शत्रुलाई पराजित गरेपछि पाकिस्तानका सेना प्रमुख फिल्ड मार्सलमा बढुवा
काठमाडौं —भारतलाई पराजित गरेको पाकिस्तानले सेना प्रमुखलाई फिल्ड मार्सलमा बढुवा गरेको छ । पाकिस्तान सरकारले सेना प्रमुख जनरल आसिम मुनीरलाई फिल्ड मार्सल पदमा बढुवा भएका हो । पाकिस्तानको इतिहासमा ६० वर्षपछि पहिलोपटक कुनै जनरल फिल्ड मार्सल पदमा बढुवा भएका हुन् । प्रधानमन्त्री शहबाज शरिफको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि उनको बढुवा भएको रोयटर्सले जनाएको छ ।
भारतसँग तीन दशकपछिको सबैभन्दा ठूलो सैन्य संघर्ष भएको केही दिनपछि पाकिस्तान सरकारले सेना प्रमुखको बढुवा गरेको हो ।
सेना प्रमुख मुनीरले राष्ट्रिय सुरक्षा सुनिश्चित गरेको र शत्रुलाई निर्णायकरूपमा पराजित गरेको प्रधानमन्त्रीको कार्यालयले बताएको छ । उनी रणनीतिक प्रतिभा र साहसी नेतृत्व भएको प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
एक सुरक्षा अधिकारीले फिल्ड मार्सल पदलाई पाँचतारे औपचारिक पद भनेर चिनाएका छन् । यसले प्राय असाधारण नेतृत्व र युद्धकालीन उपलब्धिलाई जनाउँछ ।
यो बढुवा सन् १९६५ मा पाकिस्तानी तानाशाह जनरल अयूब खानले आफैँलाई फिल्ड मार्सल बनाएपछि पहिलो हो, ती सुरक्षा अधिकारीले भने ।उनको भनाइमा नयाँ औपचारिक पद प्राप्त गरे पनि मुनीर सेना प्रमुख नै रहनेछन् ।
यस्तै, मन्त्रिपरिषद्ले पाकिस्तान वायुसेना प्रमुख एयर मार्सल जाहिर अहमद बाबर सिद्धुको सेवा अवधि सकिएपछि पनि बढाउने निर्णय गरेको छ ।