गाउँकी सोझी महिलासँग नाता जोड्दै सम्पत्ति हत्याउँदै काभ्रेका भैरव तामाङ

बिहिबार, ८ जेष्ठ २०८२

काठमाडौँ – काभ्रेका भैरवकुमार तामाङको काम नै काभ्रे, रामेछाप, दोलखा लगायतका तामाङ बस्ती घुम्ने, श्रीमान् विदेश भएका महिलाहरुसँग चिनजान गर्ने, नाता सम्बन्ध गाँस्ने हो । केही दिनेको चिनजान र भलाकुसारी पछि सहरको लोभ देखाउँदै विदेशको कमाईको सदुपयोग गर्नुपर्छ भन्दै सोझा महिला फकाउनु उनको दैनिकी जस्तै हो । त्यही लोभमा लुकेको उनको षड्यन्त्रले दर्जनौ महिलाको घरबार विग्रेको छ भने धेरै महिला सडकमा आएका छन् ।

खाइलाग्दो ज्यान भएका तामाङको मिठो बोलीमा गाउँका सोझा महिलाहरु लठ्ठिन्थे । निरक्षर तामाङ्नीहरुलाई काभ्रेको धुलिखेलदेखि काठमाडौँसम्मका जग्गा देखाउँने, चिटिक्क परेको जग्गा बाध्यताले सस्तामा बेच्न राखेको भन्दै अर्कै जग्गा देखाउने, जग्गा मनपर्यो भनेपछि बैनाको रुपमा रकम कुम्ल्याउने, सके सम्पर्क बिहिन भएर बैना पचाउने नसके अर्कै ठाउँको जग्गा नामसारी गरेर ठग्ने तामाङको धन्दा हो ।

भैरव तामाङको जालमा पर्ने दर्जनौँ महिला मध्येकी एक हुन् रामेछापकी राममाया तामाङ । बैंकको चेकमा समेत ल्याप्चे लगाउने ५१ बर्षिया निरक्षर तामाङ ठगीएकी मात्र छैनन्, घर भाँडिएको छ भने सम्पत्ति सकिएर सडकछाप बनेकी छिन् । उनको खाने, बस्ने, हिड्ने ठेगान छैन् । उनले आफ्नो न्यायाका लागि थुप्रै सरकारी कार्यालय, प्रहरी, अदालतसम्म ढकढक्याएकी छिन् । तर उनले कहिँबाट पनि न्याय पाएकी छैनन् ।

सुरुमा राममायाकी नन्द सुनिता तामाङमार्फत भैरवकुमार तामाङ सम्पर्कमा आएका थिए । सुनिताले जग्गा हेर्नभन्दै राममायालाई काठमाडौँ बोलाएकी थिइन् । हतार हतार काठमाडौँ आएकी राममायालाई सुनिताले काभ्रेको धुलिखेल लिएर गइन् । भैरव पनि त्यहीँ भेटिए । भट्टेडाँडामा चिटिक्क परेको जग्गा देखाए । ८ आना जग्गाको मुल्य थियो १५ लाख । राममायालाई मन पर्यो । ८ लाख रुपैयाँ वैना दिएर जग्गा किन्ने पक्का गरिन् ।

चाहिने भन्दा धेरै जग्गा भएपछि सुनिताले आफ्नी नन्द सुनमाया तामाङलाई बोलाएर संयुक्त रुपमा जग्गा किन्न सल्लाह दिइन् । उनको सल्लाह अनुसार जग्गा किन्ने पक्का भयो । सबै जना मालपोत कार्यालय गए । जग्गा राममायाको नाममा नामसारी भयो । यो जग्गा भैरवकी श्रीमती बिना तामाङबाट राममायाको नाममा नामसारी भएको हो । जग्गा पास भएपछि राममाया गाउँ फर्किन् । केही पछि भैरव फेरि गाउँमा आए । उनले राम्रो ठाउँमा १ रोपनी जग्गा भेटिएको र उक्त जग्गा साँझेदारीमा किन्न प्रस्ताव गरे ।

जग्गा किनाइ दिएकोमा खुशी भएकी राममायाले उनको विश्वासमा अर्को जग्गा किन्ने प्रस्ताव स्वीकार गरिन् । भैरवलाई ऋण गरेर ३३ लाख रुपैयाँ, साढे २ तोला सुन र केही खाली चेक दिएर पठाइन् । ‘जग्गा पास गरेपछि भैरव मेरो घर खोज्दै आयो । भाइ मानेकाले राम्रै गर्न खोजेको होला भन्ने भयो । उसले भने अनुसारको मैलै ऋण गरेर ३३ लाख रुपैयाँ क्यास, साढे दुई तोला सुन दिएँ ।’, मोटिभेट न्यूजको कार्यालयमा आएकी राममायाले आफ्नो दुःख सुनाउँदै भनिन्, ‘दुइटा चेक पनि लिएर गयो । मेरा चेकबाट एक पटक अरुले १० हजार रुपैयाँ मात्र निकाल्न मिल्छ, मैले जतिपनि निकाल्न मिल्छ । २० हजार आफ्नो साथीलाई मेरो खातामा हाल्न भनेको रहेछ । त्यही रकम निकाल्ने भन्दै दुईटा चेक लिएर गयो ।’

