२ जना चालकसहित स्काभेटर भीरबाट खस्यो

सोमबार, १ बैशाख २०८२

काठमाडौँ – हुम्लाको दक्षिण भेगस्थित चङ्खेली गाउँपालिकामा गएराती स्काभेटर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।

दुर्घटनामा चङ्खेली गाउँपालिका-२ का ४५ वर्षीय परबल कामी र स्काभेटर चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए।

उनीहरु दुवैजनाको उपचारको क्रममा मृत्यु भएको हो। चङ्खेली गाउँपालिकाको–लोती भन्ने स्थान पिपलाङ्बाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २०३-००१ क ९७५ को स्काभेटर पल्टिएर एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

चालक अर्जुन कामीले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा एक्कासि सडकबाट करिब सय मिटर तल खसेको हो।