विप्लवद्वारा मिडिया काउन्सिलसम्बन्धी विधेयक खारेजीको माग

बुधबार, ८ जेष्ठ २०७६

काठमाडौं- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारले राष्ट्रियसभामा पेस गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयककाे खारेजीको माग गरेको छ। नेकपा महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै स्वतन्त्र पत्रकारितालाई ठाडो रुपमा नियन्त्रणमा राख्नेगरी विधेयक ल्याइएको भन्दै सोको खारेजीको माग गरेका हुन्।

नेपालको सबैखाले परिवर्तनकारी आन्दोलनमा प्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘जनताको रगत र पसिनाद्वारा प्राप्त सीमित अधिकारहरु अहिलेको केपी ओली सरकारले एकपछि अर्को गर्दै हडप्दै गएको छ।’

सरकारले गरेका गलत कामहरुलाई छापा तथा सञ्चारमाध्यमहरुले उजागर गर्न थालेपछि साेको ढाकछाेप गर्न पनि विधेयक ल्याइएको उनले दाबी गरेका छन्। ‘सरकारले गरेका गलत काम, भ्रष्टाचार, कालाबजारी, जग्गा दलाली, जनतन्त्र र राष्ट्रघातका विरुद्धमा पत्रिकाहरुले लेख्न थालेपछि केपी-पिके सरकारले सञ्चारमाध्यमहरुलाई नियन्त्रण गर्नका लागि विभिन्न कानुन र ऐनको सिर्जना गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

विधेयकको विरुद्धमा विभिन्न राजनीतिक दल, पत्रकार महासंघसहितले गरेको विरोधमा आफ्नो पार्टीको पनि ऐक्यबद्धता रहेको विप्लवले जनाएका छन्।