दुई दिनदेखि अवरुद्ध संसद् बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं —सङ्घीय संसदका दुवै सदनको बैठक शुक्रबार बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ तथा राष्ट्रियसभा दिउँसो १ः१५ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
प्रतिनिधिसभाको बैठकमा आज ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।
यस्तै पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले ‘जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ ।
यसअघि बुधबार र बिहीबार लगातार दुई दिन प्रतिनिधिसभाको बैठक कुनै बिजनेस नगरी स्थगित भएको थियो ।
बिहीबार तीन पटक स्थगित भएर प्रतिनिधिसभाको बैठक आज बस्न लागेको हो ।
बिहीबार ११ बजे डाकिएको बैठकमा दलहरुबीच सहमति जुट्न नसक्दा दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । २ बजे पनि बस्ने नसकेपछि अपराह्न ४ बजेका लागि बैठक बस्ने तय भएको थियो ।
४ बजेका लागि बोलाइएको बैठक पनि स्थगित गरेर आज बिहानका लागि डाकिएको हो ।
नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरूले चार महिना मात्रै कार्यकाल बाँकी रहेका कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको विषयमा प्रधानमन्त्रीको जवाफ माग गर्दै बुधबारको बैठक पनि अवरुद्ध गरेको थियो ।