चप्पल लगाएर पशुपति मन्दिर छिर्न खोज्दा प्रहरी फन्दामा

सोमबार, १ बैशाख २०८२

काठमाडौँ – चप्पल लगाएर पशुपति मन्दिर छिर्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ गोठाटारका बुद्धरत्न स्थापित, शंखमूलका सूर्य प्रकाश भट्ट र सिनामंगलका अभिषेक पन्तलाई प्रहरीले पक्राउ गरेको हो ।

खुट्टामा चप्पल देखेपछि सुरक्षागार्ड राजु तामाङले ‘मन्दिरभित्र चप्पल लगाएर प्रवेश गर्न पाइँदैन’ भनेका थिए । यहि विषयमा विवाद हुँदा स्थापितसहित ७ जनाको समूह तामाङलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए । काठमाडौंको गौरीघाट बस्ने राजु तामाङ सधैँ झैँ पशुपतिनाथ मन्दिरको १ नम्बर गेटमा ड्युटीमा खटिएका थिए ।

खुट्टामा चप्पल देखेपछि सुरक्षागार्ड तामाङले ‘मन्दिरभित्र चप्पल लगाएर प्रवेश गर्न पाइँदैन, बाहिर फुकालेर आउनुस्’ भने । त्यसक्रममा उनीहरूबीच नोकझोक चल्यो ।आक्रोशित हुँदै स्थापितले ‘तँलाई पख, मैले जानेको छु, तँ गार्ड निकै बढ्ता भाको छस्,’ भनेर गाली गरे ।

केही छिनपछि स्थापितले आफूसँगै शंखमूल बस्ने सूर्य प्रकाश भट्ट र सिनामंगल बस्ने अभिषेक पन्तसहित ६र७ जनाको समूह ल्याएर सुरक्षागार्ड तामाङको कठालो समाते । कुटपिट गरेर लाखापाखा लागे ।

घटना चैत ८ गतेको हो । तामाङको लौरो समेत थुतेर टाउको र शरीरका विभिन्न ठाउँमा प्रहार गरेपछि उनी बेहोश भए । अन्य दर्शनार्थीले देखेपछि त्यहाँ प्रहरी र कोषका सुरक्षागार्ड मिलेर तामाङलाई मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पताल पुर्‍याए ।

उक्त घटना पशुपति मन्दिर परिसरमा राखिएको सीसीटीभी क्यामेरामा समेत कैद भएको छ । फूटेजकै आधारमा प्रहरीले स्थापित, भट्ट र पन्तलाई पक्राउ गरेको थियो ।तामाङको उपचार खर्च मात्रै अहिलेसम्म ५ लाख ३३ हजारभन्दा बढी भइसकेको र उक्त खर्च पशुपति क्षेत्र विकास कोषले व्यहोर्दै आएको छ ।