पैसा, सुन र चेक लिएर गएका भैरव केही समय सम्पर्क विहिन भए । यो कुरा उनकी नन्द सुनिता र सुनिताकी नन्द सुनमायालाई जानकारी थिएन् । लामो समयपछि भैरव सम्पर्कमा नआएपछि राममायाले सुनितासँग सम्पर्क गरिन् । सुनिताले भैरवले सम्पर्क गरेपछि पुनः उनीहरुको मिलन भयो । भेटमा राममायाले पहिला किनेको जग्गा बारेमा खोधिसोजी गरिन् र नयाँ जग्गा किन्ने प्रक्रियाका बारेमा पनि जिज्ञासा राखिन् । पुरानो जग्गाको विषयमा भैरबले केही पनि भनेनन् । नयाँ जग्गाका लागि पैसा नपुगेको बताए । त्यसका लागि मलाई तिम्रो खाली चेक देउ भने । हस्ताक्षर नभई ल्याप्चे लगाउने राममायाको चेकबाट १० हजारभन्दा धेरै पैसा निकाल्न नमिल्ने भएकाले भैरवले दिमाख लगाए ।

उनले धुलिखेलमा रहेको प्रभु बैंकको शाखामा गएर नयाँ खाता खोल्न लगाए । खातामा ल्याप्चे नभइ हस्ताक्षर गर्न लगाए । ‘बैंकमा लिएर गयो । खाता खोल्दा केर्न भनेको थियो मैले केरेँ । खाता खोलेर चेक आएपछि दुईटा चेक थुत्यो । फेरि केर्न भन्यो । मैले चेकमा पनि केरेँ ।’, उनले भनिन्, ‘त्यो दुइटा चेक लिएर गयो । बाँकी चेक मलाई दियो ।’ त्यही चेकको दुरुपयोग गदै भैरवले राममायाको उठिवास लगाएको छ । उनलाई घरको न घाटको बनाएको छ । यो कुरा विदेशमा रहेका उनका श्रीमान् र छोरालाई पनि थाह छैन ।

अनि खुल्यो षड्यन्त्रको पर्दा

३३ लाख नगद, साढे २ तोला सुन र चेक लिएर गएका भैरव पुनः लामो समय हराए । फेरि राममायाले सुनितालाई सम्पर्क गरिन् । सामाजीक संजाल फेसबुकमा साथी रहेका भैरवले सुनितालाई पनि ब्लक गरेका रहेछन् । सुनिताको मनमा पनि चिसो पस्यो । ‘भाउजुले फोन गरेपछि मैले भैरवलाई सम्पर्क गरेँ । मोलाइलमा फोन लागेन । म्यासेन्जर हेर्छु ब्लक गरेको छ ।’, मोटिभेट न्यूजसँगको टेलिफोन संबादमा सुनिताले भनिन्, ‘अनि मैले भाउजुलाई अमिन ल्याएर जग्गा नाप्न भने । पछि हेर्दा त जग्गा खोलामा किन्न लगाएको रहेछ । १५ लाखमा बैना भएको जग्गालाई २२ लाख भनेर भाउजु र नन्दबाट पैसा खाएको रहेछ । यो कुरा मलाई थाहा थिएन। ’ उनीहरु दुबै जनाले भैरवलाई ११/११ लाख तिरिसकेका थिए ।

सुनिताले भने अनुसार पास गरेको ८ आना जग्गा पहिला हेरेको होइन रहेछ । हेरेको भन्दा धेरै टाढा खोलामा जग्गा भेटियो । जहाँ अहिले पनि रोपनीको १ लाख पर्दैन । ‘मलाई केही थाहा थिएन । जग्गा देखायो, मलाई पनि भाइ मानेकाले सहयोग गरेको होला भने लाग्यो । अमिन ल्याएर नाप्ने, जग्गा हेर्ने झण्झट के गर्नुहुन्छ दिदी विश्वास गर्नुहोस् भन्यो । मैले पनि विश्वास गरेँ ।’, राममायाले भनिन्, ‘यो खुनखार दलाल होला भनेर मलाई के थाहा ।’

