अयोध्याको राम मन्दिरमा बम विस्फोट गराउने धम्की आएपछि सुरक्षा व्यवस्था कडा

बुधबार, ३ बैशाख २०८२

काठमाडौँ — भारतको अयोध्याको राम मन्दिरलाई बमले उडाइदिने धम्की प्राप्त भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

धम्की आएपछि मंगलबार प्रहरी साइबर सेलमा उजुरी दर्ता गरिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

धम्कीपछि, अध्योध्या मन्दिर परिसर र वरपरका क्षेत्रहरूमा सुरक्षा गस्ती बढाइएको छ । इलेक्ट्रोनिक निगरानी प्रणाली सक्रिय पारिएको र प्रहरीले मन्दिर नजिकै विस्तृत खोजी अभियान सुरु गरेको मिडिया रिपोर्टमा उल्लेख छ ।

जानकारी अनुसार, शंकास्पद इमेल तमिलनाडुबाट पठाइएको हो । इमेल पठाउने व्यक्तिको सही स्थान पत्ता लगाउन तमिलनाडु साइबर सेललाई जानकारी गराइएको छ ।

राम मन्दिरको उद्घाटन भएदेखि नै मन्दिरसँग सम्बन्धित धेरै धम्कीहरू आएको बताइएको छ । अयोध्या प्रहरी प्रशासनले मानिसहरूलाई अफवाहहरूमा ध्यान नदिन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तुरुन्तै अधिकारीहरूलाई रिपोर्ट गर्न अपील गरेको छ ।