प्रचण्डलाई देउवाले फर्काएको जवाफले ओली सरकार नढल्नेमा ढुक्क

मंगलबार, २ बैशाख २०८२

काठमाडौँ –  नेकपा एमालेले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट नहल्लिएसम्म सरकार र गठबन्धन दायाँबायाँ नहुने ठहर गरेको छ ।

पछिल्लो अवस्थामा कांग्रेसका महामन्त्रीलगायत अन्य शीर्ष नेताहरू सरकारको आलोचनामा उत्रिए पनि देउवा सहमतिप्रति दृढ रहेकाले तत्काल सरकार र गठबन्धन दायाँबायाँ नहुनेमा एमाले विश्वस्त भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीलाई लिएर कांग्रेस नेता डा. शेखर कोइरालादेखि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा समेत सार्वजनिक रूपमै आलोचनामा उत्रेका छन् ।

यही बेलामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्ने भन्दै त्यसो भएमा माओवादी जस्तोसुकै सहयोग गर्न तयार रहेको सार्वजनिक रूपमा बताइरहेका छन् ।

कांग्रेस नेताहरूबाटै लगातार सरकारको आलोचना हुन थालेपछि सरकारको भविष्यलाई विभिन्न टिका टिप्पणी भइरहेका छन् । यही अवस्थामा सोमबार बसेको एमाले सचिवालय बैठकमा सत्ता साझेदार दल कांग्रेसका नेताहरूबाट सरकारबारे भइरहेका टिप्पणीबारे छलफल भएको थियो । छलफलमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सरकारबारे बाहिर भइरहेका टिप्पणी र वर्तमान परिस्थितिका बारेमा संक्षिप्त विश्लेषण सुनाएका थिए ।

प्रचण्डले भेटेर संवाद गर्न गरेको प्रस्ताव देउवाले अस्वीकार गर्दै देउवाले, ‘तपाईंसँग थिएँ, ओलीसँग भेटिनँ। अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ।’ भनेर जवाफ फर्काएकापछि सरकार नढल्नेमा ओली ढुक्क भएको स्रोतको दाबी छ ।