जग्गा अर्को ठाउँमा देखाएर अर्को जग्गा किनिदिएको भएपनि राममायाको मन बुझ्थ्यो होला । तर भैरवले अर्को अपराध पनि गरे । उनले लिएको खाली चेकमा भरेर चेक बाउन्स गरिदिए । भक्तपुर जिल्ला अदालतमा मुद्धा पनि हाले । एकलौटी मुद्धा पनि जिते । अहिले त्यही मुद्धा कार्यान्वयनका लागि ललितपुरमा रहेको राममायाको जग्गा लिलामीको प्रक्रिया अगाडि बढाएको छ । ‘मलाई चेक बाउन्स, अदालत केही थाहा छैन् । मलाई थाहै नदिई अदालतले फैसला गरेछ ।’, उनले भनिन्, ‘मेरा लागि आएको तारिख पर्चा वडा कार्यालयबाटै फर्किएको रहेछ । यो दलालको अदालतसम्मै सेटिङ रहेछ । खुनखार दलाल रहेछ ।’

एकलौटी मुद्धा हराइयो

राममाया जग्गा पास गर्नका लागि भैरवले कहिले बोलाउँछ भनेर कुरिरहिन् । फोन गर्यो फोन नलाग्ने, नन्दलाई फोन गर्न पनि उनलाई अफ्ठ्यारो लाग्यो । ‘म जग्गा पास गर्न कहिले बोलाउँछ भनेर कुरिरहेँ । कहिले सम्पर्क हुँदा कित्ताकाट खुलेको छैन भन्ने कहिले हाकिम छैन भन्ने । यसैगरी झुलाइरह्यो । मैले थाहा पाउँदासम्म त मेरो सर्वस्व गुमिसकेको रहेछ ।’

अदालतमा आफूले मुद्धा हारेको थाहा पाएपछि उनले गाउँमा छलफल गरिन् । वडाध्यक्षलाई आफ्नो गुनासो पोखिन् । प्रहरीमा उजुरी पनि गरिन् । केही सिप लागेन । अहिले उनले आफ्नो न्यायाका लागि विप्लव नेतृत्वको नेकपाको शरणमा पुगेकी छिन् । नेकपाको पहलमा खाँडादेवि गाउँपालिका वडा नम्बर ९ का वडा अध्यक्ष अकल बहादुर भण्डारीको रोहबरमा भैरवले पैसा फिर्ता गर्ने सहमति भएको छ । २०८१ भदौ ३१ गते तीन महिनामा पैसा फिर्ता गर्ने सहमति गरेका भैरव त्यसपछि फरार छन् ।

उनको परिवारले भैरब घुम्नका लागि विदेश गएको जनाएको छ । ‘उहाँ घुम्न भनेर विदेश जानु भएको छ । तीन महिना भयो ।’, उनकी श्रीमती बिना तामाङले भनिन्, ‘कहिले फर्किने ठेगान छैन् ।’ तामाङले आफ्नो जग्गा किनेर पैसा नदिएपछि चेक बाउन्स गरेको बताइन् । मोटिभेट न्यूजसँगको टेलिफोन संबादमा तामाङले २२ लाखमा बेचेको जग्गा पैसा नदिएपछि चेक बाउन्स गरेको बताइन् । ‘मेरो जग्गा हो । २२ लाखमा राममायालाई बेचेको हो । उहाँले लामो समयसम्म पैसा दिनु भएन् । चेक लिएर बाउन्स गराएको हो । अब जग्गा लिलामी गरेर आफ्नो पैसा असुल गर्छु ।’, उनले भनिन् ।

तपाईँको श्रीमानले जालसाजी गरेर फसाउनु भयो भन्ने उहाँको गुनासो छ नी भन्ने प्रश्नमा उनले भनिन्, ‘मलाई केही थाह छैन् । मैले मेरो जग्गा बेचेको पैसा पाउनुपर्छ । जग्गा किन्ने बेलामा हेर्नुपर्दैन ? जग्गा किन्दा त सबैलाई देखाएर, आफ्नो जग्गाको एकिन गरेर किन्नुपर्छ नी ।’ उनको आफ्नो नामको २२ लाखको चेक बाउन्स गरेको बताइन् । अहिले त्यसको व्याज बढेर २६ लाख पुगेको उनको भनाई छ । तर राममायाले २२ लाखको चेक नभई २५ लाखको चेक बाउन्स भएको बताइन् ।

तपाईँको श्रीमानले त पैसा फिर्ता गर्छु भनेर कागज गर्नुभएको रहेछ नी भन्दा उनले भनिन्, ‘त्यो कागज त गुण्डा लगाएर जवबरजस्ती गर्न लगाएको हो । त्यो कागजको केही अर्थ छैन् ।’

यो एउटा प्रतिनिधि घटना मात्र हो । भैरबले दर्जनौँ महिलालाई पीडित बनाएका छन् । धेरैको घरबार विग्रीएको छ भने एक महिलाले आत्महत्यासमेत गरेको बताइन्छ । राममायाले भैरबका कारण ३९ लाख ऋणमा फसेको, ललितपुरमा किनिएको जग्गा पनि लिलाम हुँदा आफ्नो बाँच्ने आधार सकिएको बताइन् । उनले जसरी पनि आफ्नो जग्गा लिलाम हुनबाट बचाइदिन र भैरबले गरेको अपराधको सजाय दिलाउन माग गरेकी छिन् ।