छ । कतिपयमा लामो प्रत्यारोपण नै गुर्नपर्ने अवस्था छ । नेपाल अहिले फोक्सो प्रत्यारोपणमा गएको छैन । कतिपय रोगहरुको उपचार भनेको प्रत्यारोपण नै हुन्छ । कतिको त फोक्सो प्रत्यारोपण नै गर्नुपर्ने अवस्था आउँछ । त्यस्तो व्यवस्था छैन नेपालमा । नेपालमा ट्रान्सप्लान्ट रोगको उपचार नै छैन । तर थामथुम गर्नको लागि औषधिहरु पर्याप्त छन् ।
लामो समयका लागि प्रत्यारोपण गर्ने विधि नेपालमा छँदै छैन । फोक्सो प्रत्यारोपण नभएको त होइन तर त्यसको लागि नेपालमा सेवा सुविधा नै छैन । प्रत्यारोपण जस्तो विधिलाई बलियो बनाउँदै लानुपर्ने हुन्छ । यसको लागि सरकारले पनि ध्यान दिनुपर्छ । कतिपय कुराहरुमा खर्चको कुरा पनि हुन्छन् । किनभने फोक्सोको उपचार गराउनुभएका कतिपय बिरामीहरु दोहोरिएर डाक्टरको आइरहनुभएको हुन्छ । कतिपय कुराहरु मोनिटरिङ गराइराख्नुपर्ने हुन्छ ।
हेर्नका लागि सिटी स्क्यान नै गर्नुपर्ने हुन्छ । सिटी स्क्यान त्यति सस्तो पनि छैन । धेरै महँगो छ । भारतकै मेडिकल कलेजहरुको पनि हेर्ने हो सबैमा सिटी स्क्यानको मूल्य फरक–फरक छ । कतिपय जानेको कुरा अप्लाई गर्नको लागि पनि गाह्रो नै छ । अर्फोट गर्न सक्नेहरु पनि रिक्स लिन नचाहेर हो अथवा के कारणले हो बाहिरतिर पनि रिफर गरिरहेका हुन्छन् । तर धेरै ठूलोको उपचार नेपालमा गर्न नसकिए पनि साधनस्रोत भए गर्न सम्भव छ अहिले पनि ।
भनेपछि तपाईँलाई स्वास्थ्य क्षेत्र सरकारको प्राथमिकतामा नपरेको भन्ने नै लाग्छ ?
होइन भन्न पनि सकिँदैन । किनभने कतिपय कुरा सम्भव देखिन्छ । सानो छ तर किन भइराखेको छैन भनेर बुझ्नुपर्ने हुन्छ । तल बसेरै यस्तो भएन, उस्तो भएन भन्न त सजिलै छ । कामहरु गर्न सहज नहुन सक्छ । तर कतिपय सम्भव भएका कामहरु पनि भइरहेको पाइदैन । हाल बीमा कार्यक्रम आएपछि केही राम्रो भएको छ । यसले धेरै उपचार गर्न नसक्नेले पनि उपचार गराउन पाएका छन् । तर बीमाले मात्र पुगिरहेको छैन । सबैले बीमाको पनि उपभोग गर्न पाएका छैनन् । सबैमा चेतना पुग्न नसकेर पनि हुनसक्छ ।
सरकारले के–के कुरामा ध्यान दिनुपर्छ ?
सरकारले गर्ने भनेको त जनचेतना नै बढाउँदै जाने हो । यसमा सहभागिता जनाउनुस्, भेटनुस्, गर्नुस् भनेर भन्ने कुरा मात्रै हो । तर सरकारले त्यो बाहेक त केही गर्न सक्दैन । म्यानपावरहरुलाई पनि युटिलाइज गराउन सक्नुपर्छ । किनभने धेरैजसो मेजर सिटीमा मात्र सुविधा लिइरहेको पाइन्छ । सबै ठाउँमा सेवा सुविधा पुगाउन सके धेरै सजिलो हुन्थ्यो ।
समग्रमा भन्नुपर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न स्वस्थ्य खानेकुरा खाने विषयमा विशेष ख्याल दिनुपर्ने हुन्छ । चुरोट र रक्सीबाट टाढै रहनुपर्छ । स्वास्थ्यलाई बचाउनको लागि साधारण फेस मास्क प्रयोग गर्नु राम्रो हुन्छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालमा विशेषज्ञ डाक्टर प्रतीक वाग्लेसंग केन्द्रबिन्दु डटकमले लिएको अन्तर्वार्ताबाट साभार