३१ दिन लगाएर खालीखुट्टा काठमाडौँ आएका नवराजलाई प्रधानमन्त्रीले गरे अपमान

मंगलबार, ३ असार २०८२

काठमाडौं—कर्णालीका कथा सुनाउन सुर्खेतबाट खालीखुट्टा हिडेर काठमाडौँ आएका नवराज वोहोरालाई प्रधानमन्त्रीले अपमान गरेका छन् । ३१ औँ दिनमा सिंहदरवार पुगेका ४२ वर्षिय बोहोरालाई प्रधानमन्त्रीले गोल्डस्टर जुत्ता दिएर फर्काएका छन् । अनियमितता र भ्रष्ट्राचार विरुद्ध खाली खुट्टा पैदल अभियान र कर्णालीको मुद्दा लिएर उनी जेठ ४ गते सुर्खेतबाट हिँडेका थिए।

मंगलबार सुर्खेतबाट खाली खुट्टा पैदल यात्रा गरी काठमाडौं आएका बोहरा प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटार पुग्दा उनलाई प्रहरीले अवरोध गरेको थियो। प्रहरीको निगरानीमा रहेका उनलाई प्रधानमन्त्रीलाई भेट्नै नदिइ फर्काइयो।

त्यसपछि उनी सिंहदरबारस्थित प्रधानमन्त्री एवम मन्त्रिपरिषद्को कार्यालय पुगेका थिए। त्यहाँपनि उनले प्रधानमन्त्री ओलीलाई भेट्न पाएनन्। उनले मुख्यसचिव एकनारायण अर्याललाई भेटेर आफ्ना मुद्दाबारे जानकारी गराएका प्रहरीले जनाएको छ। सिंहदरबारमा संचारकर्मीसँग बोल्न खोजेका बोहोरालाई प्रहरीले अवरोध गरेको थियो।

उनी कर्णालीका मुद्दाहरू एवम् अनियमितता र भ्रष्टाचारका विषयहरू लिएर काठमाडौं आएका थिए।