तीन प्रहरी अधिकृतबिच कुटाकुट
विराटनगर – तीन प्रहरी अधिकृतले एक आपसमा कुटाकुट गरेका छन् । विराटनगरस्थित एक होटलमा नेपाल प्रहरीका तीन जना बहालवाला प्रहरी निरीक्षकबिच कुटाकुट भएको हो ।
घटनामा अन्य सुरक्षाकर्मीसमेत घाइते भएका छन् । प्रहरी सङ्गठन भित्रैबाट घटनालाई दबाउन खोजिएको आरोप पनि लागेको छ । प्राप्त जानकारी अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका निरीक्षक राजन लम्साल, जिल्ला प्रहरी कार्यालय मोरङका निरीक्षक सरोज खनाल र इलाका प्रहरी कार्यालय रङ्गेलीका निरीक्षक सन्तोष खडका एक साताअघि साँझ होटलमा खानपिनका लागि सहभागी थिए ।
त्यहाँ खानपिनको क्रममा मदिरा सेवनपछि आपसी भनाभन हुँदै झगडा भएपछि हात हालाहालको स्थिति बनेको प्रत्यक्षदर्शीले बताएका छन् । सुरुमा प्रहरी निरीक्षक राजन लम्सालले निरीक्षक खनाल र खड्कामाथि हातपात गरेका थिए । अवस्था बिग्रिएपछि खनालले जिल्ला प्रहरी कार्यालयबाट युनिट बोलाएका थिए । तर, स्थिति नियन्त्रण गर्न पुगेको टोलीमाथि समेत लम्सालले आक्रमण गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
स्थिति नियन्त्रणमा लिँदै खनाल र खडकाले त्यहाँ आएका प्रहरी टोलीको सहयोगमा लम्साललाई ट्राफिक कार्यालयमा लगेका थिए । त्यहाँ पुगेपछि पनि लम्सालको आक्रामक व्यवहार रोकिएन । कार्यालयमा रहेका सहायक हबलदार सन्जय भट्टराईलाई कुटपिट गर्दा भट्टराईको नाक र मुख फुटेर रगत बगेको थियो ।
रङ्गेलीका प्रहरी निरीक्षक खडका भने नियमित सरुवामा मङ्गलबार काठमाडौँतर्फ प्रस्थान गरेको बताइएको छ । घटनाको सम्बन्धमा सम्पर्क गर्दा निरीक्षक लम्साल, खनाल र खडकाले यस्तो कुनै असामान्य घटना नभएको दाबी गरे ।
खानपिन चलिरहेका बेलामा सामान्य विवाद भएको बताइएको छ ।