को हुन् नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर बनेका डा. पौडेल ?
काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।
गभर्नर सिफारिस समितिले सिफारिस गरेका तीन जनामध्येबाट सरकारले डा. पौडेललाई नियुक्त गरेको हो । समितिले पौडेलसँगै निलम ढुंगाना र दिनेश भट्टराईलाई सिफारिस गरेको थियो ।
नेपाल राष्ट्र बैंकको गभर्नर पद चैत २४ देखि नै रिक्त थियो । डेपुटी गभर्नर निलम ढुङ्गानाले कामुको रूपमा राष्ट्र बैंकको कामकाज भइरहेको थियो ।
नवनियुक्त गभर्नर पौडेल यसअघि गभर्नर सिफारिस समितिमा विज्ञको तर्फबाट सदस्य बनेका थिए । उनले गभर्नर पाउने सम्भावना देखिएपछि सदस्यबाट राजीनामा दिएर गभर्नरका लागि दौडधूप शुरु गरेका थिए ।
पौडेल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा लिने गरिन्छ । पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए । जुनबेला प्रधानमन्त्रीमा देउवा नै रहेका थिए । अहिले पौडेललाई गभर्नर बनाउँदा समेत कांग्रेस सरकारमै रहेको छ ।
नवनियुक्त पौडेलको घर चितवन हो । उनले चीनको विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन गरेका छन् । उनले युनिभर्सिटी अफ क्यालिफोर्नियाबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।