बगरमा केरा फलाएर वार्षिक डेढ करोडको आम्दानी
काठमाडौँ – सबैलाई चकित पार्दै चारजना युवाले बगरमा केरा फलाएका छन् । चितवनका नवराज तिमल्सेना, कृष्णप्रसाद दाहाल, नीरबहादुर तामाङ र राजाबाबु मिलेर केरा खेती गर्दा बार्षिक डेढ करोड आम्दानी गरेका छन् ।
उनीहरू ७५ बिघा जमिनमा रहेको केरा खेतीबाट केरा निकाल्न व्यस्त छन् भने हालै ८० बिघा जमिनमा थप बिरूवा रोपिरहेका छन् । आलोपालो गरेर केरा खेती हेरिरहेका छन् ।
चितवनको कालिका नगरपालिका–२, पदमपुरका ५३ वर्षीय नवराज तिमल्सेना र उनको समूहलाई यति बेला भ्याइनभ्याई छ। उनीहरू ७५ बिघा जमिनमा रहेको केरा खेतीबाट केरा निकाल्न व्यस्त छन्।
उनीहरूले संयुक्त रूपमा गढवा गाउँपालिका–७, झारबैरामा ३२ बिघा, वडा नम्बर ६ मा १८ बिघा र वडा नम्बर ४, पर्सापर्सेनीमा ४३ बिघा जमिनमा केरा खेती गरेका छन्।
यो खेतीबाट गत वर्ष आम्दानी हुन थालेको हो । केरा खेतीका लागि जनता मावि, गढवाको जग्गा प्रतिकट्ठा मासिक ६२३ रुपैयाँका दरले टेन्डरमा पारेका थिए। त्यसबाहेक व्यक्तिका जग्गा प्रतिकट्ठा मासिक एक हजारदेखि १५ सय रुपैयाँसम्ममा लिज मा लिएका छन्।
स्कुलको जग्गामा सिसौ र खयरका रूख काटेका ठुटा रहेकाले केही सस्तोमा पाएका थिए। सबै ठाउँको जग्गा पाँच वर्षका लागि जग्गा लिजमा लिएका छन्। लिजमा लिएकोमध्ये ७५ बिघामा केरा खेती गरेको यही चैतमा दुई वर्ष पूरा भएको छ।
नवराजका अनुसार बजार राम्रो पाउने भएकाले ९० प्रतिशत जति ‘मालभोग’ जातको केरा लगाएका छन्। यसअतिरिक्त ‘जिनाइन’ जातको केरा छ।मालभोग केराको बिरुवाले १२ देखि १४ महिनामा उत्पादन दिन्छ। पहिलोपटक केरा रोपेको १४ महिनामा सबै उत्पादन बजार पुर्याएको उनले बताए। गत वर्ष झन्डै डेढ करोड रुपैयाँको केरा बेचेका थिए। यस वर्ष दुई करोड रुपैयाँको बिक्री हुने उनको विश्वास छ।
चितवनमा ‘तिमल्सेना कृषि फर्म’ दर्ता थियो। चार जना सहकर्मीले दाङको गढगा गाउँपालिकामा पनि उही नामको फर्म दर्ता गरेर व्यावसायिक केरा खेती गरेका हुन्।
अहिले गढवा गाउँपालिका–७, चन्दनपुरमा थप ४० बिघा जग्गामा केराको बिरूवा रोप्न धमाधम छ। लमही–कोइलाबास सडक खण्डको राप्ती नदी पुल नजिक थप अर्को ४० बिघा जमिन लिजमा लिएका छन्। यहाँ पनि जमिन सम्याउने र बिरूवा रोप्न खाडल खन्ने काम भइरहेको छ। यहाँ हप्ता दिनभित्रै बिरूवा रोप्ने तयारी छ।
यो समूहले कुल १५५ बिघा जमिनमा केरा खेती गर्ने तयारी गरेको छ। थप जग्गाको खोजीमा रहेको नवराजको भनाइ छ। दुई वर्षअघिसम्म काँसघारी रहेको राप्ती नदीको बगर क्षेत्र अहिले केरा खेतीले हराभरा देखिएको छ।
‘